अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० मा शपथ लिनुअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार संक्षिप्त निवेदन दर्ता गराएका छन्।
ट्रम्पको कानुनी टोलीले लेखेको छ, ‘यस मुद्दाको नवीनता र कठिनाइलाई ध्यानमा राख्दै अदालतले यी मुद्दा सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।’
ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय असुरक्षा कारण देखाउँदै भिडिओ एपमा प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए।
चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममा प्रतिबन्ध लगाउन माग माग गरेको थियो।
अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडिओ सेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउन गरिएको आरोप लगाएका थिए। ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन्।
ब्लुमबर्गसँगको कुराकानीमा उनले भनेका छन्, ‘अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ। म टिकटकका पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ।
उनले अगाडि भनेका छन्, ‘यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।’
मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो। फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद्मा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिन प्लेटफर्मको उपयोग गर्ने चिन्ताका कारण प्रेरित रहेको दाबी मेटाको थियो।
ट्रम्पलाई सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो। रासस/एएफपी
Shares

प्रतिक्रिया