ad ad

ग्लोबल


इजरायलको आपत्तिपछि एडिडासले यी मोडललाई हटायो आफ्नो जुत्ताको विज्ञापनबाट

इजरायलको आपत्तिपछि एडिडासले यी मोडललाई हटायो आफ्नो जुत्ताको विज्ञापनबाट

मोडल बेला हदिद


नेपालखबर
साउन ६, २०८१ आइतबार ७:३, काठमाडौँ

इजरायलको आलोचनापछि खेलकुदका कपडा र जुत्ता बनाउने चर्चित कम्पनी एडिडासले बेला हदिदलाई आफ्नो जुत्ताको विज्ञापनबाट हटाएको छ।

चर्चित मोडल बेला हदिद अरब मूलकी अमेरिकी नागरिक हुन्। उनका बुबा मोहम्मद अनवर हदिद भने प्यालेस्टिनी हुन्।

जर्मन कम्पनी एडिडासले एसएल७२ ट्रेनर्स नामक रेट्रो स्पोर्ट्स जुत्ता प्रवर्द्धन गर्न बेलासँग सम्झौता गरेको थियो।

यी जुत्ता पहिलोपटक १९७२ मा लन्च गरिएका थिए, जतिबेला १९७२ म्युनिख ओलम्पिक सुरु भएको थियो। कम्पनीले भर्खरै एसएल७२ ट्रेनर्स जुत्ता पुनः लन्च गरेको थियो।

यसमा इजरायलले आपत्ति जनाउँदै एक्समा लेखेको छ, ‘सोच्नुहोस्, यो अभियानको अनुहार को हो? बेला हदिद आफैँ आधा प्यालेस्टिनी मोडल हुन्। उनीसँग इजरायली र यहुदीविरुद्ध हिंसाका लागि आह्वान गर्ने इतिहास छ।’

इजरायलले अगाडि लेखेको छ, ‘एडिडासले सन् १९७२ को ओलम्पिक खेलकुदको सम्झनामा जुत्ताको नयाँ अभियान सुरु गरेको छ। प्यालेस्टिनी आतंककारीहरूले यी खेलमा ११ इजरायलीको हत्या गरेका थिए।’ 

इजरायलले हदिद प्यालेस्टाइनको समर्थक भएको र गाजामा राहत कार्यका लागि यस वर्ष पैसा पनि सहयोग गरेको भन्दै यो विज्ञापनको लागि उनको छनोट ठीक नभएको बताएको छ।

यसपछि एडिडासले माफी माग्दै यसको विज्ञापनको बाँकी भागमा ‘पुनः काम’ गर्ने बताएको छ।

एडिडास कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो ऐतिहासिक घटनासँग जोडिएको कुरा हामीले बुझेका छौँ। त्यसो गर्ने कुनै नियत थिएन र यसबाट पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .