ग्लोबल


सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

फाइल तस्बिर: डोनाल्ड ट्रम्प


नेपालखबर
मंसिर ३, २०८१ सोमबार २१:४६, वासिङ्टन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको सोमबार बताएका छन्।

राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताएका थिए। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन्। पोस्टमा भनिएको छ, ‘नवनिर्वाचित राष्ट्रपति ‘राष्ट्रिय आपत्‌काल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ।’

पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन्। 

गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए। 

उनले अध्यागमन र भन्सार प्रवर्तनका पूर्व कार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’का रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेटको घोषणा गरेका छन्। 

गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौँ अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ।’

अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन्। ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। 

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको दाबी गरेका छन्। 

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटकपटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाएका थिए।

ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिएका छैनन् तर आफ्नो चुनावी अभियानका क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने वाचा गरेका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad