कर्णाली प्रदेशले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २० औं संस्करणमा पहिलो दिन दुई जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोशी प्रदेशलाई हराएको हो।
पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१–२६ स्कोरले हराएको थियो। उक्त खेलमा कर्णालीकी विनिता पण्डित प्लेअर अफ दी म्याच भइन्। दोस्रो खेलमा पनि कर्णालीले कोशीलाई ५९–२९ ले हरायो।उक्त खेलमा पनि विनिता नै प्लेअर अफ दी म्याच भइन्।
विभागीय डर्बीमा त्रिभूवन आर्मी क्लवले नेपाल पुलिस क्लवलाई २७–२१ को साँघुरो अन्तरले हरायो। उक्त खेलमा गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन्।
दोस्रो खेलमा भने पुलिसले जित निकाल्यो। मानमति बिष्टको कप्तानीमा रहेको पुलिसले कोशीलाई ५८–२७ अंकले हरायो। यो खेलमा मानमती नै प्लेअर अफ दी म्याच घोषित भइन्।
अर्को विभागीय टोली एपिएफले पनि विजयी सुरुआत गर्यो। एपीएफले सुदूरपश्चिम प्रदेशमाथि ६५–२४ को फराकिलो जित निकालेको हो। अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२–३२ अंक, सुदूरपश्चिमले वागमतीलाई ३३–२९ र वागमतीले लुम्बिनीलाई ४२–३४ अंकले हराए।
१० टोली सहभागी प्रतियोगिता तीन दिनसम्म चल्नेछ। प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ।
Shares

प्रतिक्रिया