दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनाव हारेका छन्।
उनलाई नयाँ दिल्ली सिटमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्माले ४ हजारभन्दा बढी मततान्तरले हराएका हुन्।
यो सिटमा विजयी वर्माले ३० हजार ८८ मत पाउँदा पराजित केजरीवालले २५ हजार ९९९ मत ल्याएका छन्। अर्थात् वर्माभन्दा केजरीवाल ४०८९ मतले पछि परे।
दिल्ली सिटमा कंग्रेसका उम्मेदवार सन्दीप दीक्षित भने तेस्रो स्थानमा देखिएका छन्। उनले केवल ४,५६८ मत पाए।
अरविन्द केजरीवालले सन् २०१३ र २०१५ मा नयाँ दिल्ली सिटबाट तीनपटक मुख्यमन्त्री बनेकी शीला दीक्षितलाई हराएका थिए।
२७ वर्षपछि दिल्ली विधानसभामा भाजपाले स्पष्ट बहुमत पाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली विधानसभाका ७० सिटमध्ये भाजपाले ४८ स्थानमा विजय प्राप्त गरेको हो।
आम आदमी पार्टी (आप) ले २२ सिट जितेको छ भने भारतीय कंग्रेसले एउटा सिट पनि जितेन।
सन् १९९८, २००३ र २००८ को विधानसभा चुनावमा कंग्रेसले दिल्लीमा बहुमत प्राप्त गर्यो र सरकार बनाउन सफल भयो।
सन् २०१३ मा दिल्लीमा कुनै पनि दलले बहुमत पाएनन्। तर आम आदमी पार्टीले कंग्रेसको समर्थनमा सरकार गठन गर्यो। तर, यो सरकार ४९ दिन मात्र टिक्यो।
सन् २०१५ मा आम आदमी पार्टीले दिल्लीमा ७० सिटमध्ये ६७ सिट जितेको थियो।
सन् २०२० मा पनि आम आदमी पार्टी ७० मध्ये ६२ सिट जितेर सत्तामा फर्किएको थियो।
Shares

प्रतिक्रिया