ad ad

ग्लोबल


विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमाथिको अर्को खतरा- ‘डिफ्लेसन’

चीनमा सरसामानको मूल्य घट्दा चिन्ता किन?
विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमाथिको अर्को खतरा- ‘डिफ्लेसन’

नेपालखबर
साउन २४, २०८० बुधबार २२:७,

चीनको अर्थतन्त्र ‘डिफ्लेसन’ (अवस्फीति) को चरणमा प्रवेश गरेको छ। दुई वर्षभन्दा लामो समयपछि पहिलो पटक जुलाईमा चीनमा उपभोग्य वस्तुको मूल्यमा गिरावट आएको हो।

यसले चिनियाँ अर्थतन्त्र उकास्ने सरकारी अधिकारीहरुको कोसिसमा चुनौती थपेको छ। नीति निर्माताहरु उपभोग बढाउन सकिरहेका छैनन्।

मुद्रास्फीतिको मापन गर्ने कन्जुमर प्राइस इन्डेक्समा गत वर्षको तुलनामा ०.३ प्रतिशतले गिरावट आएको छ।

यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा माग बढाउन खोजिरहेको सरकारमाथि दबाब थप्ने विश्लेषकहरु बताउँछन्।

कोरोना महामारीपछि अर्थतन्त्र सही ट्रयाकमा ल्याउन खोजिरहेको चीनका लागि यो अर्को बाधा हो। यसअघि आयात र निर्यातको अवस्था पनि कमजोर देखिएको थियो।

चीनले हाल स्थानीय सरकारको बढ्दो ऋणको चुनौती पनि सामना गरिरहेको छ। त्यस्तै हाउजिङका क्षेत्रमा पनि चुनौती बढिरहेको छ। युवाहरुमा बेरोजगारी कीर्तिमानी रुपमा उच्च विन्दुमा छ। 

यस वर्ष मात्रै एक करोड १५ लाख चिनियाँ युवा श्रम बजारमा प्रवेश गर्ने आकलन छ।

यहीबेला वस्तुहरुको मूल्य घट्दा ऋण घटाउन झन् कठिन हुनेछ। 

कहिलेबाट घट्न थाल्यो मूल्य?
महामारीपछि अधिकांश विकसित मुलुकहरुमा उपभोक्ताले गर्ने खर्चमा ह्वात्तै वृद्धि भयो। प्रतिबन्धहरु हटेपछि पैसा बचत गरेर बसेकाहरु खर्चका गर्न खुला भए। 

कतिपय व्यवसायलाई त माग पूरा गर्नै धौधौ पर्‍यो।

उच्च माग, सीमित आपूर्ति र त्यसमाथि युक्रेन युद्धका कारण महंगिएको उर्जाका कारण जताततै मुद्रास्फीति (इन्फ्लेसन) बढ्यो।

तर, चीनमा त्यसो भएन। कोरोना महामारीपछि चिनियाँ अर्थतन्त्रमा सामानहरुको मूल्य बढेन। २०२१ मा पनि मूल्य घटेको थियो।

वास्तवमा महिनौँदेखि चिनियाँ अर्थतन्त्र डिफ्लेसनको संघारमा थियो। किनभने माग कम थियो। 

‘यो चिन्ताजनक कुरा हो। बाँकी विश्व, खासगरी पश्चिम ब्युँझिरहँदा चीनमा माग कम भएको देखिन्छ,’ हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक एलिसिया गार्सिया हेरेरो भन्छिन्।

‘डिफ्लेसनले चीनको समस्या थप्नेछ। ऋण झन् बढ्नेछ। यो खबर राम्रो होइन,’ उनी भन्छिन्।

सामानको मूल्य घट्दा किन समस्या?
विश्वभर बिक्री हुने सामानको ठूलो हिस्सा चीनले उत्पादन गर्छ।

चीनमा लामो समय डिफ्लेसन कायम रहिरहे अन्य हुने मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग पुग्न सक्छ।

तर, मूल्य कटौती गरिएका सस्ता चिनियाँ सामान विश्व बजारमा छ्यापछ्याप्ती हुने हो भने यसले अन्य मुलुकका सामान उत्पादकहरुलाई नकारात्मक असर पार्छ। जसले व्यवसायहरुले गर्ने लगानीमा नोक्सान पार्छ र रोजगार घटाउँछ।

चीनमा मूल्यमा गिरावट आइरहे कम्पनीहरुको नाफा र उपभोक्ताको खर्च दुवै घटाउँछ। जसले बेरोजगारी बढाउँछ।

र, विश्वकै ठूलो बजार चीनमा माग घट्दा विश्वभरका निर्यातकर्ताहरुलाई असर पर्न सक्छ।

चीनको अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला?
चिनियाँ अर्थतन्त्रले अनेक बाधा बेहोरिरहेको छ। एक त चिनियाँ अर्थतन्त्र अपेक्षा गरिएभन्दा धिमा गतिमा महामारीको प्रभावबाट मुक्त हुँदैछ।

मंगलबार सार्वजनिक तथ्यांकअनुसार जुलाईमा अघिल्लो सालको तुलनामा चीनको निर्यात १४.५ प्रतिशतले घट्यो। आयात पनि १२.४ प्रतिशतले घट्यो। 

यी नकारात्मक सूचकहरुले चीनको वृद्धिदर यो वर्ष झन् घट्ने देखिन्छ।

चीनको अर्थतन्त्रले घरजग्गा कारोबारमा पनि संकट झेलिरहेको छ।

सरकारले सबैकुरा नियन्त्रणमै रहेको बताउँदै आएको छ। तर, आर्थिक वृद्धिदर बढाउनेगरी कुनै कदम चाल्न सकेको छैन।

लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास बढाउनु सबैभन्दा महत्वपूर्ण हुने कोर्नेल युनिभर्सिटीका प्राध्यापक ईश्वर प्रसाद बताउँछन्। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .