टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता एकराम इमामोग्लुलाई औपचारिक रूपमा पक्राउ गरिएको छ।
उनलाई भ्रष्टाचारको आरोप लागेको छ। तर उनले आरोप अस्वीकार गरेका छन्।
इमामोग्लु राष्ट्रपति रेसेप तैयप एर्दोगानका राजनीतिकविरोधी हुन्।
उनलाई गत बुधबार हिरासतमा लिइएको थियो। विपक्षी दलका तर्फबाट उनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गर्नुभन्दा केही दिन अघि मात्र यो कारबाही गरिएको हो।
इमामोग्लुको गिरफ्तारीपछि उनका समर्थकहरू सडकमा उत्रिए। चार दिनदेखि देशका धेरै भागमा विरोध प्रदर्शनहरू भइरहेका छन्।
राष्ट्रपति एर्दोगानले विरोध प्रदर्शनको आलोचना गरेका छन् र इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) लाई देशमा अशान्ति फैलाएको र मानिसहरूलाई विभाजन गरेको आरोप लगाएका छन्।
एर्दोगानले आफ्नो कार्यालयबाट जारी गरिएको सन्देशमा टर्कीमा आतंकवादका लागि कुनै ठाउँ नभएको उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया