अजरबैजानले सोमबार रुसले आफ्नो विमान दुर्घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गरी सजाय दिने आश्वासन दिएको बताएको छ।
यही डिसेम्बर २५ मा ६७ यात्रु लिएर अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको फ्लाइट जे २–८२४३ कजाकस्तानको अक्ताउमा खसेको थियो। उक्त विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।
अजरबैजानको सरकार समर्थक वेबसाइटले विमानलाई रुसी मिसाइलले खसालेको दाबी गरेको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार अजरबैजानका अभियोजक जनरलले विज्ञप्तिमा भनेका छन्, ‘रुसले बाकुलाई दोषीहरूको पहिचान गर्न र उनीहरूलाई आपराधिक सजायको दायरामा ल्याउन गम्भीर प्रयास भइरहेको छ भन्ने जानकारी दिएको छ।’
दुई दिनअघि शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग विमान दुर्घटनाका लागि माफी मागेका थिए तर जिम्मेवारी भने लिएका थिएनन्।
अलिएभले मस्कोले दुर्घटनामा आफ्नो संलग्नता लुकाएको आरोप लगाए।
अलिएभले पुटिनको माफी स्वीकार गरे पनि रुसले आफ्नो दोष स्वीकार गरी क्षतिपूर्ति दिनुपर्ने बताए।
Shares

प्रतिक्रिया