अर्जेन्टिनाको राष्ट्रपतीय निर्वाचनमा चरम दक्षिणपन्थी लिबरटारियन हाभियर मिलेइ विजयी भएका छन्। उनीसँग चुनाव लडेका अर्थमन्त्री सर्जियो मासाले हार स्वीकार गरेका छन्।
मिलेइको विजयसँगै अर्जेन्टिनाको राष्ट्रिय मुद्रा पेसोको भविष्यमाथि सन्देह छाएको छ।
अर्जेन्टिनामा चर्को मुद्रास्फिति र संकटग्रस्त अर्थतन्त्रलाई सम्हाल्ने नारा दिएर उनले चुनाव जितेका हुन्। त्यसका लागि मुद्राका रुपमा डलरको प्रयोग गर्ने केन्द्रीय बैंक विघटन गर्ने घोषणा उनले गरेका छन्।
‘आज अर्जेन्टिनाको पुनर्संरचना सुरु हुन्छ, आज अर्जेन्टिना पतनको अन्त्य सुरु हुन्छ। पतनको मोडेल समाप्त भएको छ,’ उनले विजय भाषणमा भनेका छन्।
टिकटकमा अत्यन्त चर्चित रहेका उनी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोजस्तै रहेको विश्लेषण गरिन्छ।
कुनै राजनीतिक अनुभव नभएका र अपरीक्षित व्यक्ति भएकाले उनी संकटग्रस्त मुलुकका नागरिकको ध्यान खिच्न सफल भएको विश्लेषकहरुको भनाइ छ। ट्रम्पले उनलाई बधाई दिएका छन्।
ब्राजिलका राष्ट्रपति लुलाले उनलाई शुभकामना दिएका छन् भने कोलम्बियाका गुस्ताभो पेत्रोले यो नतिजा ल्याटिन अमेरिकाका लागि दुखद् भएको बताएका छन्।
‘नवउदारवादसँग समाजलाई दिने कुरा अब केही पनि छैन। मानवताले बेहोरिरहेका वर्तमान समस्याकाको समाधान यसले दिन सक्दैन,’ पेत्रोले भनेका छन्।
अर्जेन्टिनी अर्थतन्त्रको डलरीकरण गर्ने उनको घोषणालाई उनका मतदाताको समर्थन छ। तर, हालसम्म अर्जेन्टिनाजत्रो कुनै पनि मुलुकले यसरी आफ्नो मौद्रिक नीति अमेरिकाका नीतिनिर्माताहरुलाई सुम्पेको छैन।
यसअघि इक्वेडर र एल साल्भाडोरले मुद्रास्फितिसँग लड्न आफ्नो अर्थतन्त्र डलरीकरण गरेका छन्।
अर्जेन्टिना विश्वको सबैभन्दा धेरै मुद्रास्फिति खेप्ने मुलुक बनेको छ। पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा महँगी १४२ प्रतिशतले बढेको छ।
कतिपयले उनको योजनाको आलोचना गरेका छन्। यसले मौद्रिक नीति बदलेर अर्थतन्त्रलाई प्रभावित गर्ने क्षमता नरहने तर्क उनीहरुको छ। उनका प्रतिस्पर्धी मासाले डलरीकरण सार्वभौमसत्ताको आत्मसमर्पण हुने बताएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया