ग्लोबल


बंगलादेशमा विरोध प्रदर्शनअघि ५०० जना पक्राउ परेको विपक्षीको दाबी

बंगलादेशमा विरोध प्रदर्शनअघि ५०० जना पक्राउ परेको विपक्षीको दाबी

नेपालखबर
साउन ११, २०८० बिहिबार २१:४५, काठमाडौँ

बंगलादेशको राजधानी ढाकामा सरकार विरोधी प्रदर्शन हुनुभन्दा एक दिनअघि प्रहरीले सयौँ समर्थकलाई पक्राउ गरेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलले बिहीबार जनाएको छ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का प्रवक्ता जहिर उद्दिन स्वपनले एएफपीसँग भने, ‘प्रहरीले बुधबारदेखि हाम्रा कम्तीमा पाँच सय ३८ जनालाई पक्राउ गरेको छ।’

ढाका नगर प्रहरीका प्रवक्ता फारुक अहमदले अधिकारीहरूले बुधबारदेखि अहिलेसम्म तीन सय ६६ जनालाई हिरासतमा लिएको तर उनीहरूको राजनीतिक पृष्ठभूमिबारे कुनै टिप्पणी नगरेको बताए।

ढाका प्रहरीका डेपुटी कमिसनर हयातुल इस्लाम खानले राजधानीको एक होटलमा बीएनपीका केही समर्थकलाई पक्राउ गरिएको बताए।

स्थानीय दैनिक प्रोथोम आलोले प्रहरी स्रोतलाई उद्धृत गर्दै बीएनपीका तीन सय ६६ समर्थकसहित चार सय ११ जनालाई पक्राउ गरिएको जनाएको छ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र जनवरीमा हुने निर्वाचन तटस्थ कामचलाउ सरकारको नेतृत्वमा हुनुपर्ने माग गर्दै बीएनपी र दर्जनौँ साना सहयोगीले बंगलादेशभर विरोध प्रदर्शनको आह्वान गरेका छन्।

प्रधानमन्त्री हसिनाले यो माग असंवैधानिक भएको भन्दै सहमतिका लागि अस्वीकार गरेका छन्।

हसिनाको अवामी लिगले सन् २००९ देखि विश्वको आठौँ ठूलो जनसङ्ख्या भएको देशमा शासन गर्दै आएको छ र उनीमाथि मानव अधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोप लागेको छ।

प्रहरीले बिहीबार प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको थियो तर मुस्लिम बाहुल्य बंगलादेशमा शुक्रबार ¥याली हुन सक्ने बताएको थियो।

यस महिनाको सुरुमा भएको प्रदर्शनमा दशौँ हजार मानिस सहभागी भएका थिए। गत जुलाई १८ मा भएको झडपमा एक जना विपक्षी कार्यकर्ताको मृत्यु हुनुका साथै सयौँ घाइते भएका थिए।

पश्चिमा सरकारहरूले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्, जहाँ हसिनाको पार्टी विधायीकामा हावी छ।

उनको सुरक्षा बलमाथि दशौँ हजार विपक्षी कार्यकर्तालाई हिरासतमा लिएको, गैरन्यायिक मुठभेडमा सयौँको हत्या गरेको र सयौँ नेता तथा समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad