अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा दुई पार्टीबीच राजनीतिक तनाव चुलिँदै गएको छ। रिपब्लिकन पार्टीको पकड रहेको तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगसम्बन्धी छानबिनलाई अनुमोदन गरेको छ।
छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताहरुबाट राष्ट्रपति बाइडेनले गलत फाइदा उठाएको आरोपको आधारमा सो छानबिन अगाडि बढाइने भएको हो। यद्यपि, बाइडेनले गल्ती गरेको प्रमाण हालसम्म अघि सारिएको छैन।
पार्टी लाइनअनुसार छानबिनको पक्षमा २२१ मत पर्दा विपक्षमा २१२ मत परेको थियो।
मतदानपछि वक्तव्य जारी गर्दै बाइडेनले तल्लो सदनका रिपब्लिकनहरुले ‘आधारहीन राजनीतिक स्टन्टमा’ समय बर्बाद गरेको बताएका छन्।
हन्टर बाइडेनमाथि संसदका तीन समितिहरुले यसअघि नै छानबिन गरिरहेका छन्। तर, सदनको मतदानले छानबिनको वैधानिकता बढाउने रिपब्लिकनहरुको तर्क छ।
हन्टर बाइडेनले यसबारे सार्वजनिक रुपमै सांसदहरुमाझ बयान दिने बताएका थिए। तर, संसदले उनलाई गुप्त कोठामा बयानका लागि बोलाएको थियो। जसलाई उनले अस्वीकार गरेका थिए।
राष्ट्रपतिमाथि महाभियोग लगाउन भने छानबिनको अन्त्यमा सदनले पुनः मतदान गरी महाभियोग प्रस्ताव पारित गर्नुपर्ने हुन्छ।
तर, त्यतिकै भरमा राष्ट्रपति हट्दैनन्। उनलाई हटाउन माथिल्लो सदन सिनेटले सुनुवाइ आयोजना गरेर राष्ट्रपतिलाई दोषी ठहर गर्नुपर्छ।
यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तल्लो सदनले दुई पटक महाभियोग लगाए पनि सिनेटले दुवै पटक उनलाई निर्दोष ठहर गरेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया