ग्लोबल


ट्रम्पको लेनदेन कूटनीतिको सिकार बन्न सक्छ ताइवान, महँगिँदै छ अमेरिकाको समर्थन

ट्रम्पको लेनदेन कूटनीतिको सिकार बन्न सक्छ ताइवान, महँगिँदै छ अमेरिकाको समर्थन

२०२० मा ट्रम्पका स्वास्थ्यमन्त्री एलेक्स अजार ताइवान उत्रिएको विमान


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ९:२८,

सन् २०१६ मा चुनाव जितेपछि डोनाल्ड ट्रम्पलाई बधाई दिन ताइवानका प्रधानमन्त्रीले फोन गरे। ट्रम्पले उनीसँग कुरा गरे। दशकौँको अवधिमा यसरी ताइवानी राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्प पहिलो ‘प्रेसिडेन्ट इलेक्ट’ बने।

यसपटक ट्रम्पले दोस्रो कार्यकालका लागि चुनाव जितेपछि वर्तमान ताइवानी राष्ट्रपति लाइ चिङ तेले पनि उनलाई फोन गर्ने प्रयास गरिरहेको खबर बाहिरियो। तर, लगत्तै ताइवानले सो खबरको खण्डन गर्‍यो।

फरक एकदम प्रस्ट थियो पहिले र अहिलेमा।

ताइवानले ट्रम्पको पुनरागमनपछि उनीसँग नाजुक र उतारचढावपूर्ण सम्बन्धका लागि आफूलाई तयार गरिरहेको प्रतीत हुन्छ। चुनावी अभियानका क्रममा ट्रम्पले चीनबाट ताइवानको रक्षाको बदलामा उसले अमेरिकालाई पैसा तिर्नुपर्ने सुझाएका थिए। उनले अमेरिकाको चिप्स व्यवसाय ताइवानले चोरेको गुनासो समेत गरेका थिए।

‘ताइवानमा यसपटक ट्रम्पलाई लिएर चिन्ता ज्यादा छ,’ ताइवानको राष्ट्रिय सुरक्षा परिषदका पूर्वसल्लाहकार प्राध्यापक चेन मिङ ची भन्छन्।

‘बधाईका लागि फोन गर्न गइरहेका छैनौँ भनेर घोषणा गर्नुको अर्थ हो, हामी यसपालि बढी यथार्थवादी बनेका छौँ,’ ताइवानको नेसनल सिङ हुवा युनिभर्सिटीका प्राध्यापक चेन भन्छन्। 

राष्ट्रपति लाइले ट्रम्पको जितपछि बधाई दिँदै विज्ञप्ति भने जारी गरेका छन्।

चीन र ताइपेइबीच उच्च तनाव कायम छ। चिनियाँ सैन्य विमानहरूले बारम्बार सो टापुवरिपरि सैन्य अभ्यास गरिरहेका छन्। जसका कारण दुर्घटनावश द्वन्द्व चर्किने भय छ। ट्रम्पसँग ताइवानी नेताले कुरा गरेको भए चीनले जोडदार प्रतिक्रिया जनाउने थियो। 

२०१६ मा तत्काली राष्ट्रपति साइ इङ वेनले ट्रम्पसँग कुरा गरेपछि चीनले त्यसको भर्त्सना गरेको थियो। अमेरिकाले १९७९ मा चीनलाई मान्यता दिँदै ताइवानसँग सम्बन्ध विच्छेद गरेपछि सो टापुसँग शीर्ष नेता तहमा सम्पर्क राखेको थिएन। ट्रम्पको सो फोनवार्ता त्यस्तो पहिलो कदम थियो, जसले ताइवानप्रति अमेरिकाको समर्थन मजबुत पारेको थियो।

पछि ट्रम्प प्रशासनले ताइवानलाई हतियार बिक्री बढायो। ट्रम्पले बेइजिङको गुनासोको बेवास्ता गर्दै वरिष्ठ अधिकारहिरुलाई ताइवान पनि पठाए। त्यही भएर अन्यत्रका मानिसहरू ट्रम्प नेतृत्वको अमेरिकाप्रति क्रुद्ध हुँदा उनी ताइवानमा भने लोकप्रिय रहे।

गतवर्ष युद्धाभ्यास गर्दै ताइवानी सैनिक

अब आएर ताइवान पनि ट्रम्पको लेनदेन कूटनीतिको सिकार बन्ने देखिएको छ। त्यसमाथि औपचारिक सम्बन्ध पनि नभएकाले ताइवानी राष्ट्रपति लाइले आमनेसामने बसेर ट्रम्पलाई आफ्नो कुरा बताउन सक्ने छैनन्।

ताइवानको सैन्य खर्च र सेमिकन्डक्टर उद्योगका विषयमा ट्रम्पको गुनासो छ। जसले थप अमेरिकी हतियार किन्न र अमेरिकामा चिप उद्योग खोल्न ताइवानलाई दबाब पर्ने देखिन्छ।

‘तपाईंहरूलाई थाहा छ, ताइवानले हाम्रो चिप व्यवसाय चोरेको?’ हालै एक पडकास्टमा ट्रम्पले भनेका थिए, ‘उनीहरूले रक्षाको बदलामा हामीलाई पैसा पनि दिँदैनन्।’

अमेरिकाको सहयोग प्राप्त गरिराख्न ताइवानले आफ्नो तरिका बदल्नुपर्ने प्राध्यापक चेनको भनाइ छ।

‘पछिल्ला केही वर्षमा हाम्रो मूल्य दुई कुरामा छः लोकतन्त्र र चिप्स,’ उनी भन्छन्, ‘तर, ट्रम्प प्रशासनका लागि लोकतन्त्र केन्द्रमा छैन र चिप्स पनि हाम्रो लाभबाट समस्यामा बदलिएको छ।’

आयातीत सामानमा कर बढाउने वाचा ट्रम्पले पूरा गरे भने ताइवानको व्यापार पनि प्रभावित हुनसक्छ। ट्रम्पले चिनियाँ नेता सी चिनफिङसँगको सम्बन्धमा ध्यान दिए भने ताइवानको चिन्तालाई पनि नजरअन्दाज गर्नसक्ने कतिपयको भनाइ छ।

वासिङ्टनसँग औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि चीनको बढ्दो शक्ति र सैन्य दबाबको मुकाबिला गर्न ताइवान अमेरिकी सहयोगमा निर्भर छ। ट्रम्पको पहिलो कार्यकाल र बाइडेन प्रशासनको समयमा चीनसँग अमेरिकाको शत्रुता बढ्दै जाँदा अमेरिका–ताइवान साझेदारी भने गहिरियो।

ताइवानी अधिकारीहरूले निश्चय नै ट्रम्पद्वारा नियुक्त मानिसहरूसँग सम्बन्ध बनाउने कोसिस गर्नेछन्। 

ताइवानले अमेरिकाको दबाबपछि सैन्य बजेट बढाइरहेको छ। यसवर्षको प्रस्तावित बजेटमा रक्षा क्षेत्रमा ताइवानको जीडीपीको २.६ प्रतिशत छुट्याइएको छ। तर, ट्रम्प १० प्रतिशत छुट्याउनुपर्ने बताउँछन्।

त्यसरी रक्षा बजेट अत्यधिक बढाउन राजनीतिक रूपले राष्ट्रपतिलाई कठिन हुन्छ। लाइको पार्टीको संसदमा बहुमत छैन। उनी हरित उर्जालगायत क्षेत्रमा ज्यादा खर्च गर्न चाहन्छन्।

ताइवानी राष्ट्रपति लाइ चिङ ते

चीनले आक्रमण गर्‍यो भने अमेरिकाले कति छिटो र प्रभावकारी रूपमा ताइवानलाई सहयोग गर्न सक्छ भन्ने विषयमा पनि ट्रम्पले सन्देह व्यक्त गरेका छन्।

‘ताइवान कठिन स्थितिमा छ,’ ट्रम्पले वासिङ्टन पोस्टसँग भनेका छन्, ‘नबिर्सनुस्, यो ९ हजार माइल टाढा छ।’

‘यस्तो टिप्पणीको अर्थ रक्षा बजेट थप्नुहोस् र अमेरिकी हतियार किन्नुहोस् भन्ने हो,’ ट्रम्पका तत्कालीन विदेशमन्त्री माइक पोम्पेओकी चीन नीति सल्लाहकार रहिसकेकी हड्सन इन्स्टिच्युटकी माइल्स यु भन्छन्।

टीएसएमसीजस्ता ताइवानका ठूला चिप निर्मातालाई अमेरिकामा उद्योग खोल्न पनि भनिन सक्छ।

ट्रम्पले लगाउन सक्ने करलाई भने ताइवानी अधिकारीहरू ठूलो समस्या मान्दैनन्। ट्रम्पले चिनियाँ सामानमा अत्यधिक कर बढाउने बताएका छन्। त्यसोभए ताइवानी व्यवसायका लागि अवसरको ढोका खुल्न सक्छ।

‘त्यसो हुँदा ताइवानलाई घाटाभन्दा नाफा बढी छ,’ ताइवानको राष्ट्रिय विकास परिषदको नेतृत्व गर्ने मन्त्री लिउ चिन चिङ भन्छन्।

ताइवानले रुस–युक्रेन युद्धमा ट्रम्पको प्रतिक्रियालाई नजिकबाट नियाल्ने छ। ताइवानले युक्रेनलाई अमेरिकी सहयोगको समर्थन गरेको छ। तर, ट्रम्पले तुरुन्त सो युद्ध रोक्न चाहेको बताएका छन्। झट्टै त्यसो भए ताइवानको आत्मविश्वास डगमगाउने विश्लेषकहरूको भनाइ छ।

‘युक्रेनप्रति ट्रम्पको व्यवहारलाई हेरेर ताइवानी नेताहरूले संकटको घडीमा ट्रम्पले चिनियाँ दबाबको सामना गर्छन् कि गर्दैनन् भनेर लख काट्ने छन्,’ ओबामाको कार्यकालमा राष्ट्रिय सुरक्षा परिषदमा चीन निर्देशक रहेका रायन हास बताउँछन्।

बेइजिङ भने वासिङ्टन र ताइपेइबीचको जुनसुकै मतभेदको फाइदा उठाउन तयार देखिन्छ। ताइवानी जनतालाई अमेरिकाको भर नपर्न र चीनसँगका एकता स्वीकार्न उनीहरू सन्देश दिइरहेका छन्।

‘अमेरिकाले ‘ताइवानको रक्षा’ गर्न चाहन्छ कि ‘ताइवानलाई हानि’ गर्न, अधिकांश ताइवानीहरूले आफ्नै विवेकसम्मत निर्णय लिएका छन्,’ ताइवान हेर्ने चिनियाँ सरकारी कार्यालयकी प्रवक्ता चु फेङलियान भन्छिन्, ‘ताइवानीहरूलाई राम्ररी थाहा छ, अमेरिकाले जहिले पनि ‘अमेरिका फस्ट’ नीति नै अख्तियार गर्छ। र, ताइवान ‘गोटी’बाट कुनै पनि बेला ‘बलि चढाइएको गोटी’ बन्न सक्छ।’

(द न्युयोर्क टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad