ग्लोबल


भारत-चीन सम्बन्ध नयाँ चरणमा, विदेशमन्त्रीबीच कैलाश तीर्थ यात्रा र सिधा उडान सुरु गर्ने छलफल

भारत-चीन सम्बन्ध नयाँ चरणमा, विदेशमन्त्रीबीच कैलाश तीर्थ यात्रा र सिधा उडान सुरु गर्ने छलफल

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २०:५४,

भारत र चीनका विदेशमन्त्रीबीच कैलाश मानसरोवर तीर्थ यात्रा तथा सिधा उडान सुरु गर्ने लगायतका विषयमा छलफल भएको छ। वाङ यी र एस जयशंकरबीच ब्राजिलको रियो दि जेनेरियोमा आयोजित जी २० शिखर सम्मेलनको साइडलाइनमा वार्ता भएको हो।

यससँगै चीन र भारतबीचको द्विपक्षीय सम्बन्ध सीमा समस्याबाट एक कदम अगाडि बढेको देखिएको छ। 

दुई देशका विदेशमन्त्रीहरूले भारत–चीन सम्बन्धको अर्को कदमबारे छलफल गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

‘मन्त्रीहरूले हाम्रो सीमावर्ती क्षेत्रबाट सैनिकहरूको फिर्तीले शान्ति र सौहार्द्रता कायम राख्नमा गरेको योगदानलाई आत्मसात गरे। छलफल भारत–चीन सम्बन्धको आगामी कदममा केन्द्रित थियो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ।

२०२० मा दुई देशका सैनिकबीच लद्दाखमा हिंसात्मक झडप भएपछि भारत र चीनबीच तिक्तता बढेको थियो। त्यसयता भारतले सीमामा शान्ति नहुञ्जेल सम्बन्धका अन्य आयाममा अघि बढ्न नसकिने बताउँदै आएको थियो।

तर, गत महिना उनीहरूले सीमावर्ती क्षेत्रबाट सेना पछि हटाउने सहमति गरेका थिए। त्यससँगै सम्बन्धमा सहजता आएको देखिएको हो।

पछिल्ला केही वर्षहरूमा भारत अमेरिकी खेमातर्फ ढल्किएको विश्लेषण गरिँदै आएको थियो। तर, जयंशकरले वाङसँगको वार्तामा ब्रिक्स, सांघाई कोअपरेसन फोरम, जी२० लगायत मञ्चमा भएका भारत–चीन सहकार्यहरूको उल्लेख गर्दै दिल्ली बहुध्रुवीय विश्वको पक्षमा रहेको स्पष्ट पारेका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार जयंशकरले भनेका छन्, ‘हामी बहुध्रुवीय विश्व र बहुध्रुवीय एसियाका लागि प्रतिबद्ध छौँ....हामी प्रभुत्व स्थापना गर्ने एकतर्फी दृष्टिकोणको विरुद्धमा छौँ। भारत आफ्ना सम्बन्धहरूलाई अन्य देशको चस्माबाट हेर्दैन।’

दुई मुलुकबीच विषेश दूतस्तरीय र विदेश सचिव–उपमन्त्रीस्तरीय बैठक हुने सहमति पनि भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad