ग्लोबल


नयाँ राष्ट्रपतिले शपथ खाइसके, पुरानोले छाड्दिनँ भन्छिन्

नयाँ राष्ट्रपतिले शपथ खाइसके, पुरानोले छाड्दिनँ भन्छिन्

नेपालखबर
पुस १४, २०८१ आइतबार २०:१९,

जर्जियाको राजनीतिमा अनौठो घटना देखिएको छ। नयाँ राष्ट्रपतिले शपथ खाइसक्दा पनि पुरानो राष्ट्रपतिले आफू नै वैधानिक राष्ट्रपति भएको दाबी गरिरहेकी छन्।

गत अक्टोबरमा भएको संसदीय चुनाव जर्जियन ड्रिम पार्टीले जितेको थियो। यद्यपि, विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

जर्जियामा सम्पूर्ण सांसद र स्वायत्त क्षेत्र तथा स्थानीय सरकारका प्रतिनिधिसमेत सामेल ३ सय सदस्यीय इलेक्टोरल कलेजले राष्ट्रपति चुन्छ।

सत्तारुढ पार्टीका मिखाइल कावेलास्विलीले आइतबार शपथ लिए। तर, उनको शपथ चलिरहँदा राजधानी तिबिलिसीमा हजारौँले विरोध प्रदर्शन गरेका थिए।

पुरानो राष्ट्रपति सलोमी जुराविस्विलीले पद नछाड्ने बताएकी छन्। पश्चिम समर्थित उनले राष्ट्रपति भवन छाड्ने तर कावेलास्विलीलाई राष्ट्रपति नमान्ने बताइन्।

‘यहाँ वैधानिक राष्ट्रपति बसुञ्जेल मात्र यो भवन एउटा प्रतीक थियो,’ उनले भनिन्।

केही मिनेटको दूरीमा रहेको संसद् भवनमा कावेलास्विलीले शपथ लिए। 

चार प्रमुख विपक्षी पार्टीले कावेलास्विलीलाई नमान्ने बताउँदै संसद् बहिष्कार गरेका छन्।

जर्जियन ड्रिम पार्टी पछिल्ला वर्षहरुमा तानाशाही बन्दै गएको आरोप विपक्षीले लगाएको छ। यो मुलुकले युक्रेन युद्धपछि रुसविरुद्ध नाकाबन्दीमा सहभागी हुन पनि अस्वीकार गरेको थियो।

नोभेम्बरमा सो पार्टीको सरकारले २०२८ सम्म ईयूमा प्रवेश गर्ने वार्ता पनि रोक्ने बताएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad