ग्लोबल


राजनीति बदल्न आएका केजरीवाल कसरी पुगे ‘सफ्ट हिन्दुत्व’को शरणमा?

रामलाई भाजपाले पेवा बनाउँदा हनुमानको भरमा आम आदमी पार्टी
राजनीति बदल्न आएका केजरीवाल कसरी पुगे ‘सफ्ट हिन्दुत्व’को शरणमा?

अभिनव गोयल
माघ १३, २०८१ आइतबार २०:०, काठमाडौँ

‘बच्चैदेखि म हनुमानको भक्त हुँ। केटाकेटी हुँदा मैले रातरात बसेर कहिलेकाहीँ अढाई सय, तीन सयपटक हनुमानको आरती गरेको छु। जीवनमा कुनै कठिनाइ आइपर्‍यो भने उनकै शरणमा जानुहोस्। सारा संकट टाढा हुन्छन्।’

हालै एक अन्तर्वार्तामा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आफूलाई हनुमान भक्त दाबी गर्दै यस्तो बताए।

केजरीवालले यस्तो बताएको पहिलो पटक होइन। 

दिल्ली विधान सभा चुनाव २०२५ मा उम्मेदवारी दर्ता गराउनुअघि पनि उनी कनट प्लेसस्थित प्राचीन हनुमान मन्दिर पुगेका थिए।

राजनीतिक मञ्च र टीभी अन्तर्वार्तामा पनि उनी अक्सर हनुमानचालीसा, रामायणका कथा र पात्रहरूको सहारा लिएर विरोधीमाथि निसाना लगाउँछन्।

यी उनै अरविन्द केजरीवाल हुन्, जो एक दशकअघि भ्रष्टाचारविरोधी नेताका रूपमा स्थापित भएका थिए। त्यतिबेला उनी धनाढ्य र शक्तिशाली मान्छेहरूको नाम लिन पनि डराउँदैनथे।

समर्थकहरू उनलाई धर्म र जातिभन्दा टाढा रहेर इमानदारीलाई मात्र महत्त्व दिने नेता ठान्थे।

तर, आजभोलि थुप्रैले उनलाई ‘नरम हिन्दुत्ववादी’ भन्ने गर्छन्।

उसोभए गएको एक दशकमा त्यस्तो के भयो, जसका कारण केजरीवाल नरम हिन्दुत्वादी बन्न पुगे।

केजरीवालको हिन्दुत्व प्रेम
केही वर्षयता केजरीवालको राजनीतिमा अम्बेडकरवाद र पपुलिस्ट योजनासँगसँगै हिन्दु धर्मप्रतिको प्रेम पनि अत्यधिक प्रदर्शन भइरहेको देखिन्छ।

‘म २०१८ सम्म केजरीवालसँग थिएँ। त्यो क्रममा उनले धर्मको नाममा भोट बटुल्ने कोसिस गरेको कहिल्यै देखिनँ। तर, पछिबाट उनी धर्म प्रदर्शन थाले,’ वरिष्ठ पत्रकार आशुतोष भन्छन्, ‘अरविन्द क्यामरा बोकेर हनुमान मन्दिर जान थाले, हनुमानचालीसा पाठ गर्न थाले। यसले के देखाउँछ भने उनी अन्य पार्टीझैँ धर्मको राजनीति गरिरहेका छन्।’

२०१७ मा दिल्लीको म्युनिसिपल कर्पोरेसनको चुनावमा पार्टीले नराम्रो हार बेहोरेपछि केजरीवाल राजनीतिको तरिका बदल्न बाध्य भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। सो चुनावमा जम्मा २७० सिटमध्ये आम आदमी पार्टीले ४८, कंग्रेसले ३० र भाजपाले १८१ सिट जितेको थियो।

अर्को वर्ष २०१८ मा दिल्लीको सत्तारुढ आम आदमी पार्टीले ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई तीर्थ यात्रा गराउने योजना सुरु गर्‍यो। हालसम्म यसअन्तर्गत ९० हजारजनाले लाभ लिइसकेको बताइन्छ।

योजनाअनुसार वृद्धवृद्धालाई अयोध्या, रामेश्वरम, वैष्णेदेवी, द्वारकाधीश, अमृतसर र अजमेरजस्ता धार्मिक स्थलमा निशुल्क यात्रा गराइन्छ। 

यद्यपि, यस्तो यात्रा हिन्दु धर्मावलम्बीलाई मात्र नगराइएको र चुनावी राजनीतिका लागि यसको प्रयोग नभएको आम आदमी पार्टीको भनाइ छ।

अर्कोतिर कोरोनाको समयमा सो पार्टीले निजामुद्दीन मरकजको विषय उठाएर उपराज्यपाललाई चिठी लेख्यो र उजुरी दर्ताको माग गर्‍यो।

२०२२ को गुजरात विधान सभा चुनावअघि केजरीवालले भारतीय नोटमा हिन्दु देवीदेउताको तस्बिर हुनुपर्ने माग गरे। जनवरी २०२४ मा अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा सो पार्टीले दिल्लीमा रामलीला मञ्चन गरेको थियो। भण्डारा, प्रसाद वितरण र शोभायात्राहरूमा पार्टीका नेता कार्यकर्ता सहभागी भए।

केही दिनपछि नै केजरीवाल परिवारसहित अयोध्यामा राम मन्दिर दर्शन गर्न पुगे। जबकि अन्य विपक्षी पार्टीले सो मन्दिरसँग दूरी कायम गरेका थिए।

केजरीवाल त दिल्लीको सरकारले जनताको सेवाका लागि रामराज्यबाट प्रेरित भएर १० सिद्धान्त पालना गरिरहेको दाबी समेत गर्छन्।

दिल्लीमा बंगलादेशी र रोहिंग्या शरणार्थीका विषयमा पनि आम आदमी पार्टी आक्रामक देखिन्छ। अवैध प्रवासीहरूको सन्तानलाई स्कुल भर्ना गर्न नदिने दिल्ली सरकारले आदेश दिएको छ। 

यसपालि चुनावको मुखमा मन्दिरमा काम गर्ने पुजारी र गुरुद्वाराका ग्रन्थीहरूलाई मासिक १८ हजार रूपैयाँ दिने योजना पनि घोषणा गरिएको छ।

नयाँ दिल्लीको सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटिज (सीएसडीएस) मा सहप्राध्याक रहेका हिलाल अहमद २०१४ पछि राजनीतिक विमर्श नै बदलिएको बताउँछन्।

उनी भन्छन्, ‘अन्ना आन्दोलनले जुन राष्ट्रवादलाई स्थापित गरेको थियो, २०१३–१४ सम्म भाजपाले त्यसलाई आफ्नो रङले रंगाउन थालेको थियो। यसबाट हिन्दुत्वमा आधारित राष्ट्रवादको अवधारणा अगाडि आयो। त्यसपछि चुनाव लड्ने जुनसुकै पार्टीलाई लाग्न थाल्यो, धर्मनिरपेक्ष भएर सत्ता हात पार्न सकिँदैन।’

सफ्ट हिन्दुत्व: आवश्यकता कि बाध्यता?
२०११ को जनगणनाअनुसार दिल्लीको जनसंख्या १.६८ करोड छ। जसमध्ये २१.५९ लाख अर्थात् १२.८६ प्रतिशत मुस्लिम र ८१.६८ प्रतिशत हिन्दु छन्।

गत ४१ वर्षदेखि पत्रकारिता गरिरहेका विनीत वाहीको भनाइमा दिल्लीका ७० विधान सभा सिटमध्ये ७ सिट यस्ता छन्, जहाँ मुस्लिम मतदाता निर्णायक छन्। जसमा सिलमपुर, ओखला, मुस्तफावाद, चाँदनी चोक, बल्लीमारान, मटिया महल र बाबरपुर सिट पर्छन्।

‘केजरीवालले मुसलमानको सहाराबाट मात्र सत्ता हासिल गर्न सकिँदैन भन्ने बुझे। मुस्लिम बहुल क्षेत्रमा पनि जित्नलाई हिन्दु भोट चाहिन्छ। यी सिटमा कंग्रेस अलिकति बलियो हुने हो भने उनलाई मुस्किल पर्छ,’ विनीत वाही भन्छन्।

‘दिल्लीका पछिल्ला दुई विधान सभा चुनावमा कंग्रेसले एक सिट पनि जितेको छैन। कंग्रेसको भोट ब्यांक आम आदमी पार्टीतर्फ सर्‍यो। मुसलमान भाजपाको पक्षमा जान चाहँदैनन् र केजरीवाल छाडेर अर्को विकल्प उनीहरूसँग छैन,’ अर्का वरिष्ठ पत्रकार शरद गुप्ता भन्छन्, ‘केजरीवाललाई लाग्छ, मुस्लिम भोट उनको खल्तीमै छ। त्यसैले हनुमानचालीसा पढ्ने, आफूलाई हिन्दु देखाउने ताकि परम्परागत रूपमा भाजपाको मानिने भोट ब्यांक तोड्न सकियोस्।’

आशुतोषको भनाइ पनि उस्तै छ।

उनी भन्छन्, ‘दिल्लीमा दंगा हुँदा आम आदमी पार्टीले नागरिकहरूलाई सहयोग गरेन। शाहीन बागमा महिलाहरू धर्नामा बसे, केजरीवाल एकपटक पनि गएनन्। कतै भाजपाले आफूलाई मुस्लिम परस्त नेता घोषणा गरिदिने त होइन भन्ने डर उनलाई थियो। मुख्यमन्त्री भएकाले उनले तिनको पीडा सुन्नुपर्थ्यो। तर, सुनेनन्। हिन्दु भोट नफुत्कियोस्, यत्ति कारणले।’

कुनै समय केजरीवाल गोलो टोपी लगाएर इफ्तार पार्टीमा सहभागी हुन्थे। विस्तारै उनी यस्ता गतिविधिबाट टाढा भए।

‘२०२० सम्ममा केजरीवालले गोलो टोपी छाडेर हनुमान मन्दिरमा टाउको टेकाउन सुरु गरिदिए। यो ठूलो परिवर्तन हो, जुन प्रष्ट देखिन्छ,’ शरद गुप्ता भन्छन्।

सफ्ट हिन्दुत्वको आरोपमा अरविन्द केजरीवालको जवाफ छ, ‘तपाईं मन्दिर जानुहुन्छ? म पनि जान्छु। मन्दिर जानुमा कुनै खराबी छैन। मन्दिर जाँदा शान्ति पाइन्छ। यसमा खराबी के छ? जो आपत्ति प्रकट गर्दैछन्, उनीहरूलाई के टाउको दुखाइ?’

‘म मन्दिर जान्छु, म हिन्दु हुँ, म हनुमान, रामको मन्दिरमा जान्छु। मेरी पत्नी शिवभक्त हुन्। उनी हरेक साता गौरीशंकर मन्दिर जान्छिन्। यसमा कसैलाई के समस्या? यसलाई किन मुद्दा बनाइएको हो?’ उनको प्रश्न छ।

राजनीतिमा धर्मको संगठित र सुनियोजित प्रयोग १९९० को दशकबाट भारतमा सुरु भयो। जसले २०१४ पछि तीव्रता पायो। 

‘भगवान् रामलाई भाजपाले पहिलेदेखि नै आफ्नो नाममा ल्याइसकेको छ। किनकि दशकौँदेखि उनीहरूको राजनीतिको केन्द्रमा भगवान् राम छन्,’ पत्रकार विनीत वाही भन्छन्, ‘जब आम आदमी पार्टी हिन्दुत्वतर्फ मोडियो, तब उनीहरूलाई यस्तो धार्मिक प्रतीक चाहिएको थियो, जसको सहारामा हिन्दुहरूसँग जोडिन सकियोस्। यहाँनेर उनीहरूले हनुमानलाई रोजे।’

२०२० मै यसको निकै प्रदर्शन भयो। हनुमानचालीसा पाठ र मन्दिर दर्शनका अलावा उम्मेदवारहरू गदा बोकेर भोट माग्न हिँडेको पनि देखियो।

‘केजरीवालले यसो गरेर भाजपालाई जवाफ दिएको मान्छेहरू बताउँछन्। तर, यो जवाफ दिने होइन, सत्ता हासिल गर्ने राजनीति हो। उनीहरू हिन्दुत्वको विमर्शलाई समाप्त गरिरहेका छैनन्, त्यसको लाभ उठाएर चुनाव जित्न खोज्दै छन्,’ हिलाल अहमद भन्छन्।

आम आदमीको हिन्दुत्व भाजपाको भन्दा कति फरक?
५ फेब्रुअरीमा हुने दिल्ली विधान सभा चुनावमा आम आदमी पार्टीले ६ मुस्लिम उम्मेदवारलाई टिकट दिएको छ भने भाजपाले एकजनालाई पनि दिएको छैन।

‘भाजपाको हिन्दुत्वमा कुनै मिसावट छैन। त्यहाँ मुस्लिमहरूलाई केही पनि छैन। तर, केजरीवाल मुसलमानलाई पनि रिझाउन चाहन्छन्,’ शरद गुप्ता भन्छन्, ‘सुरुदेखि नै कट्टर हिन्दुत्वाला छ भाजपाको डीएनए। उनीहरू हिन्दु राष्ट्र बनाउने कुरा गर्छन्। मुसलमानलाई टिकट दिँदैनन्। उनीहरूको निसाना देशका करिब ८० प्रतिशत हिन्दु जनता हुन्, जोबाट ५० प्रतिशत मत चाहन्छन्। तर, केजरीवालको हिन्दुत्व कट्टर होइन।’

गुप्ताका अनुसार केजरीवालको लक्षित मत पनि हिन्दु नै हो। तर, उनले मुसलमानप्रतिको मोह त्याग्न सकेका छैनन्। 

आशुतोषको कुरा पनि यही छ। उनी भन्छन्, ‘केजरीवाल कमसेकम एउटा धर्मविशेषको भोट पाउन अर्को धर्मविरुद्ध घृणाको व्यापार गरिरहेका छैनन्। उनी एक किसिमले सन्तुलन मिलाउने कोसिस गरिरहेका छन्।

तर, हिलाल अहमद भने यस्तो सन्तुलन केजरीवालले होइन, आफसेआफ बनिरहेको बताउँछन्। 

(बीबीसी हिन्दीबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad