ग्लोबल


हाइड्रोलिक सिस्टम फेल भएपछि एयर इन्डिया एक्सप्रेसको विमान किन घुमिरह्यो आकाशमा?

हाइड्रोलिक सिस्टम फेल भएपछि एयर इन्डिया एक्सप्रेसको विमान किन घुमिरह्यो आकाशमा?

केही वर्षयता बोइङ ७३७ जस्ता विमान प्राविधिक समस्याका कारण दुर्घटना हुने गरेको छ।


नेपालखबर
असोज २६, २०८१ शनिबार १५:३९, काठमाडौँ

शुक्रबार साँझ भारतको तिरुचिरापल्ली (त्रिची) बाट यूएईको शारजाह जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानमा हाइड्रोलिक प्रणालीमा गडबडी हुँदा विमान साढे दुई घण्टासम्म आकाशमा घुमिरह्यो। 

विमान धावनमार्गमा सुरक्षित अवतरण भ एपनि नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यस विषयमा गहिरो अनुसन्धान गर्न आदेश दिएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार साँझ ५:३० बजे तिरुचिरापल्ली एयरपोर्टबाट उडान भरेको केही समयपछि विमानको हाइड्रोलिक प्रणालीमा खराबी आएको थियो। 

विमानलाई सुरक्षित अवतरण गर्न सफल भएकामा पाइलटहरूको प्रशंसा भइरहेको छ र तमिलनाडुका मुख्यमन्त्री र गभर्नरले पनि धन्यवाद दिएका छन्।

एयरलाइन्सका प्रवक्ताका अनुसार १४१ यात्रु बोकेको उक्त विमान तिरुचिरापल्लीबाट साँझ ५:३० मा शारजाहका लागि उडेको थियो र राति ८:१५ बजे सुरक्षित अवतरण गरेको थियो। 

विमान उड्नेबित्तिकै हाइड्रोलिक सिस्टम अर्थात् ल्यान्डिङ गियरमा खराबी भएको पत्ता लागेको थियो।

एयर इन्डियाका प्रवक्ताले भने, “हामी स्पष्ट गर्न चाहन्छौँ कि अपरेटिङ् क्रूले कुनै आपत्‌कालीन घोषणा गरेको थिएन। प्राविधिक गडबडी आएपछि विमान रनवेको लम्बाइलाई ध्यानमा राखी इन्धन र विमानको तौल घटाउन सकोस् भन्नका लागि अत्यन्तै सावधानीपूर्वक निश्चित क्षेत्रमा घुमिरह्यो।"

ल्यान्डिङ गियरमा खराबी

ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण अघि इन्धन घटाउन विमानलाई आकाशमा निकै बेर घुमाइएको थियो।

हाइड्रोलिक प्रणाली वास्तवमा ब्रेक, ल्यान्डिङ गियर र ल्यान्डिङमा प्रयोग हुने अन्य उपकरण नियन्त्रण गर्ने प्रणाली हो।

यसले विमानको ल्यान्डिङ गियर र हावाको चाप परिवर्तन गर्ने पंखालाई नियन्त्रण गर्छ।

एयर इन्डियाका एक प्रवक्ताले यो गडबडीका कारण अनुसन्धान गरिने र यात्रुहरूको अगाडिको यात्राका लागि वैकल्पिक विमानको व्यवस्था गरिएको बताएका छन्। 

नागरिक उड्डयन मन्त्री के राममोहन नायडुले सोसल मिडिया प्लेटफर्म एक्समा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विमानस्थल र आपतकालीन टोली बेलुका ६:०५ बजे पूर्ण आपत्‌काल घोषणा गरेपछि तुरुन्तै सक्रिय भएका थिए।’

‘हाइड्रोलिक विफलताको कारण पत्ता लगाउन राम्ररी अनुसन्धान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ।

पीटीआईले एक वरिष्ठ बोइङ पाइलटलाई उद्धृत गर्दै जनाएअनुसार बोइङ ७३७ जस्ता विमानहरूसँग इन्धन ट्यांकी बाहिर निकाल्ने वा हावामा इन्धन निकाल्ने विकल्प हुँदैन र इन्धन खपत मात्र गर्न सकिन्छ। तसर्थ, यस्तो अवस्थामा विमानले आफ्नो समग्र तौल घटाउन इन्धन बाल्नुपरेको थियो। जसका कारण विमान आकाशमा घुमिरहनुपर्‍यो।

पाइलटले आपत्‌कालीन अवस्थामा बढी तौल लिएर पनि विमान अवतरण गराउन सकिने तर आगलागीजस्ता घटना भएको अवस्थामा मात्रै यस्तो गर्नुपर्ने बताए। 

तर, बोइङ ७७७ र ७८७ जस्ता वाइड बडी विमानमा इन्धन निकाल्ने विकल्प छ।

विमान नम्बर आईएक्स६१३ बोइङ ७३७ थियो। नियमअनुसार सुरक्षाका कारण अवतरणका क्रममा विमानको निश्चित तौल तय गरिएको छ। 

यात्रुलाई सकुशल अवतरण गराएकामा विमानका पाइलटको तारिफ भइरहेको छ।

सोशल मिडिया प्लेटफर्म एक्समा मानिसहरूले पाइलटहरूको बुद्धिमत्ता र साहसको प्रशंसा गरिरहेका छन्।

एक्समा एकजनाले लेखेका छन्, ‘पाइलटको बहादुरीले त्रिचीमा भएको दुर्घटनालाई बचायो। १४० यात्रु बोकेको विमान सुरक्षित अवतरण गराउने बहादुर पाइलटलाई सलाम! पाइलटको असाधारण कौशलले सम्भावित दुर्घटना हुनबाट बचाएको छ।’

तमिलनाडुका मुख्यमन्त्री एमके स्लाटिनले अधिकारीहरूसँग आपत्‌कालीन बैठक गरेको र सबै सुरक्षाका उपाय लागू गर्न निर्देशन दिएको बताएका छन्।

उनले पनि सुरक्षित अवतरणका लागि विमानका क्याप्टेन र चालक दलका सदस्यहरूलाई बधाई दिएका छन्।

उनले एक्समा लेखेका छन्, ‘एयर इन्डिया एक्सप्रेसको उडान सुरक्षित अवतरण भएकामा म खुसी छु। ल्यान्डिङ गियरमा समस्या आएको खबर पाउनासाथ मैले तुरुन्तै फोनमार्फत अधिकारीहरूसँग आकस्मिक बैठक गरेँ र उनीहरूलाई आवश्यक सबै सुरक्षाका उपाय लागू गर्न र घटनास्थलमा फायर ब्रिगेड, एम्बुलेन्स र चिकित्सा सहायता तैनाथ गर्न निर्देशन दिएँ।’

तमिलनाडुका गभर्नर आरएन रविले पनि सुरक्षित अवतरणका लागि पाइलट र कोपाइलटलाई धन्यवाद दिएका छन्।

एक्समा उनले लेखेका छन्, ‘ल्यान्डिङ गियरमा समस्या आएपछि तिरुचिरापल्लीबाट शारजाहको उडान आईएक्स६१३ को सुरक्षित अवतरणका लागि क्याप्टेन र सह-पाइलटलाई धेरै धेरै धन्यवाद। तनावको यो क्षणमा क्याबिन क्रु र ककपिटको व्यावसायिक धैर्य र साहस प्रशंसनीय छ।’

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा सुरक्षित अवतरणपछि विमानस्थलमा उपस्थित मानिसहरू विमानतर्फ दौडेर खुसीयाली मनाउँदै गरेको देखिन्छ।

विमानस्थलबाट बाहिर निस्केका पाइलटलाई मानिसहरूले बधाई तथा धन्यवाद दिइरहेको भिडिओमा देखिएको छ। मानिसहरूले उनीहरूलाई ‘हिरो’ भनिरहेका छन्। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad