अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भन्सार शुल्कबारे फोनमा कुराकानी गरेका छन्।
आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमार्फत यो जानकारी दिँदै ट्रम्पले ट्रुडोलाई 'क्यानडाको गभर्नर' भनेका छन्।
ट्रम्पले लेखेका छन्, ‘मैले क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई भनेँ- कमजोर सीमा नीतिका कारण हामीले सामना गरिरहेका समस्यामा उनले ठूलो मात्रामा बढाइरहेका छन्। यो नीति धेरै मानिसको मृत्युका लागि जिम्मेवार छ।’
ट्रम्पले जस्टिन ट्रुडोले ट्यारिफबारे के गर्न सकिन्छ भनेर सोध्न आफूलाई फोन गरेका बताएका छन्।
‘मैले उनलाई भनेँ- क्यानडा र मेक्सिकोबाट सीमा पार गर्दै आएको फेन्टानिलबाट धेरै मानिसको मृत्यु भएको छ र, यो रोकिएको कुनै संकेत पाइनँ’, ट्रम्पले उल्लेख गरेका छन्।
‘ट्रुडोले भने- अवस्था अहिले राम्रो छ, तर मैले उनलाई भनेँ- त्यो पर्याप्त छैन।’
ट्रम्पले कुराकानी केही हदसम्म मैत्रीपूर्ण तरिकाले समाप्त भएको उल्लेख गरेका छन्।
क्यानडामा भएको चुनावबारे ट्रम्पले भनेका छन्, ‘ट्रुडोले क्यानडामा चुनाव कहिले हुँदै छ भनेर मलाई भन्न सकेनन्, जसले गर्दा मेरो जिज्ञासा बढ्यो, त्यसपछि मैले महसुस गरेँ- उनी सत्तामा रहिरहन यो मुद्दालाई प्रयोग गर्न खोजिरहेका छन्।’
ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आउने उत्पादनमा २५ प्रतिशत भन्सार शुल्क लगाएका छन्।
यसपछि क्यानडाले पनि प्रतिशोधात्मक शुल्क घोषणा गरेको छ। यसबाहेक क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पको दाबीले पनि दुई देशबीच तनाव सिर्जना गरेको छ।
Shares

प्रतिक्रिया