ग्लोबल


चीनमा केन्द्रीय ब्यांकको अधिकार कटौती, गभर्नरभन्दा अन्य ब्यांकका प्रमुखको पार्टी हैसियत माथि

चीनमा केन्द्रीय ब्यांकको अधिकार कटौती, गभर्नरभन्दा अन्य ब्यांकका प्रमुखको पार्टी हैसियत माथि

नेपालखबर
पुस ११, २०८० बुधबार १६:१४,

कुनै समय प्रभावशाली मानिने चीनको केन्द्रीय ब्यांकको अधिकार कटौती गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले वित्तीय नियमनका क्षेत्रमा कम्युनिस्ट पार्टीको पकड बलियो बनाउन यस्तो कदम चालेको हो।

पिपुल्स ब्यांक अफ चाइनाका केही अधिकार अहिले पार्टीको निगरानी गर्ने समितिलाई हस्तान्तरण गरिएको छ।

अझै पनि दैनिक मुद्रा बजार नियमनमा केन्द्रीय ब्यांकको भूमिका महत्त्वपूर्ण छ। तर, अहिले पार्टीमा सो ब्यांकका गभर्नरको वरीयता उसैले नियमन गर्ने केही ब्यांकका प्रमुखभन्दा तल राखिएको छ।

यसले आन्तरिक नीति निर्माणमा पिपुल्स ब्यांक अफ चाइनाको प्रभाव घटाउनुका साथै विश्वव्यापी नियामक तथा बजारसँग सञ्चारको माध्यमको भूमिकामा पनि सो ब्यांक कायम नरहने विश्लेषकहरुको भनाइ छ।

यसअघि पनि चीनमा केन्द्रीय ब्यांकले स्टेट काउन्सिल (मन्त्रिपरिषद्) को रेखदेखमा काम गर्ने गथ्र्यो। तर, वित्तीय मामिलामा उसको प्राधिकार स्थापित थियो। गएको तीन दशकमा यो ब्यांकका टेक्नोक्र्याटहरुले नै वित्तीय नियमनको स्वरुप निर्धारण गर्ने गर्थे।

तर, गत मार्चदेखि यो ब्यांकलाई पार्टीको केन्द्रीय वित्त आयोग मातहत राखिएको छ। जसमा वित्तीय मामिला रेखदेख गर्न एक सयजना जति कर्मचारी राखिएको छ।

चीनका उपप्रधानमन्त्री तथा अर्थ र वित्त मामिला प्रमुख हे लिफेङ सो आयोगको हर्ताकर्ता हुन्। ब्यांकको शीर्ष तहको नियुक्तिहरुमा पनि उनको प्रभाव रहनेछ।

हेले प्रधानमन्त्री तथा सो आयोगका औपचारिक अध्यक्ष ली चियाङलाई रिपोर्ट गर्छन्। प्रधानमन्त्री चीनको अर्थतन्त्र र वित्त मामिलाका लागि प्रमुख जिम्मेवार मानिन्छन्।

अहिले पिपुल्स ब्यांक अफ चाइनाको गभर्नर फान गोङसेङ छन्। तर, अन्य सरकारी ब्यांकहरु जस्तै, इन्डस्ट्रियल एन्ड कमर्सियल ब्यांक अफ चाइनाका लियाओ लिन, एग्रिकल्चरल ब्यांक अफ चाइनाका कु सु, चाइना लाइफ इन्स्योरेन्सका काइ सिलियाङजस्ता व्यक्तिहरु पार्टीको वरीयतामा गभर्नर फानभन्दा माथि छन्। जबकि फान यी ब्यांकहरुको दैनिक कार्यसञ्चालनको सुपरीवेक्षक हुन्।

यसले गभर्नर पदलाई पनि कम प्रभावकारी बनाउने विश्लेषण छ। विश्लेषकहरुको भनाइमा केन्द्रीय बैंकले अब नीति तर्जुमामा भूमिका खेल्नेभन्दा नीति कार्यान्वयन मात्र गर्नेछ। फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad