ग्लोबल


म शुक्रबार अमेरिका गएँ भने ट्रम्पसँग स्पष्ट जवाफ माग्छु: जेलेन्स्की

म शुक्रबार अमेरिका गएँ भने ट्रम्पसँग स्पष्ट जवाफ माग्छु: जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
फागुन १४, २०८१ बुधबार २१:३१, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग खनिजसम्बन्धी प्रारम्भिक सम्झौताले भविष्यमा साझेदारीको बाटो खोल्ने आशा गरेको बताएका छन्।

तर उनले अहिलेसम्म युक्रेनलाई अमेरिकाबाट सुरक्षाको कुनै ग्यारेन्टी नदिइएको बताएका छन्।

जेलेन्स्कीले भने, ‘यदि म शुक्रबार अमेरिका गएँ भने अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसलाई प्रत्यक्ष सोध्नेछु- अमेरिकाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्छ कि राख्दैन?’

पत्रकार सम्मेलनमा जेलेन्स्कीलाई अमेरिकाले सुरक्षाको ग्यारेन्टी गरेन भने तपाईं के गर्नहुन्छ भनेर सोध्दा उनले भने, ‘म युक्रेनका लागि नाटो सदस्यता चाहन्छु वा यस्तै अन्य सुरक्षा मार्ग चाहन्छु।’

यसअघि युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले युक्रेन र अमेरिकाले खनिज सम्झौताका सर्तमा सहमति जनाएको बताएको बीबीसीले जनाएको छ। 

युक्रेनले यस सम्झौताका सर्तमा सहमति जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार अमेरिका आएर दुई देशबीचको खनिज सम्झौतामा हस्ताक्षर गर्ने आशा व्यक्त गरेका छन्।

अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति जनाए पनि युक्रेनले कति मूल्यको खनिज दिने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ। 

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ। 

युक्रेनसँग १.९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै युरोप लिथियम भण्डारको एकतिहाइ युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेका ब्याट्री निर्माणमा उपयोगी हुन्छ।

त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ।

युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad