अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानिएको घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
ओभल अफिसबाट १० मिनेटभन्दा कमको सम्बोधनमा उनले पूर्वराष्ट्रपति ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन्।
उनले यस आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, ‘हामी यो बाटोमा जान सक्दैनौँ। यसमा हामी जान पनि हुँदैन। हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौँ।’
सम्बोधनका क्रममा बाइडेनले राष्ट्रिय एकतामा जोड दिँदै अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो युगमा ‘शान्त’ बस्ने समय आएको बताए।
गत शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पलाई गोली हानिएको थियो। गोलीले उनको दाहिने कानमा चोट लागेको छ।
Shares

प्रतिक्रिया