बुधबार भर्खरै अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प तल्लो सदनमा विजयी रिपब्लिकन पार्टीका उम्मेदवारलाई भेटिरहेका थिए।
सो क्रममा उनले राष्ट्रपतिको रुपमा तेस्रो कार्यकालबारे ख्यालठट्टा गरे।
‘म फेरि राष्ट्रपतिमा लड्दिनँ भन्नेमा शंका छ जबसम्म तपाईंहरुले भन्नुहुनेछैन– यो मान्छे ठीक छ, केही त गर्नैपर्छ!’, उनले यसो भन्दा भीडमा हाँसो गुन्जियो।
अमेरिकी संविधानले राष्ट्रपतिहरुलाई तेस्रो कार्यकालको व्यवस्था नै गरेको छैन। चाहे त्यो लगातार होस् या समयान्तरमा।
हाउस एप्रोप्रिएसन्स कमिटीका प्रमुख टम कोलले भने, ‘मलाई लाग्छ– उहाँ केही मजाक गरिरहनुभएको छ।’
‘यो नै अन्तिम राष्ट्रपतीय दौड हो (ट्रम्पका लागि), जबसम्म संविधान संशोधन हुँदैन’, उनले भने।
‘त्यसकारण यो हुनेवाला छैन। कुनै बेला रोनाल्ड रेगनले पनि यस्तै ठट्टा गरेका थिए। अहिले ठूलो जित निकालेको समयमा यस्तो टिप्पणी सामान्य नै हो।’
यता डेमोक्रेटिक पार्टीका ड्यानियल गोल्डम्यानले भने ट्रम्पको उक्त ठट्टायुक्त प्रतिक्रियाको आलोचना गरे। तेस्रो कार्यकाल खोजियो भने त्यो असाध्यै असंवैधानिक हुने उनको भनाइ थियो।
भर्खरै सम्पन्न निर्वाचनमा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका छन्। साथै उनको पार्टीले दुवै सदनमा बहुमत समेत हासिल गर्ने देखिएको छ। बीबीसीबाट
Shares

प्रतिक्रिया