ad ad

ग्लोबल


चीनको नजरमा बाइडेन र ट्रम्प दुवै ‘विषका कचौरा’, कम खराब विकल्प छान्न सकस

चीनको नजरमा बाइडेन र ट्रम्प दुवै ‘विषका कचौरा’, कम खराब विकल्प छान्न सकस

नेपालखबर
माघ १६, २०८० मंगलबार १९:४१,

अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिँदै छ। डोनाल्ड ट्रम्प र जो बाइडेनबीच पुनः प्रतिस्पर्धा हुने पक्काजस्तै छ। यो प्रतिस्पर्धालाई चीनले असजिलो नजरले हेरिरहेको छ।

पहिलो कुरा, यी नेताका चुनावी अभियानप्रति नै चीनलाई चासो छ। जसमा तिनले चीनबारे कठोर अभिव्यक्ति दिने सम्भावना छ। त्यसले पछिल्ला महिना अमेरिका–चीन सम्बन्धमा आएको अलिअलि सुधारलाई पनि जोखिममा पार्न सक्छ।

त्यसपछि नोभेम्बरको चुनावी नतिजाको चिन्ता छ। बेइजिङका लागि यी दुवै उम्मेदवार आकर्षक होइनन्। बाइडेनले चीनसँग सहकार्यका क्षेत्रहरूको खोजी गरेका छन्। तर, उनले इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध आफ्ना सहयोगीहरूलाई एकताबद्ध गर्ने प्रयास गरे। यसप्रति चीन चिन्तित छ। त्यस्तै बाइडेनले पटकपटक चीनले आक्रमण गरेको खण्डमा ताइवानको रक्षाका लागि सेना खटाउने अभिव्यक्ति दिएर चीनलाई तर्साएका छन्।

ट्रम्प ताइवानको रक्षामा उत्रिन हिच्किचाउन सक्छन्। तर, चीनप्रति उग्र अभिव्यक्ति दिँदै आएका उनको कुनै भर छैन। उनले व्यापार युद्धलाई पनि थप चर्काउन सक्छन्। उनको अघिल्लो कार्यकालमा सुरु भएको व्यापार युद्ध अझै थामिएको छैन।

‘अमेरिकाको राष्ट्रपतीय चुनाव जोसुकैले जितोस्, चीनका लागि ती दुवै ‘विषका कचौरा’ हुन्,’ सांघाइस्थित फुदान युनिभर्सिटीका प्राध्यापक चाओ मिङहाओ भन्छन्।

सम्बन्धमा अलिअलि सुधार आए पनि यी दुई मुलुकबीच तनाव उच्च छ, खासगरी ताइवानका विषयमा। ह्वाइट हाउसमा को आउँछ भन्ने अमेरिका–चीन सम्बन्धमा मात्रै होइन, समग्र एसिया-प्रशान्त क्षेत्रको शान्तिका लागि पनि निकै महत्त्वपूर्ण छ।

दुवै देशका अरू थुप्रै विश्लेषकले पनि चाओकै दृष्टिकोण प्रस्तुत गरे। उनीहरूको भनाइमा चीनका लागि ट्रम्पभन्दा बाइडेन कम खराब विकल्प हुन्। किनभने, ट्रम्प अनुमान लगाउनै नसकिने छन्। तर, चीनको प्रतिकार गर्न बाइडेनले अन्य मुलुकसँग साझेदारी गर्न सफल भएकामा चीन निकै तड्पिने गरेको पनि उनीहरूले उल्लेख गरे।

‘राष्ट्रपति जो बने पनि त्यसले चीनसँग अमेरिकाको रणनीतिक प्रतिस्पर्धाको समग्र दिशालाई बदल्ने छैन,’ सिङ्हुवा युनिभर्सिटीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी एन्ड स्ट्राटेजीका अध्येता सुन चेङहाओ भन्छन्, ‘यो चुनावमा चीनको कुनै रोजाइ छैन। किनभने दुवैसँग चीनले चारचार वर्ष काम गरिसकेको छ।’

चिनियाँ सामाजिक सञ्जालमा भने थुप्रै टिप्पणीकारले ट्रम्पको पक्ष लिएका छन्। जसलाई उनीहरू सम्झौता गर्न तयार व्यवसायी मात्र होइन, अमेरिकी लोकतन्त्र र विश्वमा अमेरिकाको नेतृत्वलाई कमजोर पार्ने शक्ति पनि मान्छन्। जसले चीनलाई फाइदा पुग्छ, 

राष्ट्रपतिका रूपमा ट्रम्पका नीति र अभिव्यक्तिका कारण चिनियाँहरूले उनलाई उपनाम दिएका छन्, ‘चुआन चियाकुओ’, अर्थात् (चिनियाँ) राष्ट्रनिर्माता। उनले बेइजिङलाई सहयोग पुर्‍याएको अर्थमा यो उपनाम दिइएको हो।

हालै ट्रम्पले ताइवानले अमेरिकाबाट चिप निर्माण उद्योग खोसेको आरोप लगाए। यसलाई पनि चिनियाँहरूले उनी ताइवानको रक्षामा नउत्रिने संकेतका रूपमा लिएका छन्।

‘ट्रम्प हुँदा अमेरिका–चीन सम्बन्धका लागि ठाउँ छैन। ट्रम्प ठूलो खतरा र अनिश्चितता हुन्। सैन्य द्वन्द्वको खतरा समेत रहन्छ,’ वासिङ्टनस्थित स्टिमसन सेन्टरका चाइना प्रोग्राम निर्देशक सुन युन भन्छिन्।

सन् २०२० चुनाव जित्न ट्रम्पले ताइवानमा आक्रमण गर्नेमा चीन विश्वस्त भइसकेको पनि उनले उल्लेख गरिन्।

‘ट्रम्पबाट केही फाइदा हुन सक्छ किनभने उनले गठबन्धन र साझेदारी तोड्न सक्छन्, अमेरिकी नेतृत्वमा बाँकी विश्वको विश्वास डगमगाउन सक्छ, तर त्यो फाइदा ट्रम्पले चीनसँगको सम्बन्धमा गर्ने क्षतिभन्दा ठूलो हुने छैन,’ उनी भन्छिन्। 

ट्रम्पले ताइवानको राष्ट्रपतिलाई २०१६ मा बधाई दिएर बेइजिङलाई आक्रोशित तुल्याएका थिए। २०१७ मा सम्बन्ध ठाउँमा आएको थियो। त्यतिबेला राष्ट्रपति सी फ्लोरिडास्थित ट्रम्पको घर पुगे। ६ महिनापछि उनले ट्रम्पलाई बेइजिङमा स्वागत गरे।

तर, २०१८ मा ट्रम्पले चिनियाँ आयातमा कर थोपरेर व्यापार युद्ध सुरु गरे। चीनले पनि जस्ताको तस्तै कदम चाल्यो। जुन कर आजसम्म पनि कायम छन्।

२०२० मा चीनमा कोभिड १९ सुरु भएपछि त ट्रम्पसँग चीनको सम्बन्ध फेरि सामान्य बन्न नसक्ने विन्दुमा पुग्यो। 

२०२० को चुनावमा बेइजिङले ट्रम्प पुननिर्वाचित नहोऊन् भन्ने चाहेको तर हस्तक्षेप नगरेको अमेरिकी गुप्तचर एजेन्सीहरुले बताएका थिए। 

आउँदो चुनावमा पनि चीनले कुनै हस्तक्षेप गर्ने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ। 

निर्वाचित भएपछि बाइडेनले ट्रम्पकै चीन नीतिलाई निरन्तरता दिए। उनले कर मात्र कायम राखेनन्, आधुनिक प्रविधिमा चिनियाँ कम्पनीहरुको पहुँचलाई पनि रोके, चिनियाँ अधिकारीहरुलाई प्रतिबन्ध लगाए।

बाइडेनका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले २०२२ मा चीनलाई ‘अन्तर्राष्ट्रिय व्यवस्थाको सबैभन्दा गम्भीर दीर्घकालीन चुनौती’ भने।

२०२३ को सुरुमा अमेरिकाले चिनियाँ जासुसी बेलुन खसाएपछि तनाव चुलियो। बाइडेन र सीबीच वार्ता गराउन महिनौँ प्रयत्न गर्नुप¥यो।

हड्सन इन्स्टिच्युटस्थित चाइना सेन्टरका निर्देशक माइल्स यु चीनप्रति अमेरिकाका दुवै पार्टीबीच एकमत रहेको बताउँछन्। त्यसको जवाफमा चीनले पनि नयाँ अमेरिका नीति तयार पारेको उनको भनाइ छ।

‘बिरालो कालो होस् या सेतो, बिरालो अमेरिकी हो भने त्यो खराब हो,’ बजार सुधारका विषयमा चिनियाँ नेता तेङ स्याओपिङको भनाइ सापटी लिँदै उनले भने।

तर, कयौँ विश्लेषक भने अलिकति भए चीनले बाइडेनलाई चाहेको बताए। 

‘ट्रम्प स्वभावले नै अस्थिर र क्रुर छन्। जोसँग परिचित हुन कठिन छ,’ रेनमिन युनिभर्सिटीका प्राध्यापक सी यिनहोङ भन्छन्। 

बाइडेन निर्वाचित भए चीनप्रति अमेरिकी नीति कायम रहने भए पनि चीन आफूप्रति ट्रम्पको सनक झेल्न तयार नहुने उनको भनाइ छ।

सोही विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका निर्देश वाङ यिवेइ पनि विश्वव्यापी गठबन्धन निर्माण गर्ने बाइडेनको कोसिसभन्दा पनि विश्वव्यापीकरणप्रति ट्रम्पको शत्रुताबाट चीन ज्यादा चिन्तित भएको बताउँछन्।

‘यी दुईमध्ये कुनै एक चीनका लागि राम्रा होलान् भन्ने अपेक्षा हामी गर्दैनौँ। तर, चीनका लागि मुख्य कुरा भनेको खुलापन र सुधार तथा गुणस्तरीय विकासलाई निरन्तरता दिनु हो,’ उनी भन्छन्।

तर, बेइजिका पुराना विश्लेषक सी सुसी चीनका लागि ट्रम्पलाई सम्हाल्न सजिलो हुने बताउँछन्। 

‘बाइडेनको कठोरता चिनियाँहरुले बुझ्दैनन्,’ उनी भन्छन्, ‘उनी संस्थापनका राजनीतिकर्मी हुन्। उनी अमेरिकी मूल्यमान्यताका रक्षक हुन्। उनी चीनलाई रोक्न आफ्ना मित्र–मण्डली कूटनीतिमा सक्रिय भए। यो कोणबाट हेर्दा म सीधै भन्न सक्छु, बाइडेनलाई झेल्न बढी कठिन छ।’ एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .