ग्लोबल


ती प्रधानमन्त्री, जो नांगै अमेरिकी राष्ट्रपतिलाई भेट्थे

ती प्रधानमन्त्री, जो नांगै अमेरिकी राष्ट्रपतिलाई भेट्थे

नेपालखबर
भदौ १५, २०८१ शनिबार ७:३०,

कूटनीतिक प्रोटोकलका केही सवालहरू अत्यन्तै पेचिला हुन्छन्। केही सवाल सजिला। जस्तै : कसैले अर्को मुलुकका राष्ट्रप्रमुखलाई कपडा लगाएर भेट्ने कि नांगै?

तर, बेलायतका पूर्वप्रधानमन्त्री तथा उटुङ्ग्याइको मामिलामा अगाडि विन्स्टन चर्चिलले सर्वशक्तिमान अमेरिकी राष्ट्रपतिलाई सर्वांग नांगै भेटेका थिए। त्यो पनि ह्वाइट हाउसमै।

दुईजना अमेरिकी राष्ट्रपतिको अतिथि बनेर चर्चिलले निकै प्रभाव पारेका थिए। ह्वाइट हाउसका स्टाफ प्रमुखले स्मरण गरेका छन्, ‘आफ्नो कोठामा दिउँसो अधिकांश समय चर्चिल बिल्कुल कपडा लगाउँदैनथे।’

चर्चिलका अंगरक्षकले डिसेम्बर १९४१ मा उनको पहिलो ह्वाइट हाउस भ्रमणका क्रममा भएको घटना सुनाएका छन्। त्यसबेला अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजबेल्ट प्रधानमन्त्री चर्चिलको कोठाको ढोका ढक्ढक्याउन पुगेका थिए।

‘विन्स्टन चर्चिल पूरै नांगो थिए। एउटा हातमा मदिरा थियो, अर्को हातमा सिगार,’ उनले भनेका छन्।

उनलाई देखेर रुजबेल्ट द्विविधामा परे। केही समयपछि आउने भन्दै फर्किन खोजे। तर, चर्चिलले उनलाई रोके।

‘देख्नुभो राष्ट्रपति महोदय, मसँग लुकाउन केही पनि छैन,’ चर्चिलले भने।

त्यसपछि दुई नेताले एक घण्टा बात मारे।

अमेरिकी आमाबाट जन्मिएका चर्चिल जीवनभर अमेरिका र युरोपबीच गठबन्धन हुनुपर्ने पक्षमा रहे। राष्ट्रपतिको रूपमा रुजबेल्टको तीन कार्यकालमा चर्चिल चारपटक ह्वाइट हाउसको पाहुना भए। यसका अलावा अन्यत्र पनि उनको भेट रुजबेल्टसँग भयो। त्यसपछि ड्वाइट आइजनहावरको पालामा एकपटक उनी ह्वाइट हाउसमा बसे।

समुद्र पार गर्न लाग्ने लामो समय र हैरानीको हिसाब गर्दा पनि उनको भ्रमण एकदमै लामा हुन्थे। उनको पहिलो भ्रमण २२ डिसेम्बर १९४१ देखि १४ जनवरी १९४२ सम्म भएको थियो। त्यसयता सायद कुनै पनि विदेशी पाहुनाले ह्वाइट हाउसमा यति लामो समय बिताएका छैनन्।

चर्चिल क्विन्स बेडरुम भनिने ह्वाइट हाउसको दोस्रो तलामा रहेको सुइटमा बस्थे। उनी सजिलो पाहुना अवश्य थिएनन्। असमयमा काम गर्ने उनको चलन थियो। बिहान सबेरै उनलाई कुरा गर्नुपथ्र्यो। 

प्रथम महिला एलेनर रुजबेल्टले भनेकी थिइन्, ‘चर्चिल बिदा भएपछि मेरो पतिलाई निद्रा पुर्‍याउन अरु कयौँ दिन लाग्थ्यो।’ 

लन्डनमा हवाई हमलाको क्रममा उनले लगाउन सुरु गरेको ‘साइरन सुट’मा चर्चिल खाली खुट्टा ह्वाइट हाउसको हलमा घुम्थे। आफ्नो असाधारण खानपिनका कारण चर्चिलले ह्वाइट हाउसका कर्मचारीको प्रशंसा आर्जेका थिए। 

सिक्रेट सर्भिसका एक अधिकारीले भनेका थिए, ‘चर्चिलले यति शालीनता र उत्साहका साथ ब्रान्डी र स्कच पिउँथे, हामी सबै उनलाई हेरेर ट्वाल्ल पथ्र्यौँ।’

रुजबेल्ट र चर्चिलको काम गर्ने तरिका फरक थियो। राष्ट्रपति रुजबेल्ट जोखिम लिन नरुचाउने, संयमित र गोपनीयता हत्तपत्त नखोल्ने मानिस थिए। प्रधानमन्त्री चर्चिल भने बोल्क्कड, हक्की र सैन्य मामिलामा ज्यादा अनुभवी पनि थिए। 

याल्टा सम्मेलनमा रुजबेल्ट र चर्चिल

जे होस्, उनीहरूको बैठक फलदायी हुन्थे। चर्चिलको पहिलो भ्रमणमा उनीहरूबीच संयुक्त कमान्डको आधार तयार भयो। उनको दोस्रो भ्रमणमा लिबियाको तोब्रुकमा मित्र राष्ट्रहरूको डरलाग्दो हारपछि युरोपमा हुने कारबाहीहरूको योजना बुनियो भने तेस्रो भ्रमणमा नर्म्यान्डी आक्रमणको आधार तयार भयो।

चर्चिलको चौथो भ्रमण भने निकै छोटो थियो। मात्र ३२ घण्टाको। रुजबेल्ट चर्चिललाई छेउ लाउने कोसिसमा थिए। एकपटक त उनले चर्चिलको खिल्ली नै उडाएका थिए। जोसेफ स्टालिनसँग नजिक हुनका लागि उनले यो सबै गरेका थिए।

आइजनहाबरको पालामा चर्चिलको अन्तिम ह्वाइट हाउस भ्रमण निकै दुःखद थियो। चर्चिलमा वृद्धावस्थाको असर देखिन थालेको थियो। विश्वमा बेलायती साम्राज्य र बेलायत दुवैको हैसियत पनि खुम्चिँदो थियो। चर्चिलले आफू, आइजनहावर र स्टालिनका बीचमा शिखर बैठक राख्ने प्रयास गरे। तर, उनी त्यसमा असफल भए। आइजनहावर चर्चिललाई निकै सम्मान गर्थे। त्यसका बाबजुद चर्चिल हिजोका मान्छे भइसकेका थिए।

तैपनि चर्चिलको व्यक्तिगत आकर्षण अझै बाँकी थियो। र, संक्षेपमा भन्नुपर्दा रोबर्ट स्मलको मिस्टर चर्चिल इन द ह्वाइट हाउस पुस्तक काम सफल पार्ने राजनीतिक गुणहरूको चलाखीपूर्ण उपयोगको एउटा केस स्टडी हो।

चर्चिल जान्दथे, कतिबेला धक्का दिने, कतिबेला चिप्लो घस्ने, कतिबेला नेतृत्व गर्ने, कतिबेला पछि लाग्ने। कम्तीमा पछ्याइरहेको आभास दिने। कसरी मानिसलाई आकर्षित गर्ने र कसरी प्रेरित गर्ने, उनलाई थाहा थियो।

राम्रो प्रचारको मूल्य पनि उनलाई थाहा थियो। रुजबेल्ट र आइजनहावरको बारेमा आफ्नो असली विचार जेसुकै होस्, दुनियाँलाई उनीहरू मेरा राम्रा मित्र हुन् भन्नुमा चर्चिललाई फाइदा थियो। त्यसैले प्रेस र पब्लिकमा उनले त्यही प्रचार गरे। 

यसले ती राष्ट्रपतिहरूलाई उनको पक्षमा राख्ने काम त गर्‍यो नै, कुनै अखबारले भनेजस्तो ‘मोटो सिगार पिउने यी गोलोमोल मान्छे’लाई अमेरिकाभर निकै लोकप्रिय पनि बनायो। त्यो लोकप्रियता अझै कायम छ। उनले ह्वाइट हाउस भ्रमण गरेको ८० वर्षपछि पनि अमेरिकी इतिहासकारहरूले उनका बारेमा पुस्तक लेखिरहेकै छन्।

(दि इकोनोमिस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad