ग्लोबल


जेलबाटै ७ सयजनाको ‘ग्याङ’ चलाउने शक्तिशाली गुण्डा

भारतदेखि क्यानडासम्म हत्याको आरोप
जेलबाटै ७ सयजनाको ‘ग्याङ’ चलाउने शक्तिशाली गुण्डा

नेपालखबर
असोज ३०, २०८१ बुधबार १६:१,

गत सोमबार क्यानडेली प्रहरीले एउटा सनसनीपूर्ण दाबी गर्‍यो।

पत्रकार सम्मेलन गरेरै क्यानडा प्रहरीले आरोप लगायो– भारत सरकारले खालिस्तानी नेताहरूको हत्या गराउन ‘बिश्नोई समूहलगायत संगठित अपराध गरिरहेको समूहलाई परिचालन गरिररहेको छ’।

त्यसको केही घण्टाअघि मात्र दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देशनिकाला गरेका थिए। गत वर्ष क्यानडेली भूमिमै एक सिख पृथकतावादी नेताको हत्यापछि यी दुई मुलुकबीच तनाव चर्केको थियो।

सो हत्यामा भारतीय एजेन्टहरूको हात रहेको क्यानडाको आरोप थियो। जसलाई दिल्लीले खारेज गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा रहेको सिख समुदायको मत बटुल्न खोजेको आरोप पनि लगाएको थियो।

बिश्नोई भनेर क्यानडा प्रहरीले उल्लेख गरेका व्यक्ति हुन्– लरेन्स बिश्नोई। ३१ वर्षीय यी गुन्डा पछिल्लो समय राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चामा छाएका छन्।

गत साता मुम्बईमा ६६ वर्षीय नेता बाबा सिद्दिकीको हत्यामा उनकै समूहको हात रहेको भारतीय प्रहरीको भनाइ छ। जसलाई बन्दुकधारीहरूले उनकै छोराको कार्यालयनजिकै गोली हानी हत्या गरेका थिए। तीन आरोपित पक्राउ परेका छन्। बिश्नोईका सहयोगी मानिने एक व्यक्तिले सामाजिक सञ्जालमार्फत सो हत्याको पछाडि सोही समूहको हात रहेको दाबी गरेका थिए।

कुनै समय भारतको मोस्ट वान्टेड सूचीमा रहेका बिश्नोई २०१५ देखि जेलमै छन्। आफ्नो गृहराज्य पञ्जाबभन्दा टाढा गुजरातको जेलमा कैद छन् उनी।

तैपनि उनको प्रभाव कायमै रहेको प्रहरीको भनाइ छ। अक्टोबर २०२२ मा लोकप्रिय पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको प्रमुख आरोपित बिश्नोई नै थिए। 

सिद्धु मुसेवाला

२०१८ मा सलमान खानलाई धम्क्याएर बिश्नोई कुख्यात बनेका थिए। बिश्नोइ समुदायले पूजा गर्ने कालो हरिण मारेको भन्दै सलमानलाई उनले धम्क्याएका थिए।

जोधपुर सहरमा रहेको अदालतमा हाजिर गराउँदा बिश्नोईले सञ्चारमाध्यम सामु खुलेआम भनेका थिए, ‘सलमान खान यहीँ मारिने छन्, जोधपुरमै। त्यसपछि उनलाई हाम्रो वास्तविक पहिचान थाहा हुनेछ।’

गत साता मारिएका नेता सिद्दिकी सलमानका निकट मित्र थिए।

गत वर्षको मार्च महिनामा एउटा न्युज च्यानलले बिश्नोईको अन्तर्वार्ता प्रसारण गर्‍यो। पञ्जाब जेलभित्रका कैदीले कसरी फोन अन्तर्वार्ता दिन भ्याए भनेर उच्च अदालत क्रुद्ध बनेको थियो। जसले अनुसन्धानको आदेश समेत दिएको थियो। तर, त्यो कसरी सम्भव भयो, अझैसम्म खुल्न सकेको छैन।

सरकारी अनुसन्धानकर्ताहरू पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसमेत गरी सो समूहका ७ सय सदस्यको नाइके अझै पनि बिश्नोई नै रहेको दाबी गर्छन्। जो सेलेब्रिटीहरूसँग असुली, लागुऔषध र हतियार तस्करी अनि हत्याजस्ता अपराधमा संलग्न छन्।

उनका साझेदार तथा मुसेवाला हत्याका अर्का आरोपित गोल्डी ब्राडले क्यानडामा बसेर सो समूह चलाइरहेको प्रहरीको दाबी छ। बिश्नोईविरुद्ध ३० मुद्दा छन्। जसमध्ये १९ वटामा अदालतमा सुनुवाइ भइरहेको छ।

‘जेलबाटै उनी आफ्नो ग्याङ सजिलै चलाइरहेका छन्,’ पञ्जाबको एक टास्क फोर्सका वरिष्ठ अधिकारी गुरमित चौहान भन्छन्, ‘यो क्षेत्रका जेलमा बन्द अन्य ग्याङस्टरभन्दा फरक उनको सोच ठूलो देखिन्छ।’

बिश्नोई सम्पन्न परिवारमा जन्मेका थिए। उनको परिवार पञ्जाबस्थित उनको गाउँकै धनी मानिन्थयो। सय एकडभन्दा धेरै जग्गाको माझ बनेको बंगलामा उनको परिवार बस्छ। उनका बुवा पूर्व प्रहरी हुन्। जागिर छाडेर उनी पारिवारिक सम्पत्ति रेखदेखमा लागेका छन् भने आमा गृहणी हुन्। उनीहरूले दुई छोरा, लरेन्स र अनमोललाई हुर्काए। अहिले दुवै मुसेवाला हत्याका प्रमुख आरोपित हुन्।

बिश्नोई कन्भेन्ट स्कुल पढ्थे। आठ कक्षादेखि उनी आफ्नै बाइकमा स्कुल जान्थे। महँगा जुत्ता लगाउँथे। खाँचो परेकाहरूलाई चुपचाप सहयोग गर्ने उनको स्वभाव थियो।

२००८ मा स्कुल पूरा गरेर उनी चण्डीगढस्थित कलेज भर्ना भए। चाँडै उनी विद्यार्थी राजनीतिमा लागे। 

‘उनीसँग पैसा, स्टाइल र हिम्मत सबै थियो,’ चण्डीगढका एक प्रहरी अधिकारीले भनेका छन्।

उनी एक विद्यार्थी संगठनमा लागे र चुनावमा पनि उठे। तर, उनको हार भयो। जसलाई उनले राम्रो मानेनन्।

उनको जिन्दगीको घुम्ती यही भएको प्रहरी बताउँछ। त्यसपछि उनी हिंसातर्फ मोडिए। विद्यार्थी नेताबाट अपराधी बनेकाहरूसँग उनको उठबस हुन थाल्यो। चाँडै नै क्याम्पसमा झडप, आगजनी र गोलीप्रहारजस्ता काण्डमा उनको नाम जोडिन थाल्यो।

बलिउड स्टार सलमान खान र शाहरुख खानको बीचमा बाबा सिद्धिकी

उनको गृहराज्य पञ्जाबमा गुण्डा समूहको जगजगी छ। जसले लागुऔषध र हतियार तस्करी, असुली र पञ्जाबी फिल्म तथा संगीत उद्योगलाई बढावा दिएको छ। पञ्जाबको पप कल्चरमा अपराधीहरू घुलमिल भएको धेरैको आरोप छ।

पञ्जाबी ग्याङस्टरहरू धन कमाउन मात्र अपराध कर्ममा नलाग्ने उनीहरू बताउँछन्। उनीहरूलाई कुख्यात हुने, ‘कोही’ बन्ने लोभले डोर्‍याउने पत्रकार युपिन्दरजित सिंह बताउँछन्। जसले ‘हु किल्ड मुसेवाला’ नामक पुस्तक लेखेका छन्।

चर्चाको यस्तो विकृत भोकको जरा सामन्ती र पितृसत्तात्मक संस्कृतिमा गाडिएको छ। सामाजिक सञ्जालले यसलाई बढावा दिएको छ। थुप्रै ग्याङस्टर आफ्नो विलासी जीवनशैली अनलाइन प्रदर्शन गर्छन्। जहाँ अपराधलाई छिटो पैसा र प्रसिद्धि कमाउने माध्यम मानिन्छ। अवकाशप्राप्त खेलाडीदेखि नवयुवकहरू पनि यही मार्गमा लागेका छन्।

प्रहरीको सेप्टेम्बरसम्मको तथ्यांकअनुसार २०२१ को मध्यदेखि यता ५ सय ग्याङ छिन्नभिन्न पारिको र १४ सयभन्दा बढीलाई पक्राउ गरिएको छ। प्रहरीसँगको झडपमा १६ ग्याङस्टर मारिएका छन् भने ८० जना घाइते भएका छन्। ३ प्रहरी अधिकारीले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार बिश्नोईलाई अदालतले चार मुद्दामा दोषी ठहर गरेको छ। तर, ती कुनै पनि हत्याजस्ता गम्भीर अपराध भने होइनन्।

छोटो दाह्री, हुडी र तिखा आँखा। बिश्नोई साधारण युवा लाग्छन्। तर, उनले आफ्नो छवि व्यवस्थापनमा भने चलाखी देखाएका छन्। एकपटक अदालतमा उपस्थित हुँदा उनले क्रान्तिकारी भगत सिंहको तस्बिर भएको टिसर्ट लगाएका थिए।

जेलमै खिचिएको भनिएको एक भाइरल भिडिओमा उनी भन्छन्, ‘हाम्रो हृदयमा क्रान्तिको लालसा छ। हेरौँ, दुस्मनको शक्ति कति छ।’

उनको निसाना कसका प्रति हो भन्ने चाहिँ स्पष्ट छैन।

बिश्नोईको उदय अरुको भन्दा फरक छ। 

‘जेलमा हुँदा पनि उनले ग्याङ चलाइरहेको देखिन्छ। उनलाई कसले सहयोग गरिरहेको छ? मिडियाको पहुँच पुर्‍याइरहेको छ? अति शक्तिशाली सहयोगीबिना यस्तो नियन्त्रण असम्भव छ,’ सिंह भन्छन्। 

तर उनका बारेमा सुनिएका कुरा कति सत्य हुन्, कति कथा, बुझ्न कठिन छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad