ग्लोबल


अमेरिकी विदेशमन्त्री भन्छन् : युक्रेन युद्ध अमेरिका र रुसबीचको ‘प्रोक्सी वार’ हो

अमेरिकी विदेशमन्त्री भन्छन् : युक्रेन युद्ध अमेरिका र रुसबीचको ‘प्रोक्सी वार’ हो

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १५:२६,

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनमा चलिरहेको युद्ध अमेरिका र रुसबीचको ‘प्रोक्सी वार’ भएको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा रुबियोले सो युद्ध गतिरोधमा फसेकाले अन्त्य हुन जरुरी रहेको तर्क गरे।

‘सुरुदेखि नै राष्ट्रपति ट्रम्पले यसलाई लम्बिएको, गतिरोधमा फसेको द्वन्द्वका रुपमा लिएको स्पष्ट छ। र, खुलस्त भन्नुपर्दा यो आणविक शक्तिहरूबीचको प्रोक्सी वार हो– युक्रेनलाई सघाइरहेको अमेरिका र रुसबीचको। र, यो अन्त्य हुन जरुरी छ,’ रुबियोले सन ह्यानिटीसँगको अन्तर्वार्तामा भनेका छन्।

युक्रेनका समर्थक मुलुकहरूले उसलाई जति चाहिन्छ, त्यति सहयोग दिऊँ भन्ने गरेको उनको भनाइ छ। तर, त्यो कुनै रणनीति नभएको रुबियो बताउँछन्।

‘रुसको कुरा गर्दा निश्चय नै द्वन्द्वको सुरुमा उनीहरू कठिनाइमा परे। उनीहरू ठूलो देश हुन्। उनीहरूले केही प्रगति गरेका छन्। तर, उनीहरूले सबै जित्ने स्थिति कुनै पनि मानेमा छैन। त्यसैले यो गतिरोधमा फसेको युद्ध हो,’ उनले भनेका छन्।

उनले गत शुक्रबार ह्वाइट हाउसमा किन ट्रम्प र जेलेन्स्कीबीच झगडा पर्‍यो भन्ने पनि खुलाएका छन्।

‘यो कुरा सबैलाई स्पष्ट रुपमा व्याख्या गरिसकेका थियौँ। शान्तितर्फ जाने कुनै बाटो छ भने पत्ता लगाउने, राष्ट्रपति (ट्रम्प)ले चाहेको यति मात्रै हो। हामीले रुसी र युक्रेनी दुवै पक्षसँग कुरा गर्नुपर्ने हुन्छ। र, हामीले युक्रेनीहरूलाई यसलाई नबिगार्न भन्यौँ,’ रुबियो भन्छन्, ‘तर, जब उपराष्ट्रपति (जेडी भान्स)ले समस्या समाधान गर्न कूटनीति आवश्यक पर्छ भन्नुभयो तब राष्ट्रपति जेलेन्स्कीले दुर्भाग्यवश उपराष्ट्रपतिलाई चुनौती दिने निर्णय गर्नुभयो र कूटनीति सम्भव छैन भनेर प्रश्न गर्न थाल्नुभयो। वास्तवमा राष्ट्रपतिको योजनालाई विफल र कमजोर पार्नुभयो।’

त्यसयता अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad