अमेरिकी अधिकारीहरुले आफ्नो भूमिमा सिख पृथकतावादी नेताको हत्या गर्ने प्रयास असफल बनाएको रिपोर्टहरुमा जनाइएको छ।
फाइनान्सियल टाइम्सले अमेरिकी गुप्त स्रोतहरुलाई उधृत गर्दै हत्याप्रयास असफल पारेपछि अमेरिकाले भारतलाई यसबारे चेतावनी पनि दिएको उल्लेख गरेको छ।
हत्या योजनाको लक्ष्य थिए अमेरिकी र क्यानडेली नागरिक गुरपतवन्त सिंह पन्नु। उनी सिख फर जस्टिस नामक समूहका सदस्य हुन्। जो भारतमा स्वतन्त्र सिख राज्य ‘खालिस्तान’ स्थापना गर्न भन्दै सक्रिय छ।
जुन महिना क्यानडामा हरदीपसि निज्जरको हत्यामा भारतको संलग्नता रहेको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएपछि दुई देशबीच कूटनीतिक तनाव चुलिएको थियो। त्यसपछि अमेरिकाले पछिल्लो षड्यन्त्रबारे केही सहयोगी मुलुकलाई जानकारी गराएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीको जुनमा अमेरिका भ्रमणपछि यसबारे चेतावनी दिइएको थियो। कूटनीतिक चेतावनीका अलावा सरकारी वकिलहरुले एक जना आरोपितविरुद्ध न्युयोर्क जिल्ला अदालतमा सिलबन्दी गरिएको आरोपपत्र समेत दायर गरेका थिए।
अमेरिकी न्याय मन्त्रालयले सो सिलबन्दी खोल्ने कि नखोल्ने भन्नेबारे छलफल गरिरहेको छ। तर, आरोपित व्यक्तिले अमेरिका छाडिसकेको बताइएको छ।
अमेरिकी अधिकारीहरुले यो षड्यन्त्रबारे जानकारी दिए कि दिएनन् भन्ने विषयमा पन्नुले टिप्पणी गर्न चाहेनन्। उनले अमेरिकी भूमिमा भारतीय एजेन्टद्वारा आफ्नो ज्यानमाथि उत्पन्न खतरालाई रोक्ने काम अमेरिकी सरकारलाई छाड्ने बताए। फाइनान्सियल टाइम्स
Shares

प्रतिक्रिया