गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्यान्डले एक थाई नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ।
गत जनवरी १९ देखि लागू युद्धविराम भंग भएपछि इजरायलले मंगलबारदेखि गाजामा पुन: आक्रमण सुरु गरेको छ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरीमा युद्धविराम लागू भएयता अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
थाइल्यान्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्यान्ड निकै चिन्तित र निराश छ।’
दक्षिणपूर्वी एसियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न र युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ।
थाइल्यान्डले गाजामा रहेका एकजना थाईसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाई नागरिकको शव फिर्ता गर्न माग गरेको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा ३१ जना थाई नागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो।
जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाई घर फर्केका थिए।
एक थाई नागरिक अझै गाजामा जीवित रहेको विश्वास गरिएको छ।
Shares

प्रतिक्रिया