ad ad

ग्लोबल


तालिबानद्वारा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

रगत वा विवाहको नाता नभएका पुरुषलाई हेर्न नपाइने!
तालिबानद्वारा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

फाइल फाेटाे : अफगानिस्तानमा पूरै शरीर ढाकेर लुगा लगाएका महिला।


नेपालखबर
भदौ ८, २०८१ शनिबार १७:२३, काबुल

तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ। यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ।

अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले बुधबार नयाँ कानुन जारी गरेको हो।

एक सय १४ पृष्ठको कानुनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ।

मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले बिहीबार भने, ‘हामी आश्वासन दिन्छौँ कि यो इस्लामिक कानुनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ।’

दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनु पर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानुनले जनाएको छ।

महिलाले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटी मात्र ढाक्छ अब नयँ कानुनअनुसार स्वीकार्य नभएको ग्लोबल न्युजले जनाएको छ।

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानुनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ। 

महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ।

यी नियमहरू उल्लंघन गर्दा सजायस्वरूप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ। मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लंघनका लागि हजारौँलाई हिरासतमा लिएको छ।

ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भने, ‘यी नियमहरू पहिले नै थिए तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ। मलाई लाग्छ- यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको संकेत हो, दमनको क्रमिक वृद्धि हो।’

तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाएको छ। सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौँ कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो।

त्यसैगरी सन् २०२२  मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको थियो। ग्लोबल न्युजसँग कुरा गर्ने एक महिलाले एनजीओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताएकी छन्। 

‘म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ। हामी परिवारमा चार जना मात्रै छौँ- म, मेरी बहिनी र मेरा आमाबाबु। मेरो बुबा अहिले बिरामी हुनुहुन्छ। हामीलाई बिहान बेलुका खान पनि समस्या छ’, उनले भनिन्। 

महिलाविरुद्ध लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित कानुनले संगीत बजाउन पनि निषेध गरेको छ। यसले  पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ। यस कानुनले चालकहरूलाई पुरुष अभिभावकबिना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ।

गत महिना संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको संकेत गरेको थियो। 

तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .