ग्लोबल


भारतीय गोर्खा र दार्जिलिङ चिनाउन चौवन्दी-फरियामै म्याराथन

भारतीय गोर्खा र दार्जिलिङ चिनाउन चौवन्दी-फरियामै म्याराथन

शैलेन्द्र समदर्शी
माघ ५, २०७६ आइतबार १४:११,

 आइतबार टाटा मुम्बई म्याराथनमा दार्जिलिङकी सोनिया राईले सबैको ध्यान आफूतिर तान्न सफल भइन्।अन्तर्राष्ट्रियस्तरको यस म्याराथनमा उनी चौबन्दी र फरिया लगाएर दौड़ेकी थिइन्।

परम्परालाई भत्काउँदै ‘दौड़ जित्नका लागि होइन तर भारतीय गोर्खा र दार्जिलिङ पहाड़का गर्व र परिचय देखाउन’ मुम्बई पुगेकी सोनिया ४२ किलोमिटरको फुल म्याराथनमा दशौं स्थानमा आइन्। उनले ४ घण्टा १६ मिनट ४२ सेकेन्डमा दौड़ पूरा गरिन्।

‘अन्तर्राष्ट्रियस्तरको टाटा मुम्बई म्याराथनमा मलाई दौड़ जित्नभन्दा बढ़ी हामी गोर्खाको गर्व र परिचय देखाउनु थियो’, उनले थपिन्, ‘यसैले मैले चौबन्दी र फरिया लगाएर दौड़िने निर्णय गरेकी हुँ, जसमा म सफल पनि भएकी छु।’

‘चौबन्दी र फरिया लगाएर दौड़िनु केही असहज हुने कुरा त हो। तर मैले यो असहजतालाई ठूलो मानिनँ’, सोनियाले थपिन्।उनका अनुसार ४२ किलोमिटरको दौड़मा ९६२२ धावक थिए, यसमा उनी दशौं स्थानमा आउन सफल भइन्।

२६ वर्षीय सोनिया राई दार्जिलिङस्थित रामपुरे बस्तीनिवासी हुन्। उनी पछिल्ला केही वर्षयता क्षेत्रीय र राज्यस्तरीय म्याराथनमा धेरैपटक अरूभन्दा आफू अब्बल राख्दै आएकी छन्। टाटा मुम्बई म्याराथनमा यस उनले पहिलोपटक सहभागिता जनाएकी थिइन्।

‘दार्जिलिङलाई प्रतिनिधित्व गरेर चौबन्दी र फरिया पहिरिएर टाटा मुम्बई म्याराथनमा दौड़िनु पाउँदा आफैलाई उत्साहित अनुभूत गरिरहेकी छु’, उनले थपिन्, ‘यसले मलाई धेरै कुरा सिकाएको छ। आउँदा म्याराथनहरूमा पनि यसै गरी चौबन्दी र फरिया लगाएर दौड़िने सोचेको छु।’

सोनियासँगै दार्जिलिङका अन्य चार धावक क्रमैले छिरिङ ल्हमु भोटिया, जतिन छेत्री, विक्रम राई र रितेश राईले पनि टाटा मुम्बई म्याराथन दौड़िएका थिए।

अर्कोतिर ‘वी आर गोर्खाज्, प्राउड टु बी इण्डियन’ स्लोगान लेखिएका भेस्ट लगाएर म्याराथन दौड़िँदै आएका रन विथ रोशनीका धावकहरूले पनि मुम्बई म्याराथनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। कालेबुङकी रोशनी राईको परिकल्पना र नेतृत्वमा २०१२ मा स्थापित रन विथ रोशनीमा दार्जिलिङ र कालेबुङका धावकहरू सामेल छन्।

टाटा मुम्बई म्याराथनअन्तर्गत ४० देखि ४५ वर्ष आयु वर्गमां १० किलोमिटरको दौड़मा रन विथ रोशनीकी धाविका सरस्वती राईले पहिलो स्थान ओगटिन्। त्यसैगरी २१ किलोमिटरको हाफ म्याराथनमा विवेक छेत्री दोस्रो भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .