ग्लोबल


शेख हसिना प्रधानमन्त्रीकै रूपमा बंगलादेश फर्किने दाबी

शेख हसिना प्रधानमन्त्रीकै रूपमा बंगलादेश फर्किने दाबी

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
फागुन २९, २०८१ बिहिबार १४:२२, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी एवं अमेरिका अवामी लिगका उपाध्यक्ष डा रब्बी आलमले ठूलो दाबी गरेका छन्।

उनले समाचार एजेन्सी एएनआईलाई बुधबार दिएको अन्तर्वार्तामा शेख हसिना छिट्टै प्रधानमन्त्रीकै रूपमा बंगलादेश फर्किने दाबी गरेका हुन्। 

यससँगै उनले शेख हसिनालाई सुरक्षित आश्रय र यात्रा उपलब्ध गराएको भन्दै भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसमेत दिएका छन्।

उनले भने, ‘शेख हसिना बंगलादेशको प्रधानमन्त्रीको रूपमा फर्कनेछिन्। युवा पुस्ताले गल्ती गरेको छ, तर यो उनीहरूको गल्ती होइन, उनीहरूलाई भ्रममा पारिएको छ।’

उनले बंगलादेशको वर्तमान अवस्था ‘आक्रमणमा रहेको’ भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यसमा हस्तक्षेप गर्न आग्रह गरे।

उनले भने, ‘बंगलादेश आक्रमणमा परेको छ र अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक छ। राजनीतिक विद्रोह ठीक छ, तर बंगलादेशमा त्यस्तो भइरहेको छैन। यो एक आतंकवादी विद्रोह हो।’

उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई राजीनामा दिन र ‘जहाँबाट आएको हो, उतै फर्कन’ आग्रहसमेत गरे।

उनले भने, ‘हामी बंगलादेशका सल्लाहकारलाई राजीनामा दिन र तपाईं जहाँबाट आउनु भएको थियो त्यहीँ फर्कन भन्न चाहन्छौँ। डा. युनुस, तपाईं बंगलादेशको होइन। यो बंगलादेशका जनतालाई सन्देश हो कि शेख हसिना फर्किँदैछिन्, उनी प्रधानमन्त्रीका रूपमा फर्कंदैछिन्।’

तर हालै बंगलादेशको ढाकास्थित अदालतले हसिनाको घरसहित उनी र उनका नातागोताका समेत सम्पत्ति जफत गर्न आदेश दिएको छ। 

बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भाग्न बाध्य भएकी थिइन्। 

त्यसको ३ दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad