नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि कटाक्ष गरेका छन्।
राष्ट्रिय सभामा आइतबारको बैठकमा प्रतिनिधि सभाबाट प्राप्त सहकारीसम्बन्धी केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन्।
उनले सुशासनसम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा सञ्चारमन्त्री गुरुङको धारणाप्रति उनले आपत्ति जनाए। गुरुङले प्रश्न सोध्ने प्रतिपक्षी सांसदमाथि प्रश्न उठाएका थिए।
'यसअगाडिको छलफलमा माननीय मन्त्रीले दिनुभएको उत्तर सुन्दा प्रतपक्ष छलफलमा नबसोस्, छलफल नगरोस् भनेको जस्तो लाग्यो,' उनले भने, 'सत्तापक्षले त्यस्तै चाहेको हो भने भनोस् हामी छलफलमा नबस्न सक्छौँ। गलत पनि छन् नि विधेयकमा सबै राम्रा छन्? मन्त्रीका आँखामा काँडा होइन रोग लागेको छ कि भन्ने लाग्यो। गलतलाई सही देख्ने।'
विधेयकहरू गलत ढंगले आएको र स्वतन्त्रताको अधिकार हनन् हुने उनको भनाइ छ। मन्त्री गैरजिम्मेवार तरिबाले प्रस्तुत भएको र सत्तापक्षले यस्तै चाहेको हो भने प्रतिपक्ष पनि तयार रहेको भन्दै चुनौति दिए।
'गैरजिम्मेवार तरिकाले मन्त्री प्रस्तुत हुनुभएको छ। यो खराब छ जनताप्रति र संसद्प्रति अनुत्तरदायी छ,' उनले थपे, 'विधानयक ऐन विपरीत प्रावधान राखेर गलत राखेर ल्याउने अनि गैरजिम्मेवार तरिकाले बोल्ने हो भने सदन सहजढंगले जान सक्दैन। सत्तापक्ष त्यसै गर्न चाहेको हो भने प्रतपक्ष पनि तयार छ।'
Shares

प्रतिक्रिया