दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको पार्टीले उनीविरुद्ध संसद्मा पेस महाभियोग प्रस्तावको कडा विरोध गर्ने बताएको छ।
पार्टीका नेता हान डोङ हुनले आफ्नो पार्टीले संसद्मा प्रस्ताव रोक्न आफ्ना सहयोगीलाई एकजुट गर्ने प्रयास गर्ने बताएका छन्।
उनले भने, पार्टी नेताको हैसियतमा म यस महाभियोगलाई पारित हुनबाट रोक्न काम गर्नेछु, किनकि यसले अभूतपूर्व अराजकता र हाम्रा जनता र समर्थकहरूलाई हानि पुर्याउन सक्छ।
तर हानले महाभियोगको विरोध गर्नु भनेको मार्सल ल (सैनिक कानुन) लागू गर्ने राष्ट्रपतिको प्रयासको समर्थन नभएको पनि बताएका छन्।
उनले भने, ‘राष्ट्रपतिलगायत असंवैधानिक मार्सल लमार्फत राष्ट्रलाई अस्थिर बनाउने र जनतालाई आतंकित पार्ने जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्छ।
राष्ट्रपतिलाई हटाउन विपक्षी दललाई राष्ट्रपति युन सुक योलको पार्टीका आठ सदस्यको समर्थन चाहिन्छ।
राष्ट्रपति योलले मंगलबार साँझ मार्सल ल अर्थात् सैन्य शासन घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि उनी आफ्नो उक्त घोषणा केही घण्टामै फिर्ता लिन बाध्य भएका थिए।
सोही प्रकरणमा विपक्षी दलले उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव पेस गरेका हुन्।
Shares

प्रतिक्रिया