लहरै स्टल छन्। कतै ढाका टोपी त कतै खुकुरी। अल्लोदेखि अलैँचीका कपडासम्म। जहाँ किनमेल गर्नेको भीडभाड छ।
यो दृश्य हो- भारतको उत्तराखण्डअन्तर्गत देहरादुनस्थित रेञ्जर मैदानमा शुक्रबारदेखि जारी इन्डो-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवको। जहाँ ५० वटा नेपाली स्टल राखिएका छन्।
सुदूर पूर्वदेखि पश्चिमसम्मका नेपाली हस्तकलाका विभिन्न उत्पादन लिएर यतिबेला देहरादुनमा छन्। यहाँका स्थानीय मौलिक नेपाली हस्तकलाका सामान रुचाउने गरेका छन्।
‘हाम्रो पुर्ख्यौली मौलिक उत्पादन उपभोग गर्न पाएका छौँ, मेलामा सस्तोमै सामान पाइन्छ,’ देहरादुनका पदमबहादुर गुरुङले भने, ‘टिकाउ पनि हुने हुनाले प्रत्येक वर्ष मेलाबाटै सामान किन्ने गरेका छौँ।’
अलैँचीको विभिन्न कपडा, अल्लोका ढाका टोपी, झोला, रुद्राक्षको माला, खुकुरी, विजय सालको भाडालगायत नेपाली उत्पादन स्टलमा छन्। मेलामा भारतीय व्यापारीले पनि विभिन्न सामान राखेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा उद्योग वाणिज्य संघ कञ्चनपुरले मेला आयोजना गरेको हो। मेला ५ दिनसम्म चल्ने छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शुक्रबार मेलाको उद्घाटन गरे। मेलाले नेपाल-भारतबीच सांस्कृतिक तथा व्यापारिक सम्बन्ध थप विकास हुँदै जाने मुख्यमन्त्री विश्वास उनले व्यक्त गरे।
‘नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ। दुई देशको व्यापारिक र पर्यटनकीय सम्बन्धलाई यो मेलाले यो अझ विकास गर्न मद्दत गर्नेछ,’ उनले भने।
मेलामा भारत र नेपालका व्यापारीहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर स्टल राखेका छन्। मेलाका लागि सुदूरपश्चिमदेखि पूर्वसम्मका नेपाली व्यापारी देहरादुनमा जमघट भएका छन्।
उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले दुई देशको व्यापारिक सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मेलाको आयोजना गरेको बताए।
‘नेपालमा कसरी पर्यटक भित्र्याउन तथा दुई देशका व्यापारीका ज्ञान सीप आदानप्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो,’ उनले भने।







Shares

प्रतिक्रिया