ad ad

ग्लोबल


इजरायलमा हिजबुल्लाहले हमला गर्दा इरान खुसी

इजरायलमा हिजबुल्लाहले हमला गर्दा इरान खुसी

नेपालखबर
भदौ ११, २०८१ मंगलबार ८:४५, तेहरान

इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ।

इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ।

हिजबुल्लाह नेता हसन नसरल्लाहले आइतबार तेहरान समर्थित समूहले ‘गिलोट बेस-मुख्य इजरायली सैन्य गुप्तचर आधार’लाई निशाना बनाउँदै इजरायलमाथि ठूलो मात्रामा आक्रमण गरेको बताएका थिए। 

इजरायली सेनाले प्रतिष्ठानमा कुनै प्रहार नभएको बताएको छ।

‘यहुदी शासन लेबनानी हिजबुल्लाह अभियानका सम्बन्धमा केही तथ्यलाई लुकाउन, विकृत गर्न वा सेन्सर गर्न सक्षम हुनसक्छ तर विद्यमान तथ्य परिवर्तन हुँदैन भन्ने उसलाई राम्ररी थाहा छ’, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘इजरायली आतंकवादी सेनाले आफ्नो प्रभावकारी आक्रमण र निवारक शक्ति गुमाएको छ र अब उसले रणनीतिक आक्रमणहरू विरुद्ध आफ्नो रक्षा गर्नुपर्दछ।’

कनानीले हिजबुल्लाहको आक्रमण ‘कब्जा गरिएका क्षेत्रहरूमा गहिराइसम्म फैलिएको’ र इजरायलको क्षतिका लागि ‘रणनीतिक सन्तुलनमा आधारभूत परिवर्तन’ भएको बताए। 

उनले इजरायलका लागि ‘व्यापक’ समर्थन गरेकामा संयुक्त राज्य अमेरिकाको पनि आलोचना गरे। अमेरिका हिजबुल्लाहको कार्यका लागि ‘समय र स्थानको भविष्यवाणी’ गर्न असफल भएको थियो। 

संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आइतबार उक्त आक्रमणको तुलना हिजबुल्लाहसँग सन् २००६ को युद्धमा इजरायली सेनाको ‘हार’सँग गरे। ‘इजरायली शासनको आजको हार सन् २००६ को अपरेसनमा हारजत्तिकै थियो र उसले यो हारलाई लुकाउन सक्तैन’, उनले एक्समा पोस्ट गरे। 

इजरायलले आइतबार लेबनानमा हवाई आक्रमण गरेको भन्दै हिजबुल्लाहका ‘हजारौँ’ रकेट लन्चरलाई नष्ट गरेको र ठूलो आक्रमणलाई विफल बनाएको बताएको छ। 

टेलिभिजनमा प्रसारित सम्बोधनमा नसरल्लाहले आफ्नो समूहले दुई चरणमा आक्रमण गरेको बताए। पहिलो उत्तरी इजरायल र ११ सैन्य स्थानमा र गोलान हाइट्समा ‘२४० कत्युशा रकेट’ प्रक्षेपण गरिएको थियो। 

अक्टोबर ७ मा प्यालेस्टिनी सहयोगी हमासको आक्रमणसँगै गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाह लडाकुहरूले इजरायलसँग सीमापार दैनिक गोलीबारी गरेका छन्। 

तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हानिया र बेरुतमा हिजबुल्लाहका कमान्डर फआद शुक्रको हत्यापछि व्यापक क्षेत्रीय द्वन्द्वको त्रास बढेको छ। 

इरान र उसको सहयोगी हमास तथा हिजबुल्लाहले दुवै हत्यामा इजरायलको हात रहेको आरोप लगाएका छन् र बदला लिने वाचा गरेका छन्। 

इजरायलले हानियाको हत्याप्रति कुनै टिप्पणी गरेको छैन तर शुक्रमाथि आक्रमण गरेको पुष्टि गरेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .