डोनाल्ड ट्रम्पले हालैका दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुरा गरेको बताएका छन्। नोभेम्बरमा निर्वाचन भएयता यी दुई नेताबीच पहिलोपटक कुराकानी भएको हो।
शुक्रबार लिइएको र आइतबार एनबीसी टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा ट्रम्पले भने, ‘हामीबीच कुरा भएको छ।’
तर उनले सो कुराकानी कहिले र कुन माध्यमबाट भएको हो भन्ने विवरण दिएनन्। सी र ट्रम्पबीच पछिल्लोपटक २०१९ मा जापानमा भेट भएको थियो।
ट्रम्पले चीनबाट आयात हुने सामानमा भारी कर लगाउने घोषणा गरेपछि यी दुई मुलुकबीचको सम्बन्ध तिक्त बन्ने अनुमान गरिँदै आएको छ। पछिल्ला दिनहरूमा चीनप्रति आक्रामक व्यक्तिहरूलाई उनले आफ्नो प्रशासनमा ठाउँ दिएका छन्।
गतसाता मात्रै उनले पूर्वसिनेटर डेविड पर्ड्युलाई चीनका लागि अमेरिकी राजदूतमा मनोनयन गरेका छन्।
सोही अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा जन्मका आधारमा नागरिकता दिइने व्यवस्था अन्त्य गर्ने पनि बताएका छन्। अहिले अमेरिकामा जन्मिने व्यक्तिले नागरिकता पाउने व्यवस्था छ।
‘हामी त्यसलाई बदल्ने छौँ,’ उनले भनेका छन्।
त्यस्तै उनले कागजात नभएका अवैध आप्रवासीलाई डिपोर्ट गर्ने चुनावी बाचा पनि दोहोर्याए।
उनले नेटो सदस्य मुलुकहरूले आआफ्नो खर्च बेहोरे अमेरिका सो सैन्य गठबन्धनबाट नबाहिरिने पनि बताए। एजेन्सी
Shares

प्रतिक्रिया