मंगलबार पनि भारतमा ३२ वटा विमानलाई बमको धम्की आएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बमको धम्की आएका सबै विमान एअर इन्डियाका हुन्।
उक्त धम्की दिएका अर्का एक व्यक्तिको पहिचान भएको छ। नागपुर प्रहरीका अनुसार उनी महाराष्ट्रको गोन्दियाका ३५ वर्षीय जगदीश उइके हुन्। उनले आतंकवादबारे एउटा किताब पनि लेखेका छन्।
डीसीपी श्वेता खेडकरले प्रहरी टोलीले नक्कली इमेलको अनुसन्धान गरेर अभियुक्तलाई ट्रेस गरेको बताइन्।
अभियुक्त अझै फरार रहेकाले उनलाई पक्राउ गर्न प्रहरीको विशेष टोली गठन गरिएको छ। उनी २०२१ मा पनि एउटा मुद्दामा पक्राउ परेका थिए।
दुई हप्तामा भारतका ४०० भन्दा बढी उडान धम्कीमा परेका छन्। उडानमा नक्कली धम्की दिने दुई युवक यसअघि पनि पक्राउ परेका छन्।
दिल्ली प्रहरीले २५ वर्षीय शुभम उपाध्यायलाई अक्टोबर २६ मा पक्राउ गरेको हो। उनले अक्टोबर २५ मा आईजीआई एयरपोर्टको उडानमा दुईवटा झुटो बमको धम्की दिएका थिए। उनले चर्चित बन्न यसो गरेका थिए।
यसअघि मुम्बई प्रहरीले छत्तीसगढको राजनन्दगाउँबाट १७ वर्षीय नाबालिगलाई पक्राउ गरेको थियो। पैसाको लेनदेनको विवादमा आफ्नो साथीलाई फसाउन ती साथीको नाममा एक्स अकाउन्ट बनाएर उनले झुटो पोस्ट गरेका थिए।
Shares

प्रतिक्रिया