संयुक्त राज्य अमेरिकाले युक्रेन र रुसका प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा मस्कोले गरेको बताएका छन्।
अमेरिकी कूटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटलका कोठाहरूबीचको ‘सटल डिप्लोमेसी’ को संज्ञा दिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन्।
साउदीमा सोमबार अमेरिकी र रुसी अधिकारीबीच छुट्टाछुट्टै बैठक हुने छन्।
रुस र युक्रेन दुवैले वार्ताका क्रममा पनि एकअर्काविरुद्ध आक्रमण जारी राखेका छन्।
शुक्रबार राति दक्षिणी युक्रेनी सहर जापोरिजियामा रुसी आक्रमणमा परी एकै परिवारका तीन जनाको मृत्यु भएपछि युक्रेनी अधिकारी आक्रोशित भएका छन्।
युक्रेनको आपत्कालीन सेवाले आइतबार बिहानै भनेको छ, ‘रुसले किएभमा ड्रोन अपार्टमेन्टका भवनहरूमा आक्रमण गरेको छ, आक्रमणमा आगलागीसमेत भएको छ र कम्तीमा दुई जनाको मृत्यु भएको छ।’
किएभका मेयर भिटाली क्लिट्स्कोले आइतबार ‘शत्रु यूएभीको ठूलो आक्रमण’ का कारण सहरका विभिन्न जिल्लामा भग्नावशेष खस्दा सात जना घाइते भएको बताएका छन्।
रुसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी ड्रोनलाई नष्ट गरेको जनाएको छ।
रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने रुसी सिनेटर ग्रिगोरी कारासिनले ज्वेज्दा टीभी च्यानलसँग भने, ‘हामी कम्तीमा केही प्रगति हासिल गर्ने आशा गर्छौं।’
उनले आफू र एफएसबीका सल्लाहकार सर्गेई बेसेडाले वार्ताले ‘जुझारु र रचनात्मक’ मुड लिने बताएका छन्।
युक्रेनका एक वरिष्ठ अधिकारीले एक दिनअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा, पूर्वाधार र समुद्रमा हुने आक्रमणलाई समेट्ने गरी आंशिक युद्धविरामका लागि ‘कम्तीमा’ सहमति हासिल गर्ने आशा राखेको छ। किएभले आफ्ना रक्षामन्त्रीलाई वार्तामा पठाउँदै छ।
‘हामी कम्तीमा एउटा मुद्दाको समाधान गर्ने मनस्थितिमा छौँ’, रुसको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको ज्वेज्दासँग कुरा गर्दै कारासिनले भने।
उनीहरू आइतबार साउदी अरब जाने र मंगलबार फर्किने उनले बताए।
Shares

प्रतिक्रिया