युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले योजनाबद्ध रूपमा क्रिसमसकै दिन पारेर आक्रमण गरेको टिप्पणी गरेका छन्।
जेलेन्स्कीले रुसका हरेक ठूला आक्रमणको तयारीमा समय लाग्ने उल्लेख गर्दै यो आक्रमण पूर्वयोजनाबिना कदापि सम्भव नहुने बताए।
‘यो लक्ष्यको मात्र होइन, समय र मितिको पनि सचेत छनोट हो", जेलेन्स्कीले भने, "पुटिनले जानाजानी हमलाका लागि क्रिसमस रोजे। यो भन्दा अमानवीय के हुन सक्छ?’
उनले ब्यालेस्टिकसहित ७० भन्दा बढी मिसाइल र १०० भन्दा बढी ड्रोनले आक्रमण गरिएको बताए। जसको लक्ष्य युक्रेनको ऊर्जा प्लान्ट भएको उनले बताए।
जेलेन्स्कीले भने, ‘उनी (पुटिन) युक्रेनमा अन्धकार फैलाउन लडाइँ गरिरहेका छन्।’
जेलेन्स्कीले प्रारम्भिक जानकारीअनुसार युक्रेनी सेना ५० भन्दा बढी क्षेप्यास्त्र र ड्रोन खसाल्न सफल भएको दाबी गरेका छन्।
उनले भने, ‘दुर्भाग्यवश, केही ठाउँमा हमला भएका छन्, जसका कारण केही क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ। हामी सकेसम्म चाँडो बिजुली पुनर्स्थापना गर्न काम गरिरहेका छौँ।’

जेलेन्स्कीले अगाडि भने, ‘रुसको आक्रमणले न युक्रेनको मनोबल घटाउन सक्छ न हाम्रो क्रिसमस नै बिगार्न सक्छ।’ बीबीसी
Shares

प्रतिक्रिया