ad ad

ग्लोबल


जब स्याहार गर्ने नर्सले नै अस्पतालमा सात नवजात शिशुको ज्यान लिइन्

७ शिशुको हत्या र ६ को हत्याप्रयास अभियोगमा बेलायती नर्स दोषी ठहर
जब स्याहार गर्ने नर्सले नै अस्पतालमा सात नवजात शिशुको ज्यान लिइन्

नेपालखबर
भदौ १, २०८० शुक्रबार २१:७, काठमाडौँ

एक बेलायती नर्सलाई सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ। त्यस्तै ६ शिशुको हत्या प्रयास गरेको अभियोगमा पनि उनी दोषी ठहर भएकी छन्।

यससँगै उनी बेलायतको सबैभन्दा खतरनाक सिरियल किलरमध्ये एक बनेकी छन्।

३३ वर्षीया लुसी लेट्बीले २०१५ र २०१६ मा काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशु वार्डमा १३ शिशुमाथि आक्रमण गरेको बताइएको छ।

उनले शिशुहरुलाई रगत र पेटमा सुइले हावा भरिदिएर, उनीहरुलाई ज्यादा दूध पियाएर, शारीरिक रुपमा कष्ट दिएर र इन्सुलिन दिएर हत्या गरेको म्यान्चेस्टर क्राउन कोर्टको फैसलामा उल्लेख छ।

उनको उदेश्य ती सबै शिशुको हत्या गर्नु रहेको र सहकर्मीहरुलाई भने तिनको प्राकृतिक रुपमा मृत्यु भएको देखाउनु रहेको सरकारी वकिलहरुले बताएका थिए।

अचानक अस्पतालमा मृत्यु हुने र अनपेक्षित रुपमा बेहोस हुने शिशुहरुको संख्यामा वृद्धि भएपछि डाक्टरहरु सशंकित भएका थिए। ती बच्चाहरु सबै लेट्बीको स्याहारमा थिए।

तर, कन्सल्ट्यान्ट डाक्टरहरुको सो शंकालाई अस्पताल व्यवस्थापनले सुरुमा खारेज गरिदिएको थियो।

सेप्टेम्बर २०१६ मा उनको स्यारमै भएका तिम्ल्याहाको मृत्यु र अर्को एक बच्चा बेहोस भएपछि अस्पतालले उनलाई शिशु स्याहारबाट हटाएर कागजी काममा सरुवा गरियो। उनले गुनासो दर्ता गरिन्।

गुनासोबारे समाधान उनकै पक्षमा भयो। डाक्टरहरुलाई लिखित माफी माग्न लगाइयो।

२०१७ को मार्चमा उनी नवजात शिशु वार्डमा फर्किने तयारीमा थिइन्। तर, अस्पताल ट्रस्टले प्रहरीलाई बोलाएर अनुसन्धान सुरु गरायो।

२०१८ र २०१९ मा उनी दुई चोटि पक्राउ परिन्। नोभेम्बर २०२० मा उनलाई तेस्रो पटक पक्राउ गरियो।

खानतलासी गर्दा उनको घरमा लेट्बीले लेखेको कागजपत्र भेटियो।

‘म बाँच्नलायक छैन। मैले उनीहरुलाई जानीजानी मारेँ किनकि म तिनको स्याहार गर्न सक्षम छैन,’ उनले एउटा लेखोटमा लेखेकी थिइन्।

‘म भयानक दुष्ट व्यक्ति हुँ,’ अर्कोमा उनले लेखेकी थिइन्, ‘म दुष्ट हुँ, मैले यस्तो गरेँ।’

पीडित परिवारहरुले संयुक्त वक्तव्य जारी गर्दै न्याय प्राप्त भए पनि त्यो न्यायले आफूहरुले भोगेको पीडा, आक्रोश, र निराशालाई मेट्न नसक्ने जनाएका छन्।

सोही अदालतले अगस्ट २१ मा लेट्बीलाई सजाय तोक्नेछ। सीएनएन
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .