अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकै एक सदस्य इलोन मस्कको कम्पनी टेस्लाले कर वृद्धिको बदला लिने देशहरूले गर्दा आफू र अन्य अमेरिकी निर्यातकलाई नोक्सान हुने चेतावनी दिएको छ।
मस्क अमेरिकी राष्ट्रपतिका नजिकका सहयोगी हुन् भने सरकारी खर्च घटाउन गठित विभाग डजका प्रमुख हुन्।
अमेरिकी व्यापार प्रतिनिधिलाई पठाइएको एक हस्ताक्षर नगरिएको पत्रमा टेस्लाले ‘निष्पक्ष व्यापार’लाई समर्थन गर्ने तर अन्य देशले अमेरिकाले लगाएको शुल्कको बदला लिने हो भने अमेरिकी निर्यातकर्ताहरूलाई प्रतिकूल असर पर्ने डर रहेको उल्लेख गरिएको छ।
यो पत्र त्यही दिन लेखिएको हो जुन दिन ट्रम्पले ह्वाइट हाउसमा मस्कलाई समर्थन गरेका थिए र टेस्ला कार किन्ने वाचा गरेका थिए।
यस वर्षको सुरुदेखि नै टेस्लाको सेयर मूल्य ४० प्रतिशत घटेको छ।
युरोपेली संघ र क्यानडा दुवैले अमेरिकी स्टिल र आल्युमिनियम आयातमा लगाइएको करको बदला लिइने चेतावनी दिएका छन्।
Shares

प्रतिक्रिया