ad ad

ग्लोबल


कम्बोडियामा पुन: सीपीपीको जित, ३८ वर्षदेखि शासन गरिरहेका हुन सेन को हुन्?

कम्बोडियामा पुन: सीपीपीको जित, ३८ वर्षदेखि शासन गरिरहेका हुन सेन को हुन्?

नेपालखबर
साउन ८, २०८० सोमबार ९:०, काठमाडौँ

कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेनको पार्टीलाई बहुमत प्राप्त भएको छ।

सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले कुल १२५ सिटमध्ये १२० सिट जितेको हो। प्रमुख प्रतिपक्षी दललाई चुनाव लड्न प्रतिबन्ध गरेको हुन सेनको पार्टीले ९६ प्रतिशत मत प्राप्त गरेको हो। निर्वाचनको नतिजाको औपचारिक घोषणा भने हुन बाँकी छ।

यो जितसँगै सीपीपीले थप ५ वर्षका लागि सरकार सञ्चालनको जनमत पाएको छ।

आइतबार बिहान सम्पन्न निर्वाचनमा कुल ९७ लाख १० हजार ६६५ मतदाताले मतदान गरेका थिए।

लामो समयसम्म सत्तामा रहेको सीपीपीसँग १७ साना दल चुनावी दौडमा थिए। ती कुनै पनि दलसँग सेनको पार्टीलाई चुनौती दिनसक्ने जनसमर्थन थिएन।

सेनले प्रमुख प्रतिपक्षी मानिएको क्यान्डललाइट पार्टीलाई यसपटक चुनाव नै लड्न दिएका थिएनन्। प्रमुख विपक्षीलाई चुनाव लड्नै रोकेपछि सेनको पार्टीले सहज जित्ने अनुमान चुनावअघि नै गरिएको थियो।

सेनले कम्बोडियामा ३८ वर्षदेखि शासन चलाइरहेका छन्।

५ अगस्ट १९५२ मा जन्मिएका हुन बुन्दालले पछि खमेररुजको सेनामा भर्ती भएपछि आफ्नो नाम बदलेर 'हुन सेन' राखेका थिए। सन् १९७० मा कम्बोडियाका राजा नरोद्दम सिंहानुकले प्रधानमन्त्री लोन नोलविरुद्ध विद्रोह गर्दा खमरेरुजको सेनामा भर्ती भएका हुन्।

कम्बोडिया (तत्कालीन नाम कम्पोचिया) एक शताब्दीसम्म फ्रान्सले उपनिवेश बनाएको थियो। करिब एक शताब्दीले फ्रान्सले शासन गरेपछि सन् १९५३ मा कम्बोडिया स्वतन्त्र भयो। फ्रान्सेली उपनिवेशबाट मुक्त गराएपछि प्रिन्स नरोद्दम सिंहानुकले राज्य चलाए।

तर सन् १९६७ देखि १९७० सम्म कम्बोडियामा गृहयुद्ध भयो। 

सन् १९७० ताका राजा सिंहानुकले प्रधानमन्त्री लोन नोलविरुद्ध विद्रोह घोषणा गरे। त्यसपछि हुन सेन खमेररुज सेनामा भर्ती भए। उनको राजनीतिक जीवन सुरु भयो।

सन् १९७५ मा गृहयुद्ध जितेपछि कम्बोडियन कम्युनिस्ट सेना खमेररुजले शासन चलायो। खमेररुजले ४ वर्षे कार्यकालमा कम्बोडियामा १७ देखि २५ लाख नागरिकको हत्या भएको थियो।

सन् १९७५ मा राजधानी नोमपेन्ह कब्जा गर्ने क्रममा खमेर सेनाको बटालियन कमान्डर रहेका हुन सेनले एउटा आँखा गुमाउनु परेको थियो, पछि उनले कृत्रिम आँखा हाले।

खमेररुजको सेनामा बटालियन कमान्डर रहेका उनी सन् १९७७ मा खमेररुज नेतृत्वको आफ्नै मुलुक कम्बोडियासँग लड्न भियतनाम पुगे। सन् १९७९ मा स्वदेश फर्किँदा उनी जम्मा २६ वर्षका थिए, उनलाई भियतनामले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनायो।

सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री चान सेको निधनपछि भियतनामको समर्थनमा सेन पहिलोपटक प्रधानमन्त्री बने। त्यसयता उनी निरन्तर सत्तामा छन्। उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री समेत हुन्।

आइतबार सम्पन्न निर्वाचनबाट सन् २०२८ सम्म सेनलाई सरकार सञ्चालनको जनमत प्राप्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .