अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा देशको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाँदै छन्।
तर त्यसको अघिल्लो दिन आज जनवरी १९ मा अमेरिकाको राजधानी वासिङ्टन डीसीका सडकमा उनीविरुद्ध प्रदर्शन भइरहेको छ।
प्रदर्शन गरिरहेका प्रदर्शनकारीमा अधिकांश महिला छन्।
यो विरोध प्रदर्शनलाई जनताको मार्च भनिएको छ, जुन पहिले 'महिला मार्च'को नामले पनि चिनिन्थ्यो। यो प्रदर्शन २०१७ देखि हरेक वर्ष आयोजना हुने गरेको छ।
पिपुल्स मार्च वेबसाइटका अनुसार धेरै समूहको गठबन्धनले मार्चको आयोजना गरेको हो। यसको उद्देश्य ‘ट्रम्पवाद’को प्रतिरोध गर्नु हो।
पिपुल्स मार्च आयोजना गर्ने समूहहरूले आफ्नो वेबसाइटमा आफूलाई जलवायु परिवर्तन, बसाइँसराइ र महिला अधिकारजस्ता विविध पहिचान र विभिन्न मुद्दामा रुचि भएका मानिसको विविध समूहको प्रतिनिधित्व गर्ने रूपमा वर्णन गरेका छन्।
बीबीसीका अनुसार पिपल्स मार्चमा सामेल हुन वासिङ्टनमा भेला भएका महिलाहरूले आफूहरू धेरै मुद्दालाई समर्थन गर्ने भएकाले विरोधमा भाग लिएको बताएका छन्।
ब्रुक नामकी एक प्रदर्शनकारीले आफू गर्भपतनको समर्थन गर्ने बताइन्।
Shares

प्रतिक्रिया