नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाको बेलायत भ्रमणका क्रममा तय गरिएका कार्यक्रमप्रति नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति वेलायतले विरोध जनाएको छ।
बिहीबार बेलायत प्रस्थान गरेका कोइरालाले पुस २९ गते बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। तर, कांग्रेस निकट उक्त संस्थाले आफूहरुसँग कुनै समन्वय समेत नगरेको र आफूहरुले आयोजना गरेको कार्यक्रममा समेत आउन नमानेको भन्दै विरोध गरेको हो।
आफूहरुको कार्यक्रमलाई कोइरालाले गरेको नजरअन्दाजले पार्टी संस्थापक बीपी कोइरालाको अपमान गरेको समितिको भनाइ छ। त्यस्तै आज (आइतबार) लण्डनस्थित प्लम्बस्टेडको एक रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समितिको नाममा हुने भेला नेपाली जनसम्पर्क समिति बेलायतको आधिकारिक भेला नभएको समेत भनिएको छ।
समितिले कोइराला पक्षीय कार्यक्रमहरुमा मात्रै सहभागी भएर गुटप्रवृत्तिलाई समेत बढवा दिएको आरोप समितिको छ। ‘सो कार्यक्रममा कोइराला एकपक्षीय रुपमा सहभागी हुँदा विदेशमा समेत गुटप्रवृत्ति मौलाउँदै जाने र नेपालीहरूबीच गहिरो विभाजनको खाडल बढ्ने सम्भावना देखिन्छ,’ समितिले भनेको छ, ‘यसले समाजलाई विभाजनतिर डोर्याउने खतरा पनि पैदा गर्न सक्छ। गुटबाजी र पार्टीको अपमान हुने सम्भावना भएकाले उक्त कार्यक्रमको बहिष्कार गरिनुपर्ने कुरा पनि यहाँको ध्यानाकर्षण गराइन्छ।’
Shares

प्रतिक्रिया