ad ad

ग्लोबल


मेरो सफलताको एउटै मन्त्र छ– राष्ट्र पहिले : नरेन्द्र मोदी (अन्तर्वार्ता)

‘२०२४ मा पनि जनताको स्वाभाविक रोजाइ भाजपा नै हो’
मेरो सफलताको एउटै मन्त्र छ– राष्ट्र पहिले : नरेन्द्र मोदी (अन्तर्वार्ता)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– हामीले राष्ट्रको गुप्त क्षमता उजागर गरेका छौँ, यो समय भारतको हो (तस्बिरः इन्डिया टुडे)


नेपालखबर
पुस १६, २०८० सोमबार २२:४,

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी २००१ मा गृहप्रदेश गुजरातको मुख्यमन्त्री बने। त्यसयता २२ वर्षदेखि उनी निरन्तर प्रदेश र केन्द्र सरकारको नेतृत्व गरिरहेका छन्। २०१४ को निर्वाचनमा भाजपालाई बहुमत दिलाएर प्रधानमन्त्री बनेका मोदी २०२४ को निर्वाचन पनि जितेर तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् ७३ वर्षको उमेरमा। मोदी भारतलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्र र १००औँ स्वतन्त्रता दिवस (२०४७) सम्म विकसित राष्ट्र बनाउने मिसनमा रहेको बताउँछन्। मोदी भन्छन्– ‘हामीले राष्ट्रको गुप्त क्षमता उजागर गरेका छौँ, यो समय भारतको हो।’

खुला सीमा र आर्थिक–सामाजिक सामिप्यताले नेपाल–भारत सम्बन्ध विशेष रहँदै आएको परिवेशमा मोदीजस्ता शक्तिशाली नेता र उनले नेतृत्व गर्ने भारत सरकारको नीतिबाट नेपाल प्रभावित रहँदै आएको छ। यस सन्दर्भमा इन्डिया टुडेमा आइतबार प्रकाशित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष अन्तर्वार्ता भावानुवाद गरेका छौँ–सम्पादक।

***

नयाँ दिल्लीको ७ लोककल्याण मार्गस्थित भारतीय प्रधानमन्त्रीको सरकारी निवासमा नरेन्द्र मोदी बस्न थालेयता यसमा प्रभावशाली बदलाव आएको छ। स्तम्भयुक्त प्रवेश द्वारबाट भित्र पसेपछि बैठक कक्षहरुको लामो करिडोर छ। प्रधानमन्त्रीको अध्ययन कक्षमा रहेका मयुर र चराहरुको दुई पेन्टिङले सो कक्षको शोभा बढाउँछन्। उनको डेस्क ठूलो छ, जहाँ कुनै कागजात छैनन्। छेउको टेबलमा एउटा कम्प्युटर छ। २६ डिसेम्बरमा उनी पित्तलको बटन भएको हरियो खाकी ज्याकेट लगाएर इन्डिया टुडेका अध्यक्ष तथा प्रधानसम्पादक अरुण पुरी, उपाध्यक्ष कल्ली पुरी र ग्रुप एडिटोरियल डाइरेक्टर राज चेंगप्पासँग साक्षात्कारका लागि बसेका थिए। 

एक घण्टा लामो अन्तर्क्रियामा प्रधानमन्त्री अनेक घरेलु र अन्तर्राष्ट्रिय मामिलामा जोसिलो तरिकाले बोले। यसअघि नै पठाइएको प्रश्नको लिखित जवाफ पनि उनले दिए। यो अन्तर्वार्ता उनको मौखिक र लिखित जवाफको मिश्रण हो।

प्रधानमन्त्रीज्यू, इन्डिया टुटेको न्युजमेकर अफ द इयर २०२३ बन्नुभएकोमा बधाई! तपाईंलाई कस्तो लाग्दैछ?
यो सम्मानका लागि धन्यवाद। मेरा लागि त यो वर्ष थुप्रै न्युजमेकर रहे। हाम्रा किसानहरु, जसले कीर्तिमानी मात्रामा कृषि उत्पादन गरिरहेका छन् र विश्वभर कोदो क्रान्ति ल्याउँदैछन्। हाम्रा ती मानिसहरु, जसले जी२० सफल पारे। हाम्रा विश्वकर्माहरु जसले आफ्नो सिपद्वारा सफलताको मार्ग कोरिरहेका छन्। हाम्रा खेलाडीहरु, जसले हामीलाई एसियन गेम्स, एसियन पारा गेम्स र अन्य प्रतियोगितामा गौरवान्वित तुल्याए। हाम्रा युवाहरु, जसले स्टार्टअप र विज्ञानको क्षेत्रमा नयाँ रेकर्ड कायम गरिरहेका छन्। हाम्रो नारी शक्ति, जसले हरेक क्षेत्रमा नयाँ सीमा छोइरहेका छन्, खासगरी यतिबेला महिला नेतृत्वमा भइरहेको विकासका माध्यमबाट सशक्तिकरणको नयाँ कथा लेखिँदैछ। कयौँ वर्षदेखि मुलुकका जनताको सेवा गर्ने सौभाग्य मैले पाएको छु। यो अवधिमा हामीले थुप्रै सफलताका साथ चुनौती पनि देखेका छौँ।

कस्ता चुनौती?
२०२३ मा भारतको तीव्र उन्नति निकै महत्वपूर्ण रह्यो किनभने यसले विकसित भारतसम्मको हाम्रो यात्राको दिशा तय गर्छ। हामीले राष्ट्रको गुप्त क्षमता उजागर गरेका छौँ। विश्वमञ्चहरुमा भारतको उपस्थिति र योगदानको खोजी हुन थालेको छ। पहिले पछाडि छुटेको महसुस गर्ने देशबाट हामी अगाडिबाट नेतृत्व गरिरहेको देश बनेका छौँ। विभिन्न मञ्चमा आवाज खोजी गर्ने देशबाट हामी नयाँ विश्व मञ्च निर्माण गर्ने र नेतृत्व गर्ने देश बनेका छौँ। आज विश्वका सबै एकमत छन्ः यो समय भारतको हो।

२०२३ लाई पछि फर्केर हेर्दा तपाईं सन्तुष्ट हुनुहुन्छ? के यो वर्ष मुलुक र तपाईंका लागि टर्निङ पोइन्ट बन्यो?
एक वर्षलाई हेरेर मेरो यात्राको मूल्यांकन गर्दा सही तस्बिर नदेखिन सक्छ। किनभने मेरो भिजन र योजना एकपछि अर्को गर्दै उजागर हुँदै गएको छ। जब म कुनै काम सुरु गर्छु, त्यसको अन्तिम विन्दु मलाई थाहा हुन्छ। तर, म कहिल्यै पनि अन्तिम गन्तव्य वा ब्लुप्रिन्ट सुरुमै घोषणा गर्दिनँ। त्यसकारण तपाईंले आज जे देखिरहनुभएको छ, त्यसमा मैले काम गरेको होइन। अन्तिममा निकै ठूलो तस्बिर अनावरण हुनेछ। म विशाल क्यानभासमा काम गर्छु। एक कलाकारले जसरी म एउटा विन्दुबाट सुरु गर्छु, त्यतिबेलै तस्बिरको अन्तिम स्वरुप देखिँदैन।

यो अनौठो तरिकाको केही उदाहरण पनि दिनुस् न।
उदाहरणका रुपमा गुजरातको स्ट्याचु अफ युनिटीलाई लिनुहोस्। मैले १८२ फुटको सालिक बनाउने घोषणा गर्दा थुप्रैले ठाने, यसको सम्बन्ध गुजरात विधान सभाको १८२ सिटसँग छ। केहीले सोचे, यो कदम चुनावअघि कुनै समुदायलाई खुसी पार्न चालिएको हो। तर, हेर्नुस् त कसरी यसले एउटा समग्र पर्यटकीय प्रणालीको विकास गर्‍यो। जसले हरेक उमेर समूह र रुचिका मानिसहरुका लागि केही न केही फाइदा पुर्‍यायो। केही दिनअघि मात्र एकै दिनमा यहाँ ८० हजार पर्यटक घुम्न आए। यसको लोकप्रियताको स्तर हेर्नुस्। मैले वाचा एउटा मात्र गरेको थिएँ। तर, मैले दर्जनौँ कुरा प्रदान गरिदिएँ। मेरो काम गर्ने शैली हो यो। भारत मण्डपमको काम सुरु हुँदा कसैले सोचेको थिएन, जी२० यहाँ होला भनेर। तर, म त्यो योजनाका साथ काम गरिरहेको थिएँ। नयाँ संसद् भवन वा गरिबका लागि ४ करोड घर निर्माणको कुरा गर्दा पनि म उत्तिकै योजना र समर्पणका साथ काम गर्छु।

२०२३ मा भारत सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो। आर्थिक सवालमा तपाईंका नीतिलाई निर्देशित गर्ने पक्षहरु के के हुन्?
अनुभवको दृष्टिले आफ्नो करिअरमा मेरो यात्रा अनौठो रहेको छ। मैले गुजरात र केन्द्र गरी २३ वर्ष सरकार प्रमुखको रुपमा काम गरेँ। तर, त्यसअघि ३० वर्ष म मुलुकका अलगअलग हिस्सा घुमेँ र मानिसहरुको माझमा रहेँ। म आफूलाई जीवनभर विद्यार्थी मान्छु र अरुको अनुभव र ज्ञानबाट सिक्न सकिन्छ भन्ने विश्वास गर्छु। त्यसकारण एक हिसाबले जमिनसँग मेरो सम्बन्ध जोडिएको छ। 

उसोभए तपाईंको व्यवस्थापन शैली कस्तो छ?
नीतिनिर्माणको मेरो तरिका अलिक अलग छ। म सबै अर्थशास्त्री र विज्ञहरुलाई सुन्छु, अनि उनीहरुको सल्लाह र आफ्नो ‘जमिनसँगको नाता’ र ‘भोगेको यथार्थ’ मिसाएर आफ्नो नीति र रणनीति तयार गर्छु। जमिनसँग बलियो नाताका कारण मेरो दृढता एकदमै बलियो छ। म कुनै पनि काम राम्रो लागोस् भनेर गर्दिनँ। बरु त्यसले राम्रो गर्छ भन्ने भएपछि मात्र गर्छु। गरिबीमा हुर्केको र तल्लो तहका मानिसहरुसँग जोडिएको हुँदा मलाई थाहा छ, कुनै पनि परिवर्तन मानिसको जीवन सुधार्न केन्द्रित हुनुपर्छ, नकि चर्चा कमाउन। यो यस्ता दर्जनौँ सुधारको नतिजा हो, जुन मानिसको जीवनस्तर सुधार्न, उनीहरुको जिन्दगीलाई सहज बनाउन, तिनको बन्दव्यापारलाई सहज तुल्याउन केन्द्रित थियो। जसले गर्दा भारतको आर्थिक वृद्धिले तीव्र गति पक्रियो। हामी स्रोतसाधनको अधिकतम प्रयोग र परिणाममुखी निगरानीमा विश्वास गर्छौं। जनआन्दोलनमार्फत राष्ट्रिय लक्ष्य हासिल गर्ने कुरामा हामी विश्वास गर्छौं।

तपाईं किन सरसफाइ, स्वच्छताजस्ता कठिन विषय उठाउनुहुन्छ र स्वतन्त्रता दिवसको सम्बोधनमा समेत यसबारे बोल्नुहुन्छ?
मखनमा रेखा त जसले पनि कोर्छ। कोर्नै छ भने पत्थरमा कोर्नुस्। गाह्रो भएर के भो त, सुरु त गर्नुस्। म यसैमा विश्वास गर्छु। जसले मलाई कठिन र असहज काम गर्ने दृढता दिन्छ।

भारतको अर्थतन्त्र ५ ट्रिलियन डलर पुर्‍याउने र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने सुनिश्चितताका लागि तपाईं के गर्दै हुनुहुन्छ?
हाम्रो ‘ट्रयाक रेकर्ड’ आफैँ बोल्छ नि। २००१ मा म मुख्यमन्त्री बन्दा गुजरातको अर्थतन्त्रको आकार करिब २६ अर्ब डलर थियो। प्रधानमन्त्री बन्न मैले गुजरात छाड्दा त्यहाँको अर्थतन्त्रको आकार १३३.५ अर्ब डलर पुगेको थियो। र, अनेक नीति र सुधारका कारण आज गुजरातको अर्थतन्त्रको आकार करिब २६० अर्ब डलर पुगेको छ। 

त्यसैगरी २०१४ मा म प्रधानमन्त्री बन्दा भारतको अर्थतन्त्रको आकार २ ट्रिलियन डलर थियो। र, २०२३–२४ को अन्त्यमा भारतको जीडीपी ३.७५ ट्रिलियन डलर पुग्नेछ। २३ वर्षको यही ट्रयाक रेकर्डले देखाउँछ, यो हासिल गर्न सकिने लक्ष्य हो।

महंगी र रोजगार अभावका कारण गरिबमाथि मार पर्‍यो भन्ने विपक्षीको भनाइ छ। यी आलोचनाप्रति के भन्नुहुन्छ?
आरोपहरुलाई पन्छाएर तथ्यमा छलफल गरौँ। दुई वर्ष लामो महामारी र विश्वव्यापी मूल्य शृंखलामा अवरोध ल्याउने द्वन्द्व अनि विश्वभर मन्दीको दबाबका बाबजुद भारतले उल्लेखनीय लचिलोपन देखाएको छ। प्रतिकूल परिस्थिति, विश्वव्यापी संकटहरु, आपूर्ति शृंखलामा अवरोध र अत्यावश्यक सामग्रीको मूल्यमा प्रभाव पार्ने भूराजनीतिक तनावका बाबजुद २०१४–१५ देखि २०२३–२४ सम्मको औसत मुद्रास्फिति मात्र ५.१ प्रतिशत रह्यो। जबकि त्यसअघिको १० वर्ष (२००४–१४) मा त्यो ८.२ प्रतिशत थियो। ५.१ प्रतिशत मुद्रास्फिति उच्च हो कि ८.२ प्रतिशत?

रोजगारी सिर्जनाको कुरा नि?
रोजगारी सिर्जनाको कुरा गर्दा यो मेरो सरकारको सर्वोच्च प्राथमिकता हो। यो काममा हामीले सम्पूर्ण प्रयास लगाएका छौँ। पूर्वाधारमा लगानी गर्दा वृद्धि र रोजगारीमा कयौँ गुणा प्रभाव पर्छ भन्ने सर्वविदितै छ। त्यसै हुनाले हामीले पुँजीगत खर्च निरन्तर बढाउँदै आएका छौँ। २०२३–२४ को बजेटमा हामीले यो खर्च बढाएर १० लाख करोड (१०० खर्ब) पुर्‍याएका छौँ। जबकि २०१३–१४ मा त्यो १.९ लाख करोड (१९ खर्ब) मात्र थियो। यो खर्च कति उत्पादनशील छ र यसले सर्वसाधारणका लागि कति धेरै अवसर सिर्जना गर्छ भन्ने कुरा तपाईंको पाठकले थाहा पाउनुहुनेछ भन्ने मलाई विश्वास छ। त्यस्तै, हाम्रो वरिपरि के भइरहेको छ, त्यो पनि हेर्नुहोस्। अहिलेसम्म नदेखिएको गतिमा पूर्वाधार बनिरहेका छन्। १० वर्षअघि भन्दा धेरै राम्ररी हरेक क्षेत्रमा काम भइरहेको छ।

तपाईंले कुरा गरेको पूर्वाधार निर्माणले रोजगार सिर्जनामा चाहिँ कस्तो नतिजा ल्यायो त?
भारतले १० वर्षभन्दा कम समयमा मेट्रोको लम्बाइ २४८ किमिबाट ९०५ किमि पुर्‍यायो। के यसबाट थप रोजगारी सिर्जना हुँदैन? भारतले १० वर्षभन्दा कम समयमा विमानस्थलको संख्या ७४ बाट १४९ पुर्‍यायो। के यसबाट रोजगारी सिर्जना हुँदैन? भारतमा १० वर्षभन्दा कम समयमा मेडिकल कलेजको संख्या ३८७ बाट ७०६ पुग्यो, यसबाट रोजगारी सिर्जना भएन होला त? २०१४ अघिसँग तुलना गर्ने हो भने सडक निर्माण दोब्बर भयो। यसले रोजगारी सिर्जना गर्दैन त? पर्यटक संख्या बढ्दा रोजगारी सिर्जना हुँदैन? २०१४ पछि कृषि उत्पादन ठूलो मात्रामा वृद्धि भएको छ। यसले जीविकाको अवसर सिर्जना गरेको छैन त? 

त्यसैले नै पछिल्ला वर्षहरुमा बेरोजगारी दर घटेको छ। २०१८–१९ मा ५.८ प्रतिशत बेरोजगारी दर रहेकामा त्यो २०२२–२३ कम ३.२ प्रतिशतमा झरेको छ। त्यसमाथि श्रमशक्तिमा सहभागिता बढिरहेको छ। २ं०१८–१९ त्यो ५०.२ प्रतिशत थियो, २०२२–२३ मा ५७.९ प्रतिशत पुगेको छ।

हालै चुनाव जितेको तीन राज्यमा मुख्यमन्त्रीका लागि भाजपाले नयाँ अनुहार रोजेको छ। प्रधानमन्त्री बनेदेखि तपाईंले यो चलन बसाउनुभएको छ। यसपछाडिको सोच के हो?
यो नयाँ चलन होइन। वास्तवमा भाजपामा यो अभ्यासको सबैभन्दा गतिलो उदाहरण मै हुँ। गुजरातको मुख्यमन्त्री बन्दा मसँग प्रशासनिक अनुभव थिएन। त्यसअघि म विधान सभामा समेत निर्वाचित भएको थिइनँ। हो, यो नयाँ चलनजस्तो देखिन्छ किनभने अरु धेरैजसो पार्टीहरु परिवारवादी छन्।

ती ‘परिवारवादी’ पार्टीभन्दा भाजपा कसरी फरक छ?
परिवारवादी पार्टीहरुलाई यो लोकतान्त्रिक मन्थन कठिन लाग्छ। भाजपासँग एकै समय अनेक पुस्ताका नेतृत्व तयार गर्ने क्षमता छ। भाजपाका अध्यक्षहरुलाई हेर्नुहोस्, तपाईंले जताततै हरेक केही वर्षमा नयाँ अनुहार देख्नुहुन्छ। हाम्रो पार्टी कार्यकर्तामा निर्भर पार्टी हो, जुन एउटा स्पष्ट मिसनद्वारा निर्देशित छ। हामी सबैले ग्रासरुट कार्यकर्ताका रुपमा सुरु गरेका हौँ र मेहनत र लगावका बलमा पार्टीको माथि उक्लिँदै गयौँ। यही प्रतिबद्धताका कारण यो राष्ट्र र खासगरी युवाले भाजपासँग बलियो नाता महसुस गर्छन्। 

लोकतन्त्रमा नयाँ पुस्ता र नयाँ रगतलाई मौका दिन आवश्यक छ। लोकतन्त्रलाई जीवन्त तुल्याउने भनेकै लोकतान्त्रिक मन्थनले हो। यही मन्थनले हाम्रो पार्टीलाई जीवन्त राख्छ र हाम्रा कार्यकर्ताभित्रको आकांक्षा र आशालाई प्रज्वलित राख्छ। उनीहरुलाई पनि लाग्छ, मेहनतको बलमा पार्टीमा माथि पुग्न सकिन्छ। हाम्रो पार्टी अलगअलग प्रयोग गर्न बानी परेको छ। गुजरातमा हामीले मन्त्रीमा सबै नयाँ अनुहार ल्यायौँ। दिल्लीमा हामीले स्थानीय चुनावमा सबै नयाँ अनुहार ल्यायौँ।

दक्षिण र पूर्वका कुनै पनि ठूलो राज्यको सरकारमा भाजपा छैन। वास्तवमै भारतव्यापी पार्टी बन्ने भाजपाको योजना के छ?
यो गलत मूल्यांकन हो। तपाईंले अति सरलीकरण गर्नुभयो। भाजपा गठनदेखि नै हामीले यस्ता मनगढन्ते राय सुन्दै आएका छौँ– हामी को हौँ, हामीले कसको प्रतिनिधित्व गर्छौं भन्ने सवालमा। कुनै बेला हामीलाई ब्राह्मण–बनियाँ पार्टी भनिन्थ्यो। अरुबेला हिन्दीभाषी क्षेत्रमा मात्र फैलिने पार्टी भनियो। हामीलाई त के सम्म भनियो भने भाजपालाई सहरमा मात्र समर्थन प्राप्त हुन्छ। तर, एकपछि अर्को चुनावमा हामीले यी आरोपहरुलाई गलत साबित गरिदिएका छौँ।

ती भनाइ किन गलत हो त?
आज मुलुकमा त्यस्तो कुनै कुना छैन, जहाँ हाम्रो पार्टीको समर्थन नहोस्। केरलाको स्थानीय निकायदेखि थुप्रै राज्यमा हामी प्रमुख प्रतिपक्षी छौँ। हाम्रो पार्टीले जनताबीच मजबुतीका साथ काम गरिरहेको छ। बिहार, पश्चिम बंगाल, उडिसा र झारखण्डमा हामी प्रमुख प्रतिपक्षी हौँ। वास्तवमा बिहारमा जनताले हामीलाई जनमत दिएका हुन्। ६ महिनाअघि मात्र कर्नाटकमा हाम्रो सरकार थियो। पुदुचेरीमा आज पनि हाम्रो सरकार छ। अहिले हामी १६ राज्यमा सरकार चलाइरहेका छौँ र ८ वटामा प्रमुख प्रतिपक्षी छौँ। २०१४ मा उत्तरपूर्वी राज्यमा हाम्रो उपस्थिति थिएन। आज नागाल्यान्ड र मेघालयजस्ता क्रिस्चियन बहुल राज्यसहित ६ राज्यमा हाम्रो सरकार छ। 

यसका अलावा लोकसभा सिटको कुरा गर्ने हो भने दक्षिण भारतमा हामी सबैभन्दा ठूलो पार्टी हौँ। १९८४ मा हाम्रो लोकसभामा दुई सिट मात्र थियो। अहिले ३०३ सिट पुगेको छ। मुलुकका हरेक हिस्साका जनताको समर्थन र शक्तिबिना हामी राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्तिका रुपमा उदाउन सक्थ्यौँ त?

हालैका विधानसभा चुनावहरुमा प्रमुख प्रचारकका रुपमा तपाईंका र्‍यालीहरुले निर्णायक फरक ल्यायो नि!
यहाँनेर तपाईंको मूल्यांकन अपुरो छ। भाजपा कार्यकर्ता–आधारित पार्टी हो। मतदान केन्द्रसम्म भाजपासँग प्रतिबद्ध कार्यकर्ताको विशाल सञ्जाल छ। हरेक तहमा यो पार्टीसँग त्यस्तो नेतृत्व छ, जसले जनताको आवाज सुन्छ। सबैको संयुक्त प्रयासले मात्र जित सम्भव छ। त्यसैले मलाई मात्र जस दिनु अनुचित हुन्छ। जस कडा मेहनत गर्ने कार्यकर्तालाई दिनुपर्छ।

२०२४ को आम चुनावमा ‘मोदी ग्यारेन्टी’ के छ?
मेरो लागि ग्यारेन्टी भनेको शब्द वा चुनावी वाचा मात्र होइन। यो मेरो दशकौँ लामो कठोर साधनाको नतिजा हो। यो समाजप्रति मेरो संवेदनशीलताको अभिव्यक्ति हो। जब म ‘ग्यारेन्टी’ को कुरा गर्छु, तब म आफूलाई यसमा प्रतिबद्ध बनाउँछु। यसले मलाई सुत्न दिँदैन। अझ मेहनत गर्न प्रेरित गर्छ। मेरो हरेक चिज देशका जनतालाई अर्पित गर्न प्रेरित गर्छ। त्यसैले कृपया ग्यारेन्टीको शाब्दिक अर्थ नखोज्नुस्।

उसोभए तपाईंको ग्यारेन्टीको परिभाषा के हो?
जसले गरिबी भोगेको छ, उसले मात्रै बुझ्छ, गरिबलाई जीवनमा अगाडि धकेल्ने सबैभन्दा ठूलो शक्ति विश्वास र आशा हो। गरिबको यही विश्वासले मलाई अगाडि धकेल्छ। मोदीले आफ्नो सबैथोक यसमा लगाइदिन्छ। तर, आफ्ना गरिब दाजुभाइदिदीबहिनीको भरोसा टुट्न दिने छैन।

मोदीको ग्यारेन्टी चुनाव जित्न बनाइएको सूत्र होइन। मोदीको ग्यारेन्टी गरिबको विश्वास हो। आज यो मुलुकका हरेक गरिब व्यक्तिलाई थाहा छ, मोदी आफ्नो कर्तव्यबाट पछि हट्ने छैन। आज, हरेक गरिब व्यक्तिलाई थाहा छ, कसरी विगतमा राजनीतिक पार्टीहरुले तिनको विश्वास तोडेका थिए। तर, उनीहरुलाई थाहा छ, मोदीको ग्यारेन्टीलाई विश्वास गर्न सकिन्छ। गरिबको यो विश्वासले मलाई उर्जा दिन्छ। भलै म थकित बनूँ, म यो भरोसा टुट्न दिने छैन।

२०२४ मा ह्याट्रिक गर्नेमा तपाईं विश्वस्त हुनुहुन्छ? आम चुनावको नतिजालाई निर्धारण गर्ने ठूला मुद्दा के के हुन्?
यो मेरो विश्वासको प्रश्न होइन। मेरो हातमा भएको एउटा मात्र कुरा भनेको जनताको सेवामा सबैथोक लगाउनु हो। यो म पूर्ण इमानदारी र प्रतिबद्धताका साथ गर्ने प्रयास गरिरहेको छु। तर, आज जनता, विज्ञ, विचार निर्माता र मिडियाका साथीहरुको पनि एकमत के छ भने हाम्रो मुलुकलाई मिलिजुली सरकार आवश्यक छैन। मिलिजुली सरकारका कारण उत्पन्न अस्थिरतामा हामीले ३० वर्ष गुमायौँ। जनताले सुशासनको अभाव देखे, तुष्टीकरणको राजनीति देखे र मिलिजुली सरकारको भ्रष्टाचार देखे। फलस्वरुप जनतामा आशा र विश्वास गुम्यो। र, विश्वमा भारतको खराब छवि निर्माण भयो। त्यसैले स्वाभाविक रुपले जनताको रोजाइ भाजपा हो।

धारा ३७० को खारेजीलाई सदर गरेर सर्वोच्च अदालतले यसको कानुनी टुंगो लगाएको छ। राजनीतिक निष्कर्षका लागि अब चुनाव, राज्यको हैसियत पुनर्बहालीजस्ता केकस्ता कदम आवश्यक छन्?
देशसामु रहेको मुद्दा सर्वोच्च अदालतले कानुनी निष्कर्ष दिने होइन। अस्थायी व्यवस्था खारेज गर्नमा भएको ढिलाइप्रति जनता सन्तुष्ट थिएनन्। नेहरुले संसदमा ‘खिइँदै खिइँदै सकिनेछ’ भने पनि सात दशकसम्म जम्मु र कस्मिरका जनता आफ्नो अधिकारबाट वञ्चित भए। खासगरी महिला र वञ्चित समुदायका मानिसहरु। धारा ३७० सदाका लागि खारेज भएपछि जम्मु कस्मिर र लद्दाखमा जनता पहिलो पटक आफ्नो भविष्य आफ्नै हातले कोर्न सक्षम भएका छन्। सामाजिक रुपमले कमजोर समूहहरुको अधिकार रक्षा गर्ने भारतको संविधान उनीहरुका लागि सम्पूर्ण रुपले लागू भएको छ। खेलकुदेखि उद्यमसम्म जम्मु र कस्मिरका महिलाहरु आज अनेक क्षेत्रमा उदाउँदैछन्। नयाँ उद्योगहरु खुल्दै छन्। आतंकवाद सबैभन्दा कम भएको छ भने पर्यटन सबैभन्दा ज्यादा। जी२० बैठकजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरु भएका छन्। र दुनियाँले यो क्षेत्रको आतिथ्य र प्राचीन सौन्दर्य देखेको छ।

जम्मु र कस्मिरमा दिगो शान्तिको सुनिश्चितताका लागि तपाईं के गर्दै हुनुहुन्छ?
सरकारले बहुआयामिक दृष्टिकोण अपनाएको छ। सुरक्षा, विकास, पूर्वाधार र मानवीय पुँजीमा लगानी तथा सरकारी प्रक्रियाहरुको ढाँचाकाँचा बदल्न ध्यान केन्द्रित गरेको छ। हामी दिगो शान्ति, स्थिरता र यो क्षेत्रका जनताको जीवनको गुणस्तर सुधार गरेर समृद्धि ल्याउने मार्गमा छौँ। त्यसका लागि आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गरिरहेका छौँ। संसदमा राष्ट्रिय स्तरमा जम्मु र कस्मिरको प्रतिनिधित्व पहिलेबाटै छ। स्थानीय तहमा पहिलो पटक हामी लोकतन्त्रलाई ग्रासरुटसम्म पुर्‍याउन सफल भएका छौँ। तीन तहको पञ्चायती राज प्रणाली स्थापित गरिएको छ र ३५ हजार नेता ग्रासरुटबाट चुनिएका छन्। यी चुनावहरुको महत्वलाई हामी किन अवमूल्यन गर्छौं। लोकतन्त्र होस् या विकास अथवा गतिशीलता, आज जम्मु कस्मिर र लद्दाखका जनताले हरेक क्षेत्रमा समग्र प्रगति देखिरहेका छन्।

मोदी सरकारले अन्तरिक्ष अन्वेषणका अलावा सेमिकन्डक्टर उत्पादन र अरु महत्वपूर्ण अनि उदाउँदा प्रविधिलाई ठूलो प्रोत्साहन गरेको छ। यी क्षेत्रमा आत्मनिर्भर भएर प्रविधि महाशक्ति बन्न हामीले के गर्नुपर्छ?
यी क्षेत्रमा हाम्रो प्रयासलाई तपाईंले ध्यान दिएकोमा म खुसी छु। दुर्भाग्यको कुरा, ३० वर्षसम्म सत्तामा बसेका मान्छेहरुले राष्ट्र होइन, सरकार मात्र चलाइरहेका थिए। सेमिकन्डक्टर उत्पादन हामीले ३० वर्षअघि थाल्नुपथ्र्यो। हामी ढिला भयौँ। तिनले हाम्रा जनताको क्षमता र सम्भावनामा सन्देह गरिरहे। रिसर्च होस् या डिजाइन, हाम्रा मानिसको क्षमता ठूलो छ। 

हामीले आणविक उर्जा र अन्तरिक्षमा ठूलो सफलता हात पारेका छौँ। ब्रह्मोस क्षेप्यास्त्रजस्ता हतियार उत्पादनमार्फत संसारले अहिले प्रतिरक्षा उत्पादनमा हाम्रो गतिशीलता देखिरहेको छ। मलाई विश्वास छ, सेमिकन्डक्टरको क्षेत्रमा सफलता प्राप्त गर्न आवश्यक सबै सर्त भारतले पूरा गरेको छ। त्यसका लागि हामीले नीति, प्रोत्साहन र सिपको उचित मिश्रण गर्न ध्यान केन्द्रित गरेका छौँ। सेमिकन्डक्टर उत्पादन अभियानमा हामीले ठूलो छलाङ हानेका छौँ। हाम्रो ध्यान अब विद्युतीय उत्पादनको समग्र प्रणाली भारतमा ल्याउनमा छ। जसमा समग्र मूल्य शृंखला पर्छ। त्यसका लागि आवश्यक वातावरण तयार गर्न हामी लागिपरेका छौँ।

एआईको विषयमा नि?
हामी भारतले एआईको क्षेत्रमा पनि नेतृत्व लेओस् भन्ने चाहन्छौँ। हामी लार्ज ल्यांग्वेज मोडेल्स (एलएलएम) मा काम गर्नेछौँ। प्रविधिमा नेतृत्व लिने सोचमा पनि परिवर्तन आवश्यक छ। आज हामी कक्षाकोठादेखि बोर्डरुमसम्म मुख्य ध्यान नवअन्वेषण, पुँजीको सहज उपलब्धताका साथ प्रगतिशील र स्थिति नीतिमा केन्द्रित होस् भन्ने सुनिश्चित गरिरहेका छौँ। याद राख्नुस्, आजको नवअन्वेषण भोलिको उद्योग हो। र, लगानी र आय वृद्धि गर्ने भनेकै उद्योगले हो।

अन्तर्राष्ट्रिय मामिलाको कुरा गर्दा जी२० को सफल अध्यक्षता र ग्लोबल साउथको मुद्दालाई अग्रमञ्चमा ल्याएकोमा दुनियाँले तपाईंको प्रशंसा गरेको छ। दिल्ली २०२३ को उपलब्धिलाई टिकाउन मुलुकहरुले के गर्नुपर्छ?
अनेक र आपसमा जेलिएका विश्वव्यापी चुनौतीका माझ हामीले जी२० को अध्यक्षता लिएका थियौँ। विश्वव्यापी एजेन्डामा मानव केन्द्रित विकासमा ध्यान दिन हामी सफल भयौँ, यसमा म खुसी छु। हामीले विकसित र विकासशील मुलुकबीच सहमति कायम गर्न प्रेरित गर्‍यौँ। हामीले बहुपक्षीयतालाई ब्युँतायौँ। विश्वव्यापी आर्थिक मन्दी, बढ्दो ऋण, जलवायु परिवर्तन र भूराजनीतिक द्वन्द्वले खासगरी विकासशील मुलुकलाई असर परेको थियो। वैश्विक संकथन निर्माणमा हाम्रो अध्यक्षताले ग्लोबल साउथलाई उचित स्थान प्रदान गरेको छ।

नयाँ दिल्लीमा अफ्रिकन युनियनलाई जी२० को स्थायी सदस्य बनाउने ऐतिहासिक निर्णय भयो। यसले ५५ अफ्रिकी मुलुकलाई आवाज दिएको छ। भारतको अध्यक्षतामा जी२० पहिलेभन्दा बलियो र उदेश्यपूर्ण बन्न सफल भयो। जसले प्रभावकारी रुपले विश्वव्यापी एजेन्डा तय गरेको छ। यो केही महत्वपूर्ण नतिजाहरुमा पनि झल्किन्छ। उदाहरणका लागि दिगो विकास लक्ष्य, वातावरणका लागि जीवनशैली पहल, डिजिटल सार्वजनिक पूर्वाधार, खाद्य सुरक्षा र पोषण, नवीकरणीय उर्जा, महत्वपूर्ण खनिज, स्वास्थ्य, आप्रवासन मार्ग, जलावायु र विकास लगानी आदि। जी२० शिखर सम्मेलनमा हाम्रा यति धेरै निर्णय र पहलहरुलाई अघि बढाउने निर्णय भएको सुनाउन पाउँदा म खुसी छु। जी२० नेताहरुको भर्चुअल बैठक पनि भयो। र, हामीले दोस्रो भोइस अफ ग्लोबल साउथ समिट पनि आयोजना गर्‍यौँ। 

यी बैठकको नतिजा के भयो त?
उर्जा तथा जलवायुका विषयमा नयाँ दिल्लीमा आयोजित जी२० का थुप्रै सफलताहरु दुबईमा आयोजित कोप२८ ले अघि बढाएको छ। उदाहरणका लागि २०३० सम्ममा विश्वभरको नवीकरणीय उर्जा उत्पादन क्षमता तेब्बर पार्ने, हाइड्रोजन इन्धन विकास गर्ने र जलवायु तथा उर्जा लगाउनी बढाउने। एआईको सवालमा नवअन्वेषणलाई प्रेरित गर्नेगरी नियमन गर्ने जी२० को सन्देशलाई ग्लोबल पार्टनरसिप अन एआईजस्ता सम्मेलनहरुले अनुमोदन गरे।

तपाईंले यो युग युद्धको होइन भन्नुभयो। युक्रेनका अलावा गाजा र अन्य सानातिना द्वन्द्व चर्किरहेका छन्। यी संकटहरुमा भारतले सन्तुलनकारी भूमिका खेल्यो। यो विश्वव्यापी अव्यवस्थाबाट बाहिर निस्किने कुनै ‘मोदी मार्ग’ छ?
मतभेद सल्ट्याउने माध्यमका रुपमा म हमेसा कुनै पनि दबाबबाट मुक्त इमानदार संवाद र सच्चा कूटनीतिमा विश्वास गर्छु। युक्रेन होस् कि गाजा, हाम्रो दृष्टिकोण यही विश्वासद्वारा निर्देशित छ। द्वन्द्व भड्काउन जसको कुनै भूमिका हुँदैन, प्रायः उही द्वन्द्वबाट सबैभन्दा प्रताडित हुन्छ, प्रत्यक्ष होस् या अप्रत्यक्ष रुपले। कूटनीतिलाई प्रधानता दिनुको अर्थ आतंकवाद र भौगोलिक अखण्डताको सवालमा हामी सम्झौता गर्छौं भन्ने होइन।

हाम्रा छिमेकीहरु, खासगरी पाकिस्तान र चीनसँग व्यवहार गर्ने विषयमा के भन्नुहुन्छ?
छिमेकीसँग व्यवहार गर्ने मोदी मार्ग भनेको आवश्यक पर्दा रचनात्मक र सहयोगात्मक हुने। र, आवश्यकताअनुसार उत्तिकै दृढ र चुस्त पनि हुने। पहल र चुनौती दुवैमा तपाईं विगतसँग फरक देख्न सक्नुहुन्छ।

अगाडि हेर्दा, २०४७ सम्ममा विकसित भारत बनाउन तपाईंको सरकारले कुनकुन क्षेत्रमा ध्यान केन्द्रित गर्छ?
तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने हामी जुन समयमा बाँचिरहेका छौँ, त्यसको ऐतिहासिक समानान्तर पनि देखिन्छ। सय वर्षअघि स्वतन्त्रता प्राप्तिलाई लिएर आशा थियो। १९२२ देखि १९४७ सम्मको अवधिमा हरेक व्यक्ति स्वतन्त्रता आन्दोलनमा योगदान गर्ने इच्छा राख्थ्यो। कतिपयले खाडी बुनेर योगदान दिए, कति अनेक आन्दोलनमा सहभागी भए। जसरी सकिन्छ, त्यसरी योगदान दिए। अबको २५ वर्ष राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण छ। हामीले स्वतन्त्रताको सयौँ वर्षगाँठ मनाउने बेलामा भारतलाई विकसित तुल्याउने विषयमा मानिसहरुमा उस्तै आशा म देख्छु। यो उर्जा मेरो प्रेरक शक्ति हो। हामीले ज्ञान (GYAN) लाई ध्यान दियौँ, ज्ञानको सम्मान गर्‍यौँ भने विकसित भारत बन्नेछ। जी भनेको गरिब, वाई भनेको युवा, ए भनेको अन्नदाता र एन भनेको नारीशक्ति। भारतलाई जनसांख्यिक लाभ छ। यो लाभलाई उत्पादकत्व र आर्थिक वृद्धिमा परिणत गर्नैपर्छ।

भारतको यो लाभलाई परिणाममुखी बनाउन तपाईं के गर्नुहुन्छ?
२०४७ सम्म भारतलाई विकसित बनाउन मेरो सबैभन्दा प्रमुख प्राथमिकता हाम्रो युवाको सुस्वास्थ्य र तन्दुरुस्ती सुनिश्चित गरेर उनीहरुलाई आवश्यक सिप सिकाउनु हुनेछ। सिप विकास स्कुलदेखि नै सुरु हुन्छ। जहाँ कक्षाकोठामा युवाहरुको दिमागलाई नयाँ ढंगले सोच्न र समस्या समाधानका लागि तयार गर्न सकिन्छ। त्यसैले हामी नेसनल एजुकेसन पोलिसी २०२० का माध्यमबाट शिक्षा प्रणाली विकास गरिरहेका छौँ। जसले बलाबालिकालाई २१ औँ शताब्दीका चुनौतीहरु सामना गर्न तयार पार्छ। जसले अवरोधलाई अवसरमा बदल्न सिकाउँछ।

उद्योग र लगानीप्रति तपाईंको दृष्टिकोण कस्तो छ?
साना र मझौला व्यवसायलाई सहयोग गर्नु र तिनको उत्पादकत्व सुधार गर्नु हाम्रो प्राथमिकता हो। उच्च उत्पादकत्व र उच्च ज्याला हुने रोजगारी सिर्जनामा यी उद्यमहरुको आकारमा हुने वृद्धि अत्यन्त महत्वपूर्ण हुन्छ। हामी तिनलाई सहज पुँजी उपलब्ध गराउन, प्रविधिमा पहुँच दिलाउन र नियामकीय लचिलोपन प्रदान गर्न प्रयास गरिरहेका छौँ। 

२०४७ सम्म विकसित भारत बन्ने लक्ष्य राखेको मुलुकलाई अनेकौँ र नयाँ स्रोतबाट लगानी आवश्यक पर्छ। सीप, क्षमता र नियामक ढाँचाका आधारमा भारतको वित्तीय क्षेत्र र पुँजी बजारलाई भारतको लगानीका आवश्यकताहरु पूरा गर्न सक्षम बनाउनु मेरो महत्वपूर्ण प्राथमिकता हो। देशमा व्यवसाय गर्ने सहज वातावरण तयार गर्न भारतको निर्यात क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउन हामी ध्यान दिनेछौँ। यसले नवप्रवर्तन र परिष्कृत वस्तु उत्पादनमा प्रोत्साहन गर्नेछ। शासन सुधार मेरो लागि महत्वपूर्ण छ। जिम्मेवारी प्रदर्शन र क्षमता विकास प्रभावकारी शासनका दुई खम्बा हुन्, जसलाई हामी सुदृढ गर्नेछौँ।

व्यक्तिगत कुरा गर्दा तपाईं २२ वर्षदेखि मुख्यमन्त्री र प्रधानमन्त्रीजस्तो नेतृत्वदायी पदमा हुनुहुन्छ। यसबाट तपाईंले सिकेको मुख्य पाठ के हो? तपाईंको सफलताको मन्त्र के हो?
मेरो सफलता सबैको सामुन्ने छ। मेरो प्रयासहरु पनि सबैको सामुन्ने छ। त्यसैले सफलताको मन्त्र निकाल्न मानिसहरु स्वतन्त्र छन्। मैले पालन गरेको एउटै मन्त्र हो– राष्ट्र पहिले। कार्यकर्ता, मुख्यमन्त्री र प्रधानमन्त्रीका रुपमा मैले जे गरेँ, त्यसमा मैले सधैँ राष्ट्रलाई पहिलो प्राथमिकता दिएँ। मैले लिएका हरेक निर्णय राष्ट्रिय हितलाई मनमा राखेर लिएको छु। अक्सर मानिसहरु सोध्छन्, कसरी कठिन निर्णय लिनुहुन्छ? मेरो लागि ती निर्णय कठिन होइनन्। किनभने म हरेक निर्णय राष्ट्रलाई सबैभन्दा अगाडि राखेर लिन्छु।

नयाँ वर्षका लागि तपाईंको इच्छा–सूची के छ?
म इच्छा सूचीमा विश्वास गर्ने व्यक्ति होइन। बरु म काम–सूचीमा विश्वास गर्छु।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .