ad ad

ग्लोबल


ठाउँ छाड्ने दबाबबीच बाइडेनको जवाफ : काम कसरी गर्नुपर्छ, मलाई थाहा छ

ठाउँ छाड्ने दबाबबीच बाइडेनको जवाफ : काम कसरी गर्नुपर्छ, मलाई थाहा छ

नेपालखबर
असार १५, २०८१ शनिबार १९:८,

बिहीबार रातिको अनिष्टकारी बहसपछि आउँदो चुनाव नलड्न अमेरिकी राष्ट्रपति जो बाइडेन दबाबमा परेका छन्। उनकै डेमोक्र्याटिक पार्टीका कतिपय नेताहरुले उनलाई प्रतिस्पर्धा त्याग्न आग्रह गरेका छन्।

तर, उनले प्रतिस्पर्धामा आफू रहनेमा जोड दिएका छन्। शुक्रबार नर्थ क्यारोलाइना पुगेका बाइडेनले भने, ‘मलाई थाहा छ, म युवा होइन। म पहिलेजसरी सजिलोगरी हिँड्न सक्दिनँ। पहिलेजसरी बहस पनि गर्न सक्दिनँ।’

‘तर, मलाई थाहा छ, सत्य कसरी बोल्ने। यो काम कसरी गर्ने, मलाई थाहा छ। जब तपाईंलाई ठक्कर लाग्छ, तपाईं उठ्नुपर्छ,’ उनले थपे।

बिहीबारको बहसपछि उनको पार्टीमा बाइडेनले ट्रम्पलाई हराउन नसक्ने चिन्ता थपिएको छ। 

‘यसभन्दा ठूलो प्रलय त्यतिबेला मात्रै हुन्थ्यो, जब उनी मञ्चबाटै ढल्थे। ठूला दाताहरु भनिरहेका छन्, उनी हट्नुपर्छ भनेर,’ एक डेमोक्र्याट नेताको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ, ‘उनी प्रतिस्पर्धामा रहे भने नोभेम्बरसम्म हामीले उनलाई जबर्जस्ती बोक्नुपर्ने हुन्छ।’

सो पार्टीका सांसद, दाता र पार्टीका भित्रियाहरु बाइडेनको प्रस्तुतिपछि त्रसित् भएका छन्। बहसमा बाइडेनले शब्द उच्चारण गर्न सकेनन्, जवाफ दिँदा बडबडाए र कतिपय बेला उनको ध्यान टुटिरहेको देखिन्थ्यो।

सीएनएनमा प्रसारित बहस ४ करोड ८० लाख मानिसले हेरे भने थप ३ करोडले स्ट्रिमिङ गरे। यो बहस ट्रम्पभन्दा आफू अब्बल छु भनेर साबित गर्ने मौका थियो उनका लागि। तर, त्यसो भएन।

बाइडेनले प्रतिस्पर्धा छाड्नुपर्ने आवाज उठिरहेका बेला उनको विकल्पको खोजी पनि सुरु भएको छ। 

ती विकल्पहरुको शीर्षमा छिन् उपराष्ट्रपति कमला ह्यारिस। तर, ५९ वर्षीया ह्यारिस लोकप्रिय छैनन्। त्यसैले उनले जित्ने सम्भावना न्यून देखिएको विश्लेषकहरुको भनाइ छ।

त्यस्तै, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम अर्का सम्भावित उम्मेदवार हुन्। उनले आफूलाई २०२८ को चुनावको उम्मेदवारका रुपमा अघि बढाइरहेको बताइन्छ। उनी ५६ वर्षका छन्।

त्यस्तै, पेन्सलभेनियाका गभर्नर जोस सापिरो, मिसिगनकी गभर्नर ग्रेचेन विटमर र इलिनोइका गभर्नर जेबी प्रिट्जकरलाई पनि सम्भावित विकल्पका रुपमा हेरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .