भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीर दिल्लीस्थित उनको निवासमा लगिएको छ।
९२ वर्षीय सिंहको उपचारका क्रममा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, लोकसभा अध्यक्ष ओम बिर्ला, वित्तमन्त्री निर्मला सीतारमण, विपक्षी नेता राहुल गान्धी, केन्द्रीय मन्त्री तथा विभिन्न दलका प्रमुख नेताले सिंहलाई श्रद्धाञ्जली दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कंग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी, केसी वेणुगोपाललगायत धेरै कांग्रेस नेता राति उनको निवास पुगेका थिए।
केसी वेणुगोपालले एक्समार्फत कंग्रेसले आगामी सात दिनका लागि आफ्ना सबै कार्यक्रम स्थगन गरेको जानकारी दिएका छन्।
कंग्रेसले शुक्रबार कर्नाटकको बेलगावीमा ‘जय बापु, जय भीम, जय संविधान’ र्याली गर्ने कार्यक्रम थियो।
स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ मनमोहन सिंहलाई एम्समा भर्ना गरिएको थियो र त्यहीँ उनले अन्तिम सास फेरे।
सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्।
आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।
सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल यो पदमा रहे।
Shares

प्रतिक्रिया