अफ्रिकी मुलुक नाइजरमा अमेरिकी सैनिकहरू तैनाथ सैन्य शिविरमै रुसी सैनिकहरू पनि तैनाथ भएका छन्। केही सातायता अमेरिकी र रुसी सैनिक एकै स्थानमा तैनाथ भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
नाइजरका सैन्य शासकले अमेरिकी सैनिकलाई आफ्नो मुलुकबाट हट्न आदेश दिएपछि रुसी सेना त्यहाँ पुगेको थियो। इस्लामिक अतिवादी समूह नियन्त्रणका लागि भन्दै अमेरिकी सेना त्यहाँ बसिरहेको छ।
नाइजर पश्चिम अफ्रिकी मुलुक हो। अहिले इस्लामिक स्टेट समूहको गतिविधिको केन्द्र यही क्षेत्र रहँदै आएको छ।
राजधानी नियामेस्थिति अन्तर्राष्ट्रिय विमानस्थलसँगैको एयरबेस १०१ मा सैन्य अखडा राखेर अमेरिकाले सो क्षेत्रमा इस्लामिक स्टेटको गतिविधि निगरानी गरिरहेको थियो। तर, गत वर्ष सैन्य कू भएपछि अमेरिकाले सैन्य सरकारको आलोचना ग¥यो।
त्यसपछि अमेरिकासँग नाइजरको सम्बन्ध तिक्त हुँदै गएको छ। अमेरिकाको सट्टा नाइजरले रुससँग सैन्य सहयोग माग्यो। त्यसपछि रुसले एयरबेस १०१ मै सैनिक पठाएको हो। जसले स्थानीय सेनालाई तालिम दिने बताइएको छ।
रुसी सैनिकहरू अमेरिकी सैन्य टुकडी रहेको स्थाननजिकै बसेका छन्। त्यहाँ कति संख्यामा अमेरिकी सैनिक छन् र कति रुसी आएका हुन्, स्पष्ट छैन।
नजिकै भए पनि रुसी सेनाको उपस्थितिले अमेरिकी सेनालाई कुनै खतरा पैदा नगरेको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले बताएका छन्।
‘रुसीहरू अलग कम्पाउन्डमा छन्। हाम्रो सैनिक भएको ठाउँमा वा हाम्रो सामानमा उनीहरूको पहुँच छैन,’ अस्टिनले भने।
मार्चमा नाइजरले अमेरिकी सेनालाई देश छाड्न आदेश दिएको थियो। तर, अहिले पनि अमेरिकी सेनाले नाइजर छाडेको छैन।
आफ्नो सट्टा रुसी सेना बोलाएकोमा अमेरिकाले आपत्ति जनाउन थालेको सो मुलुकका सैन्य प्रवक्ताले बताएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया