ग्लोबल


३ पटक जितेको सिटमै केजरीवाल हार्नुका ३ कारण

३ पटक जितेको सिटमै केजरीवाल हार्नुका ३ कारण

नेपालखबर
माघ २८, २०८१ सोमबार २०:३५,

दिल्लीको सत्तामा रहेको आम आदमी पार्टीको हार यसका प्रमुख अरविन्द केजरीवालका लागि निकै ठूलो झट्का त हुँदै हो, आफ्नै सिटमा भएको पराजय उनका लागि त्यसभन्दा पनि ठूलो चोट हो।

केजरीवाल २०१३ को चुनावमा तत्कालीन मुख्यमन्त्री तथा कंग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई हराएर पहिलोपटक विधान सभा प्रवेश गरेका थिए। त्यसयता उनी लगातार जितिरहेका थिए। तर, यसपालि भाजपाका प्रवेश वर्माले उनलाई ४ हजार ८९ मतले पराजित गरे।

वर्माले ३० हजार ८८ मत पाउँदा केजरीवालले २५ हजार ९९९ मत ल्याए। कांग्रेसका सन्दीप दीक्षितले ४ हजार ५६८ मत पाए। यदि कांग्रेसका उम्मेदवार हुँदैनथे भने यहाँको नतिजा उल्टिन पनि सक्थ्यो।

२०२० को चुनावमा यही सिटमा भाजपाका सुनिलकुमार यादवको तुलनामा दोब्बर मत पाएका थिए केजरीवालले। यसपटक उनको मत अघिल्लोपालिको तुलनामा १९ प्रतिशतले घटेको छ।

उसो त विधान सभामा आम आदमी पार्टीलाई मत दिए पनि दिल्लीका मतदाताले लोक सभामा भाजपालाई मत दिने गरेका थिए।

थिएन प्रतिबद्ध मत
२०१४ को लोक सभा चुनावमा केजरीवालकै विधान सभा सिट रहेको भूभागमा आम आदमी पार्टी दोस्रो स्थानमा रह्यो। २०१९ मा सो पार्टी तेस्रो स्थानमा झर्‍यो।

२०२४ को लोक सभा चुनावमा भने कंग्रेससँग गठबन्धनका कारण सो भूभागमा गठबन्धनलाई भाजपाभन्दा ज्यादा मत प्राप्त भएको थियो। सो लोक सभा चुनावमा ७० विधान सभा क्षेत्रमध्ये १८ वटा भूभागमा कंग्रेस–आम आदमी पार्टीको गठबन्धनले भाजपाभन्दा ज्यादा मत पाएको थियो।

यो तथ्यांकबाट के थाहा हुन्छ भने सो क्षेत्रका मतदाता केजरीवाल वा उनको पार्टीप्रति वफादार थिएनन्। 

मतदाताको संख्या कम हुनुको असर?
केजरीवालले २९ डिसेम्बरमा भाजपाले आफ्नो क्षेत्रमा ठूलो संख्यामा मतदाताको नाम कटाएको आरोप लगाएका थिए। आफ्ना समर्थकहरूको नाम हटाइएको उनको दाबी थियो।

तर, चुनाव आयोगले अन्यको सिटमा मतदाता रहेकाहरूको नाम हटाएको जवाफ दिएको थियो।

अघिल्लोपालिको तुलनामा दिल्लीका १२ सिटमा मतदाताको संख्या घटाइएको थियो। त्यसमा पनि केजरीवालको सिटमा २० प्रतिशतभन्दा बढी मतदाता कटौती गरिएको थियो। यस्तो अर्को सिट थियो दिल्ली क्यान्टोनमेन्ट सिट। तर, त्यहाँ भने यसपालि पनि आम आदमी पार्टीका उम्मेदवारले जितेका छन्।

यसपटक केजरीवालले २५ हजार ९९९ मत पाए। त्यो अघिल्लोपालिको भन्दा २० हजार ७५९ ले कम हो। भाजपाले ३० हजार ८८ मत पायो, जुन अघिल्लोपालिको भन्दा ५ हजार २७ ज्यादा हो। कंग्रेसले अघिल्लोपालिभन्दा १ हजार ३४८ मत बढी पायो। 

अर्थात् केजरीवालबाट काटिएको मत भाजपा र कंग्रेस दुवैतिर गयो।

कांग्रेसबाट अलग हुँदाको असर
केजरीवालको सिट नयाँ दिल्लीको त्यो क्षेत्रमा पर्छ, जहाँ सबैथोक व्यवस्थित छ र अधिकांश सरकारी कर्मचारी त्यहाँ बस्छन्। पहिले उनीहरू केजरीवालको पक्षमा थिए। यसपालि मोदी सरकारले मध्यम वर्गलाई लक्षित गर्दै बजेटमा १२ लाखसम्मको आयमा आयकर तिर्न नपर्ने घोषणा गरिदियो। जसकारण कर्मचारीहरू भाजपातर्फ ढल्किएका हुन सक्छन्।

अर्कोतिर, केजरीवालको अहंकार र उनको छविमा आएको नाटकीय गिरावटले उनको हार भएको सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटीका प्राध्यापक सञ्जय कुमार बताउँछन्। 

‘केजरीवालले आफ्नो मापदण्ड एकदम उच्च राखेका थिए। तर, व्यवहारमा उनी कहीँ पनि खरो उत्रिएनन्। इमानदार राजनीति, लो प्रोफाइल, पार्टीभित्र लोकतन्त्र, उम्मेदवार छनोटमा जनसहभागिता, पारदर्शिता र साम्प्रदायिकतासँग सम्झौता नगर्ने भनेका थिए,’ उनी भन्छन्, ‘तर, गत केही वर्षमा केजरीवालको राजनीति यी मापदण्डभन्दा बिल्कुल उल्टो गइरहेको थियो।’

केजरीवाल अहंकारी भएको पनि उनी बताउँछन्।

‘दिल्लीमा चुनावभन्दा पहिले नै आम आदमी पार्टीले घोषणा गर्‍यो– कंग्रेससँग कुनै समझौता हुने छैन। त्यो वार्ताको ढोका बन्द गरेजस्तै थियो। अहिले केजरीवाललाई लागेको होला– कंग्रेससँग साझेदारी गरेको भए फरक नतिजा आउँथ्यो भनेर। दिल्लीमा पाउने र गुमाउने दुवै आम आदमी पार्टी नै थियो। यस्तोमा झुक्नु पनि त्यही पार्टीले पर्थ्यो,’ उनी थप्छन्।

हारपछि केजरीवालले भनेका थिए, ‘जनताको निर्णय हामी स्वीकार गर्छौं। म भाजपालाई बधाई दिन्छु र आशा गर्छु, भाजपा आफ्नो वाचामा खरो उत्रिनेछ।’ बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad