रुसको कुर्स्क क्षेत्रमा सीमाबाट ३० किलोमिटर भित्र पसेर आक्रमण गरिरहेको युक्रेनले दक्षिणतर्फको बेल्गोरोद क्षेत्रमा पनि आक्रमण सुरु गरेको छ।
सो क्षेत्रका गभर्नर वाचेस्लाव ग्लाद्कोवले सेबेकिन्स्की जिल्लाको सेबेकिनो सहरमा आक्रमण भएको जनाएका छन्।
बेल्गोरोद क्षेत्रकै क्रास्नोयारुज्स्की जिल्लाका बासिन्दालाई अन्यत्र सार्न थालिएको छ। ५ सयजनालाई छाडेर अरुले स्थानान्तरण गरिएको जिल्ला प्रशासन प्रमुख आन्द्रेइ मिस्कोवले जनाएका छन्।
सो समग्र क्षेत्र क्षेप्यास्त्र आक्रमणको जोखिममा रहेको बताइएको छ। बेल्गोरोद कुर्स्क क्षेत्रसँगै पर्छ।
कुर्स्कमा गत मंगलबार हजारौँ युक्रेनी सैनिक प्रवेश गरेका थिए। रुसले साता दिन पुग्न लाग्दा पनि युक्रेनी सेनालाई लखेट्न सकेको छैन।
राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा क्षेत्रबाट युक्रेनी सेनालाई तत्काल लखेट्नुपर्ने बताएका छन्।
थिंक ट्यांक स्टडी अफ वारले कुर्स्कको आक्रमणले गत वर्षयता पहिलोपटक युक्रेनलाई लडाइँको पहदकदमी दिलाएको विश्लेषण गरेको छ।
सो क्षेत्रबाट झण्डै ८० हजार मानिसलाई स्थानान्तरण गरिएको छ।
‘रुसीहरु नराम्ररी लज्जित भएका छन्। यत्रो भूमि गुमाउँदा र सर्वसाधारणलाई स्थानान्तरण गर्दाको सन्देश राम्रो जानेछैन,’ बेलायतस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका म्याथ्यु सेभिल भन्छन्, ‘तर, उनीहरुले यो आक्रमण महिनौँ कायम राख्न सक्ने छैनन्।’ एजेन्सी
Shares
प्रतिक्रिया