डोनाल्ड ट्रम्पलाई यसपालिको चुनाव जिताउन सबैभन्दा मरिहत्ते गर्नेमध्येका एक हुन्– इलोन मस्क। विश्वका सबैभन्दा धनी व्यक्ति।
चुनावको राति उनी फ्लोरिडास्थित मार ए लागोमा ट्रम्पसँगै थिए।
‘अमेरिकाका जनताले आज डोनाल्ड ट्रम्पलाई परिवर्तनको स्पष्ट जनादेश दिए,’ ट्रम्पको विजय स्पष्ट हुनेबित्तिकै उनले एक्समा लेखे।
पाम बिचमा विजय भाषणका क्रममा पनि ट्रम्पले मस्कको प्रशंसामा कयौँ मिनेट खर्च गरे।
जुलाईमा पेन्सिलभेनियाको चुनावी र्यालीमा ट्रम्पको हत्याप्रयास भएलगत्तै मस्कले उनको समर्थन गर्न थालेका थिए।
ट्रम्पलाई जिताउन उनले करिब १२ करोड डलर चन्दा त दिए नै अनेक राज्यमा घुमेर भोट पनि मागे।
ट्रम्पलाई जिताउन, आफ्नो नाम, दाम र एक्सजस्तो प्लाटफर्म सबै खर्चिएका उनले ट्रम्पबाट के फाइदा पाउँछन् त? के उनी मन्त्री हुन्छन्?
ट्रम्पले मस्कलाई क्याबिनेटमा भूमिका दिने सम्भावना नरहेको संकेत गरेका छन्। तथापि, ट्रम्पको यो प्रशासन मस्कको भूमिका भने रहनेछ। ट्रम्पले मस्कलाई आफ्नो प्रशासनमा सरकारी खर्च कटौती गर्ने कामका लागि निम्त्याउने बताएका छन्।
मस्क आफैँले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी’ स्थापना गर्न प्रस्ताव गरेका छन्।
सरकारमा भूमिकाका अलावा ट्रम्प सत्तामा हुँदा मस्कले व्यावसायिक रुपमा पनि फाइदा लिन सक्छन्।
सरकारी स्याटलाइट अन्तरिक्षमा पठाउने ठेक्का पाउँदै आएको स्पेसएक्स यसको प्रमुख माध्यम हुन सक्छ। मस्कले समयमा र बजेटभित्रै परियोजना सम्पन्न गर्न नसकेको भन्दै बोइङजस्ता प्रतिस्पर्धीहरूको आलोचना गर्दै आएका छन्। ती ठेक्कामा पनि उनको आँखा हुन सक्छ।

स्पेसएक्सले जासुसी स्याटलाइटहरू बनाइरहेको छ। जसमा पेन्टागन र अमेरिकी गुप्तचर निकायले अर्बौं लगानी गर्न सक्छन्।
मस्कको अर्को कम्पनी टेस्लाको हकमा ट्रम्प नराम्रो खबर हुन सक्छन्। किनकि ट्रम्पले महँगो भएको, रेन्ज कम भएको र अमेरिकी अटो उद्योग ध्वस्त पार्ने भन्दै विद्युतीय सवारीको विरोध गर्दै आएका छन्।
त्यसैले ट्रम्पको प्रशासनले ईभीलाई दिँदै आएको सहयोग अन्त्य गर्न सक्छ। त्यसले टेस्लालाई असर गर्न सक्छ।
त्यसभन्दा पनि ठूलो समस्या ट्रम्पले लिने चीन नीतिले पार्न सक्छ। अहिले टेस्लाको ४० प्रतिशतभन्दा बढी कार चिनियाँ बजारमा बिक्री हुँदै आएको छ। चीनसँग ट्रम्पले पुनः व्यापार युद्ध सुरु गरे टेस्ला दुई महाशक्तिबीच चेपिन सक्छ।
ट्रम्प प्रशासनमा भूमिका पाएर मस्कले त्यसमा समय खर्च गर्नुपर्ने स्थिति आए त्यो उनको कम्पनीका लगानीकर्ताहरूका लागि झनै टाउको दुखाइ बन्न सक्छ। एजेन्सी
Shares

प्रतिक्रिया